अध्ययन संस्थानले बनाएका धरोहरहरू
पचासौं वार्षिकोत्सव मनाइ रहँदा चिकित्सा शास्त्र अध्ययन संस्थान जति खुशी छ त्यत्तिकै हर्षित पनि छन, यसबाट उत्पादित प्रत्येक जनशक्ति । यस अध्ययन संस्थान शुरु हुनुभन्दा अगाडि म यस पृथ्वीमा जन्मिए । यसको लागि बुबा मुमा सदा पूजनीय भए । यो संस्थाको स्थापनाको हात जो कोहीमा भए – ती महान् व्यक्तिहरूप्रति म नमन गर्दै धन्यवाद भन्न चाहन्छु ।
पचास वर्ष अगाडि यस अध्ययन संस्थानले समेटिएका विषयहरू आजभन्दा पृथक् थिए । समयको आवश्यकताले परिवर्तनहरू हुँदै गए । यसै संस्थान अन्तर्गतको महाराजगञ्ज चिकित्सा क्याम्पसको त नाम समेत परिवर्तन भएको छ । मैले यस क्याम्पसमा पढ्दा यसको नाम महाराजगञ्ज केन्द्रीय क्याम्पस थियो । समयको मागसँगै बेला बेला यस अध्ययन संस्थानले विभिन्न क्याम्पस र अस्पतालहरूको श्रृजना गर्दै गए । यही मागको एउटा प्रतिबिम्ब हो मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर । यो सेन्टर अहिले देशभित्र र बाहिर चिनिएको छ र सजिलोको लागि सबैले “मनमोहन सेन्टर –महाराजगञ्ज” भन्ने गरेका छन् ।
यस संस्थानले सन् १९७९ मा विशेष मोड लियो । डाक्टरी शिक्षा पढाइको शुरुवात भयो । ती दिनहरू हेल्थ असिष्टेन्ट ब्याक ग्राउण्डका विद्यार्थीहरू भाग्यमानी भए । भाग्य समय समयमा धेरैको खुल्छ । सन् १९८४ मा साइन्स व्याक ग्राउन्डका विद्यार्थीहरूले सिट पाउने भए । म डाक्टर बन्न चाहन्थें । थाहै नपाई यस अध्ययन संस्थानले मलाई निम्त्यायो । म पढें छैठौं ब्याचको विद्यार्थीको हिसाबले । तर, साइन्स ब्याचको म भएँ पहिलो ब्याच । मेरो सपना साकार पार्न यस अध्ययन संस्थानले आफ्नो भूमिका निभाए । यसरी भिन्दा भिन्दै विषयमा अनगिन्ती विद्यार्थीहरूको भविष्य यसले रुपान्तरण गरेको छ ।
मेरो स्वर्णीम भविष्यको यात्राको शुरुवात थियो, मेरो एम.वि.वि.एस. को पहिला दिनको पढाई । यो अध्ययन संस्थान मेरो सहयात्री हुनेछन् भनेर त्यो बेला मैले सोचेको थिइन । विषयवस्तुहरू थपिँदै जाने क्रममा एक अर्को विषय थपियो एम.एस. जनरल सर्जरी । सर्जन बन्ने ठूलो अभिलाषा, म कत्ति खुशी भएँ होला यो थप विषयले । मलाई सर्जन बनाउने पनि यहि अध्ययन संस्थान रह्यो । त्यसपछि पनि मेरो सहयात्रा टुटेन । अध्ययन पश्चातको कर्मथलो यही बन्यो । विद्यार्थीको रुपमा पाइला टेकेको यसै अध्ययन संस्थानमा म टिचिङ असिष्टेन्टको रुपमा प्रवेश गरे । त्यसपछिका प्रगतिहरुमा यसले प्रत्येक पल साथ दिए । म उप प्राध्यापक, सह–प्राध्यापक र अहिले प्राध्यापक भएको छु । ममा भित्री मनदेखि नै यस संस्थानप्रति ठूलो ऋण चुकाउनु पर्छ भन्ने अनुभूति हुँदै आएको छ । यसले दिएका हरेक सम्मान प्रति म न्याय गर्छु भनेर लागेको छु । समय वित्दै जाँदा यात्रा फरक हुँदै जाने रैछ । गन्तव्य पनि परिवर्तन हुँदै जाने । मेरो हरेक पलको नयाँ अवसर जस्तै अव मेरो विषय विशिष्ट हुँदै गयो । मलाई चुनौति र अवसरको रुपमा कार्डियोथोरासिक भास्कुलर विषयमा प्रवेश गराइयो । यही अध्ययन संस्थानभित्र उक्त विषयमा उच्च शिक्षा अध्ययनको व्यवस्था नभएकोले दुई वर्षे फेलोशिप गर्न विदेश जाने अवसर प्रदान गर्यो । यसै प्रसङ्गमा मैले पृथ्वी नारायण शाहलाई सम्झन्छु उहाँको विशेष उपदेशलाई लिएर “विदेश गई इलम सिकि घर फर्कनु” ।
