नवजात शिशुको उपचारका लागि गाउँमै अस्पताल नहुँदा आकृताले भोग्नुपरेको पीडा !



Download our app to get more features

आकृता, उमेरले २५ वर्ष पुगिन् । धनुषा कटरैतमा बस्दै आएकी उनको दुई सन्तान छन् । ठूली छोरी ५ वर्षकी भइन् भने गत वैशाख २६ मा उनले छोरालाई जन्म दिइन् । घरपरिवार चलाउन आकृताका श्रीमान् मलेसियामा श्रम रोजगार गर्छन् । नेपाली समाजमा छोरा नजन्माउने बुहारीलाई नराम्रो दृष्टिले हेर्ने परम्परा अझै हटिसकेको छैन । त्यसकारण आकृता पनि अर्को सन्तान छोरा भइदियोस् भन्ने पर्खाइमा थिइन् । ९ महिना अघि घर विदामा श्रीमान आउँदा उनको गर्भ बस्न गयो ।

उनी बस्ने कटरैत गाउँमा कुनै अस्पताल छैन । त्यसकारण सुत्केरी हुन उनी नजिकैको रमदैयास्थित जानकी मेडिकल कलेज पुगिन् । स्वस्थ बच्चाको आश गरिरहेकी आकृताले नभन्दै वैशाख २६ मा सुन्दर सन्तानको रुपमा छोरालाई जन्म दिइन् । तर, सुत्केरी भए लगत्तै उनको बच्चामा केही समस्याहरू देखियो । बच्चाको परेलाहरू टाँसिएका थिए, बच्चा जन्मेको दिन दिउँसोदेखि दुई पटक दिसा बगेको थियो, सात घण्टासम्म पिसाब पनि बच्चाले गरेको थिएन र बच्चा निकै नै रोइरहेको थियो ।

आकृताले आफ्नो बच्चालाई हतारमा अस्पताल लगिन् । जहाँ डाक्टरले तुरुन्तै उनको उपचार सुरु गर्यो । डाक्टरले बच्चामा डिहाइड्रेसनका लक्षणहरू रहेको पत्ता लगाए । बच्चामा एसिमेट्रिक ग्रोथ रिस्ट्रिक्शन (एजीए) र अर्ली ओन्सेट नवजात शिशु सेप्सिस (ईओएनएस) को अवस्था भएको बताए ।

नर्सले चिकित्सकको सल्लाहमा तुरुन्तै बच्चालाई औषधि दिइन् र उनको ज्वरो कम गर्न चिसो स्पन्ज दिन थालियो । डाक्टरले आकृतालाई सही तरिकाले स्तनपान गराउन सल्लाह दिँदै बच्चालाई गुम्साएर नराख्न पनि सल्लाह दिए । उपचारको क्रममा बच्चालाई आवश्यकता भन्दा बढी लुगा लगाएर राखेको तथा अनावश्यक औषधि दिएको कारण समस्या आएको डाक्टरको बुझाइ थियो ।

त्यसपछिका केही दिनमा बच्चाको स्वास्थ्यमा विस्तारै सुधार हुन थाल्यो । अस्पताल भर्ना भएको चौथो दिनमा बच्चाको भाइटल्स स्थिर थियो । र, अस्पतालबाट डिस्चार्ज हुन तयार थियो ।

आफ्नो बच्चा अब स्वस्थ भएर घर फर्कने भएपछि आकृताको खुशी उनको अनुहारमा सहजै देख्न सकिन्थ्यो । उनी लामो श्वास लिँदै राहत महसुस गरिरहेकी थिइन् । उनको खुशी देखेर डाक्टर र नर्सपनि खुशी थिए ।

कुनै दिन कुनै पनि आमा र नवजात शिशुले उचित स्वास्थ्य सेवा नहुँदा दुःख भोग्नु नपरोस् भन्ने आकृताको कामना छ ।

गरिब मानिसहरूले सामना गर्ने चुनौतीहरूका बावजुद, आकृताले आफ्नो बच्चाको हेरचाहको लागि कृतज्ञ महसुस गरिन् र आफ्ना सन्तानको राम्रो हेरचाह गर्ने वाचा पनि गरिन् । उनलाई थाहा थियो कि आमा बन्न कहिल्यै सजिलो हुँदैन । तर, उनी आफ्नो बाटोमा आउने कुनै पनि चुनौतीको सामना गर्न तयार भइन् ।

आकृताको जस्तै समस्या मधेशका अन्य क्षेत्रमा पनि छन् । तर, सहज पहुँचमा अस्पताल नभएकै कारण कैयन बच्चाले अकालमै ज्यान गुमाउनु परिरहेको छ । नेपालमा किन कम अस्पतालहरू छन् र देशका धेरै भागहरूमा किन नवजात शिशुको हेरचाह अझै अपर्याप्त छ ? यो प्रश्नले आकृतालाई मात्रै होइन नवजात शिशुको उपचारमा खटिएका चिकित्सक र नर्सहरूलाई पनि गिज्याइरहन्छ ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को अनुसार नेपालमा नवजात शिशु मृत्युदर प्रति १ हजारमा २१ रहेको छ । जुन सन् २०१६ मा पनि थियो भने मधेश प्रदेशमा नवजात शिशु मृत्युदरको अवस्था गम्भीर रहेको छ ।

मधेशमा बाल अस्पताल नै छनै भने नवजात शिशुको राम्रो उपचार गर्ने कसरी ? अस्पताल नै नहुनु त एउटा कुरा भएको प्रादेशिक अस्पतालमा पनि नवजात शिशुको उपचारका लागि व्यवस्था त छ तर, पर्याप्त छैन । जनशक्ति अभाव र चिकित्सक पनि अभाव छन् । जसका कारण यस्ता समस्या आइपरेमा के गर्ने भन्ने अन्यौल हुन्छ । प्रदेश सरकारको योजनामा छुट्टै बाल अस्पताल बनाउने भनिएपनि त्यो हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । एक त यसै स्वास्थ्य सूचकाङ्कमा कमजोर भएको मधेश प्रदेशमा नवजात शिशुको उपचारका चाहिने सबै सेवा र सुविधाका लागि लागि बहस भने सुरु गर्ने समय भने ढिलो भइसकेको भान हुन्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts