सूर्तीजन्य पदार्थको नियन्त्रणमा हाथेछु : हातमा ट्याटुदेखि चुरोट खानेलाई नमस्कारसम्म
 
            सिताराम हाथेछुको नाम सायदै कसैले नसुनेका होलान् । ट्राफिक प्रहरीमा आफ्नो छुट्टै पहिचान बनाएका हाथेछु अवकास पछि ललितपुर महानगरमा नगर प्रहरीको जिम्मेवारी सम्मालिरहेका छन् । हाथेछु पछिल्लो समय महानगरमा सूर्तिजन्य पदार्थको नियन्त्रणमा लागि परेका छन् ।
अहिलेसम्म महानगरभित्रका चार वटा क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरिसकिएको छ । पाटन दरबार क्षेत्र,महानगर परिषर,जावलाखेल क्षेत्र र लगनखेल बसपार्कलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरिएको हो ।
यहि क्रममा हाथेछुले आफ्नो हातमा नो स्मोकिङ्गको ट्याटु लेखाएका छन् । किन हातमा नै ट्याटु लेखाउनु भो भन्ने प्रश्नमा हाथेछु भन्छन्,सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि हामिले विभिन्न जनचेतनाका कार्यक्रमहरू गर्यौ,अहिले पनि गर्दै छौं । त्यो भन्दा फरक केहि गरौं समाजका लागि भन्ने सोचले ट्याटु खोपाएको हु ।
सूर्तिजन्य पदार्थसँग हाथेछुको नमेटिने काहानी जोडिएको छ । हाथेछु लगभग १४,१५ वर्षको हुँदा उनको आमाको मृत्यु भयो । कारण थियो फोक्सोको क्यान्सर । उनका बुबा अत्याधिक धुम्रपान गर्थे । बुबाले गरेको धुम्रपानबाट निस्कने धुवाको कारण आमालाई फोक्सोको क्यान्सर भयो । आमाको मृत्यु हुँदा आमा ४८ वर्षको मात्र थिइन् । आमा बितेको २ वर्ष पछि बुबाको मृत्यु भयो । त्यसबेला बुबा ५० वर्षका थिए । बुबाले गर्ने धुम्रपानकै कारण आमा बुबाले अकालमै ज्यान गुमाए ।
त्यसपछि जीवनमा धुम्रपान लगायत अन्य सूर्तिजन्य पदार्थहरू कहिल्यै मन नपरेको हाथेछु सुनाउछन् । आमाको मृत्युपछिको अवस्था त तपाइईंलाई कसरी सुनाउ । १४,१५ वर्षको उमेर आमा भोक लाग्यो भनेर खाइरहेको बानी,तर पछि आफैले खाना पकाएर खुवाउदा पाएको दुख,भातको पानी निकाल्दा पोखिएको भात त्यहि भात उठाएर खानु पर्दाको दुख,तरकारीमा दुई चोटि नुन हाल्दा खानै नसक्ने बनेको तरकारी,के के मात्र भोगिएन,हाथेछु भन्छन् ।
बुबाले धुम्रपान गरेकै कारण आमाको मृत्यु भएको भन्ने कुरा मनमा नराम्ररी गडिएको उनी बताउछन् । हाथेछु भन्छन्,त्यहि कारणले अहिलेसम्म महिले धुम्रपान मध्यपानका कुराहरु छोएको नी छैन् खाएको नी छैन् ।
धुम्रपान सेवन नगरेकै कारण आफ्नो जीवनमा खुशी आएको उनको अर्को रमाइलो काहानी छ । हाथेछु हास्दै भन्छन्,धुम्रपान नगर्ने भएकै कारण मेरो अहिलेको श्रीमती त्यो बेलाको प्रेमीका उनले म सँग बिहे गर्न राजी भइन् । त्यो बेला म २१ वर्ष जतिको थिए मेरी श्रीमती २३ वर्ष,उनको परिवारले मसँग बिहे नगराइदिने भन्नु भएको थियो । तर मेरी श्रीमतीले उसले धुम्रपान गर्दैन् त्यसैले म बिहे गर्छु भनिसकेपछि गराइदिनु भएको हो ।
मैले धुम्रपान नगर्ने भएकै कारण उनले मलाई पत्याएकी हुन् हाथेछु भन्छन् ।
जीवनमा यसरी सूर्तिजन्य पदार्थहरूसँग राम्रा नराम्रा घटनासँग जोडिएका उनी महानगरमा सूर्तिजन्य पदार्थ नियन्त्रण अभियानमा लाग्नुको घटना भने छुट्टै छ ।
एकदिन उनी पाटन दरबार क्षेत्रमा हिँड्दै थिए । त्यस क्षेत्रमा रहेको एउटा मन्दिरको डबलीमा बसी एउटा युवक चुरोट तानिरहेका थिए । चुरोट तानिरहेका ती युवकको फोटो घुम्न आएका विदेशी पर्यटकले आफ्नो क्यामेरामा कैद गर्दै थिए ।
उनी भन्छन्, 'मैले त ती पर्यटकले मन्दिरको फोटो लिएका होलान सोचेको थिए,तर मैले फोटो खिच्दै गर्दा क्यामेरामा हेरेको त चुरोट तान्दै गरेको युवकको फोटो खिचेका रहेछन् । त्यसपछि मलाई लाग्यो यसले त हाम्रो कस्तो सन्देश देला ? त्यसपछि मैले महानगर प्रमुख चिरीबाबु महर्जन ज्यूसँग कुरा गरे । उहाँले हुन्छ नियन्त्रणमा लागौँ भन्नु भयो अनि हामीले सुरु गरेका हौं ।'
सुरुमा पाटन दरबार क्षेत्रमा धुम्रपान निषेधित क्षेत्र भनेर साइन बोर्ड राखिएको थियो । त्यसपछि जसले चुरोट खाइरहेको छ उसलाई नमस्कार गर्दै धुम्रपान नगर्नुहोला भन्न थालियो अहिले त उक्त क्षेत्रमा धुम्रपान गरेको हेर्नकै लागि २ जना स्वयमसेवक खटाइएको छ ।
यसरी मानिसहरूलाई चुरोट नखानुस भन्दा कतिको गाह्रो हुँदो रछ भन्ने प्रश्नमा हाथेछु भन्छन्, 'हामीले सोचेजस्तो गाह्रो भएन । मलाई लाग्छ मानिसले चुराट नजानेर खाएको हुँदैन् । उसलाई थाहा हुँदाहुँदै पनि खान्छ । त्यसैले हामीले नमस्कार गरी चुरोट नखानुस भन्दा उहाँहरूलाई लाज लाग्दो रहेछ अनि आफैले मिल्काउनु हुन्छ ।:
अब महानगरभित्र रहेका विधालय अस्पताल लगायत क्षेत्रका १ सय मिटरसम्म सूर्तिजन्य लगायतका सामग्रीहरू बेच्न नदिने अभियानमा लागेको उनी बताउछन् । त्यस्तै महानगर भित्र घर घरमा गएर सूर्तिजन्य पदार्थ सेवन नगर्नुस भन्ने र माइकिङ्ग पनि गर्ने योजनामा रहेको उनी सुनाउछन् ।
उनले हातमा नो स्मोकिङ्गको ट्याटु भने अरु भन्दा फरक केहि गरौं भनेर लेखाएका हुन् । हाथेछु भन्छन्,सानेपाको लाखे ट्याटुमा गए । त्यहाँको भाईले मलाई चिन्दा रहेछन्,सर किन आउनु भो भन्नुभयो मैले ट्याटु लेख्न भने उनले कसलाई लेख्ने भने मैले म आफै लेख्न आएको भन्दा भाई हासे ।
त्यसपछि ट्याटु लेख्नलाग्दा सर के लेख्ने भन्नुभयो मैले नो स्मोकिङ्ग भन्दा भाई झन हासे । त्यो भनिरहँदा छेउमा एउटा भाइले चुरोट खाइरहेका थिए उनले हतपत चुरोट बाहिर लगेर फाले । ट्याटु लेख्ने भाईले पैसा पनि लिन मानेन्,सर हजुर यस्तो सामाजिक कार्यमा लागेर लेख्नु भएको ट्याटु भन्दै थिए मैले १ हजार खल्तीमा हाल्देर हिडे ।
अहिले जसले चुरोट खाइरहेको छ त्यसलाई नो स्मोकिङ्ग वाला ट्याटु देखाउँछन् उनी । यसरी ट्याटु नै खोपेको देख्दा मान्छेहरूले यसले यसरी ट्याटु नै खोपेको छ हामी पनि चुराट नखाऔं भनेर छोड्छन् की भन्ने उनको विश्वास छ ।
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                