म सम्झँदै थिए मेरो साइन्स ग्रुपको प्रवेश, त्यसपछि जनरल सर्जरीको मास्टर डिग्री अनि कार्डियोथोरासिक भास्कुलर सर्जनको अवसर । धेरै विषय आफैमा जटिलता बोकेका विषय जस्तै मेरो आफ्नो विषय पनि चुनौतिको नै छ । यसलाई साँचो अर्थमा सार्थक तुल्याउन अहिले मेरो कर्मथलो मनमोहन सेन्टर को जन्म भयो । सन् २००९ मा स्थापित यो सेन्टरले धेरैको सेवा र भविष्य बनाउने काम गरेको छ । म आफू यस विषयको अध्ययनको लागि विदेश जानु परेको थियो अब मेरो विषय यही पढाई हुने भयो । त्यत्ति मात्र होइन अहिले पढाई भएको डक्टरेट लेभलको छ । DM Cardiology र MCh CTVS को उत्पादन गर्ने यो सेन्टर देश र विदेशमै विशेष मानिन थालेको छ ।
सन् २०१४ सालको अन्त्य मेरो लागि अर्काे अविस्मरणिय क्षण रहयो । यस अध्ययन संस्थानको सु–दृष्टि ममा प¥यो र मेरो नाम कार्यकारी निर्देशकमा सिफारिस भयो । म Academic काममा रमाउने व्यक्ति पदाधिकारी हुँदा दुवै कुरा सम्हाल्दै आएको छु । एउटा प्रतिष्ठित सेन्टरको सबैभन्दा उच्च पद कार्यकारी निर्देशकको जिम्मेवारी कम गाह्रो जिम्मेवारी होइन । म धेरै खुशी थिएँ – त्यही बेला नै ममा ठूलो विश्वास थियो म संस्थालाई हाँक्छु र दिशा दिन्छु भन्नेमा । चार वर्षको कार्यकालमा अनगिनत कामहरू भए । म थुप्रै कुराहरू हुँदा मजामा बस्छु, अझ विशेषत जब मनमोहन सेन्टर एनेक्स विल्डिङ्ग बन्यो – नयाँ आयाम थपियो म मुस्कुराएँ । काम गर्दै जाँदा यस संस्थाले अर्काे थप ४ वर्ष कार्यकाल थप्ने भन्दा मेरो मुस्कुराहट देखिने गरि झल्कियो । आज यस अध्ययन संस्थानले पचासौँ वर्ष मनाइरहँदा मेरो कार्यकारी निर्देशक सात वर्षभन्दा अगाडि बढेको छ । यस सेन्टरमा यस दौरान गर्न सकिने धेरै कामहरु गरियो । यसको फेहरिस्त अत्ति नै लामो छ । यसमा साथ दिने हातहरु अनगिनत छन् । नेपालमा भास्कुलर सर्जरीलाई उचाइमा पु¥याउन यस सेन्टरले धेरै गर्न सकिन्छ र यसैलाई मध्य नजरमा राखी मलाई यस सेन्टरले भास्कुलर तथा इन्डोभास्कुलर सर्जरी मै केन्द्रीत गर्न विशेष अवसर दिएको छ ।
मेरो कलम रोकिने छैन किनकी मेरो यस अध्ययन संस्थानसँगको सहयात्रा सकिएको छैन । मलाई यस अध्ययन संस्थानले दिएका कुराहरू मैले न्याय गरेका कुराहरू छोटो झलक प्रस्तुत गरेको छु । म जस्तै धेरै होलान् केही लेख्ने हुतहुती बोकेकाहरू । मेरा जस्तै धेरैका होलान् कथाहरु । यो अध्ययन संस्थानले आफ्नो प्रगति रोक्ने छैन । म आफ्नो हिँडाइबाट आराम गर्ने छैन ।
(लेखक प्रा.डा.श्रेष्ठ मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जका कार्यकारी निर्देशक हुन्)