के तपाईंलाई सेतो दुवीले सताएको छ ?
हामीमध्ये कतिपयलाई छालामा सेतो दुवी आएको हुनसक्छ । वा, अरुको छालामा सेतो दुवी देखेका हुनसक्छौं । सेतो दुवी किन हुन्छ भन्नेबारेमा हामीमध्ये कतिपय अनभिज्ञ छौं । सेतो दुवी के हो ? यो किन आउँछ ? यसको उपचार छ या छैन, यसका बारेमा हामीले वरिष्ठ छाला रोग विशेषज्ञ डा. सुदीप पराजुलीलाई सोधेका छौं ।
के हो सेतो दुवी ?
छाला सेतो बनाउने रोगहरु मध्ये सेता दुवीले संसारको ०.५ देखि २ प्रतिशतसम्म मानिसलाई असर गरेको हुन्छ । शरीरमा रहने प्रतिरोधात्मक शक्तिले विभिन्न कारणवश छाला कालो बनाउने तत्वलाई नष्ट गरेमा सेतो दुवी हुन्छ । त्यस्तै ३० प्रतिशत रोगीमा वंशानुगत गुण दोषी भएको पाइन्छ ।
दुबी कसरी चिन्ने ?
धेरैजसो अवस्थामा दुवी २०–३० वर्षको उमेरभित्र देखिन्छ । यो सुरुको अवस्थामा दूधजस्तो सेतो सानोसानो आकारमा धेरै घर्षण हुने ठाउँ जस्तै फिला, हात, औंला, खुट्टा, कुहिना, घुँडा र गोलीगाँठोमा देखिन्छ । कहिलेकाँही दुवी आएको ठाउँमा कपाल पनि सेतो हुन्छ । यस्तो भएको खण्डमा उपचारको क्रम लम्बिने गर्छ । सतो छाला सँधै दुवी हुने गर्दैन । सेतो कोठी, फुस्रो दुवी (एक प्रकारको फंगस) वंशानुगत गुणले गर्दा हुने सेतो रोग, कुष्ठरोग र छालाको क्यान्सरमा पनि छाला सेता हुने गर्दछ । त्यसैले छाला सेता भएमा चर्मरोग विशेषज्ञको सल्लाह लिन अनिवार्य हुने गर्दछ ।
के सेतो दुवी निको हुन्छ ?
सेतो दुवी धेरैजसो अवस्थामा उपचार नगरेको खण्डमा बढ्दै जान्छ । सुरुमै सन्चो हुन्छ या हुँदैन भनेर किटान गर्न साह्रै गाह्रो हुन्छ ।
कसरी गरिन्छ दुवीको उपचार ?
सेतो दुवी एक पटक पहिचान भइसकेको अवस्थामा लगाउने स्टिरोइड नामक औषधिले उपचार गरिन्छ । यो बाहेक औषधिले काम नगरेको अवस्थामा लाइटले सेक्ने विधिको प्रयोग गरिन्छ । यस्तो विधि वर्षौंसम्म गर्नुपर्ने हुन्छ । कहिलेकाँही उपचारले काम नगरेको अवस्थामा छालाको प्रत्यारोपण (Grafting) गरेर छालालाई पहिलेको अवस्थामा पुर्याउन सकिन्छ ।
सेतो दुवी हुनेले खानेकुरा बार्नुपर्छ ?
प्रायजसो अवस्थामा सेतो दुवी खानेकुरासँग सम्बन्धित नभएकाले कुनैपनि खानेकुरा बार्नुपर्ने हुँदैन । चोटपटक लागेको ठाउँमा नयाँ दुवी आउने भएकाले चोटपटकबाट भने सकेसम्म जोगिनुपर्छ ।