७० प्रतिशत विफल हुने खतरा रहेको शल्यक्रिया सफल भएपछि....

What's This?


Download our app to get more features

काठमाण्डौ, २० भदौ । पाल्पा तानसेनका ९७ वर्षीय तिलकमान बज्राचार्य गत बिहीवार थप अध्ययनका लागि चीन जान आँटेका नाती डा. पुजन बज्राचार्यलाई विमानस्थलमा बिदाई गर्न काठमाण्डौ आए । 
शुक्रबार बिहानै नातीको उडान भएकाले वयोवृद्ध बज्राचार्य बिहीवार नातीहरुसँगै बसे । तारन्तार पिसाव लागिरहने उनले दुई–तीन पटक त नातीहरुलाई साथै लिएर शौचालय गए । धेरै पटक दुःख दिँदा भोलि उड्ने नातीको निद्रा खलबलिएला भन्ने सोचेर उनी एक्लै शौचालय जाँदा लडे र उनको खुट्टाको शिरान भाग (नेक अफ फिमर ) भाँच्चियो । 
लडेसँगै गम्भीर घाइते भएका बज्राचार्यले अन्तिम घडिमा आएर नातीलाई बिदा गर्न जान सकेनन् । त्यसपछि सामान्य जाँच गरी पाल्पा फर्किने तयारीमा रहेका उनको कान्तिपुर डेन्टल एण्ड जनरल अस्पतालमा परीक्षण हुँदा फिलाको हड्डीको टाउको नै भाँचिएको रिपोर्ट आयो । जुन बृद्ध अवस्था धेरैमा निम्तने समस्या हो । वृद्ध भएसँगै हड्डी कमजोर भएर हुने यस्ता समस्याको उपचार बडा जोखिमपूर्ण हुने चिकित्सकहरु बताउँछन् । कि त ‘बेड रेष्ट’ मा राख्ने कि त ठूलो जोखिम मोलेर शल्यक्रिया गर्ने । तिलकमानको सन्दर्भमा के गर्ने भन्ने विषयमा प्राय सबै सदस्य चिकित्सा पेशामा संलग्न रहेको परिवारमा बृहत छलफल चल्यो । शल्यक्रिया नगरौं भने हट्टाकट्टा रहेका बज्राचार्य ओछ्यान पर्ने डर, गरौं भने ९७ वर्षको उमेरमा शल्यक्रिया गर्दा निम्तने सक्ने जस्तोसुकै जोखिम । करिब ४० वर्ष चिकित्सा पेशमा बिताएका उनका छोरा डा. पुरनमान बज्राचार्य ठूलो द्विविधामा परे । 


डा. पुरणमान बज्राचार्य

लामो पारिवारिक छलफल र वरिष्ठ हाडजोर्नी शल्यचिकित्सकद्वय डा.राजेन्द्रमान प्रधान र डा.श्रीकृष्ण गिरीसँग छलफल गरी अन्ततः तिलकमानको शल्यक्रिया नै गर्ने सहमति भयो । चिकित्सकहरुले ५० प्रतिशतभन्दा बढी शल्यक्रिया विफल हुनसक्ने भन्दाभन्दै डा. पुरणले बुबाको शल्यक्रिया नै गर्ने निर्णय गरे । शल्यक्रिया नगरेर ओछ्यान पर्दा बेड सोर (ओछ्याने घाउ) हुने र अन्य जटिलता उत्पन्न हुने बुझेका डा. पुरुणले बरु जोखिम नै उठाउने फैसला गरे । कान्तिपुर डेण्टल एण्ड जनरल अस्पतालमै करिब चार घण्टाको शल्यक्रिया पछि तिलकमानको भाँच्चिएको ठाउँमा ‘स्टिल कभर’ हालियो । भाग्यवश अप्रेसन पनि सफल भयो । 


अप्रेसन सफल भएसँगै बज्राचार्य परिवारमा खुशी छाएको छ । ‘यो उमेरमा गरिने शल्यक्रियामा ७० प्रतिशतभन्दा बढी असफल हुने सम्भावना हुन्छ । तर बुबाको शल्यक्रिया सफल भयो । हामी एकदमै खुशी छौं ।’ आइसियुसँगैको कुरुवा कक्षमा बसेर डा. पुरणमानले खुशी साँँटे । यस्तो जोखिमपुर्ण शल्यक्रिया सफल हुनुले कान्तिपुर डेन्टल कलेजसँगै जनरल अस्पतालले पनि प्रतिष्ठा हाँसिल गर्न सघाउ पुगेको अस्पतालका अध्यक्ष बुद्धिमान श्रेष्ठले बताए । शल्यक्रियापनि आइसियूमा रहेका तिलकमान गफगाफ गर्नसक्ने फूर्तिला भैसकेका छन् । उनी तानसेन क्षेत्रकै ज्येष्ठ नागरिक समेत हुन् । 
 

Last modified on 2016-09-05 18:40:11

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts