के तपाईं इन्सुलिन प्रयोग गर्नुहुन्छ ? यस्तो छ डा. कंडेलको सुझाव
रगतमा आवश्यकता भन्दा बढी चिनीको मात्रा हुने अवस्थालाई मधुमेह अर्थात चिनीरोग भनिन्छ । वंशाणुगत, बद्लिदो जीवनशैली, तनाव र गलत खानपानको कारण मधुमेहको रोगीको संख्या दिन प्रतिदिन बढ्दो छ ।
मुख्यतया तीन प्रकारको हुन्छ मधुमेह
१) टाइप वान डायबिटिज (पहिलो प्रकारको मधुमेह) मानिसको पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेका कारण देखिने समस्या हो।
२) टाइप टू डायबिटिज (दोस्रो प्रकारको मधुमेह) इन्सुलिनको प्रतिरोधका कारण उत्पन्न हुने समस्या हो। यस्तो अवस्थामा शरीरका कोषहरूले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन्।
३) गर्भावस्थामा हुने मधुमेह तेस्रो प्रकारको मधुमेह हो। यस्तो मधुमेह गर्भवती महिलामा पहिला कहिल्यै नभएको भए पनि रगतमा चिनीको मात्रा बढेर अचानक देखा पर्ने गर्दछ।
यस्ता छन् मधुमेहका लक्षण
रोगीहरूमा साधारणतया तौल घट्ने, धेरै पटक पिसाब लाग्ने (पोलियुरिया), धेरै तिर्खा लाग्ने (पोलिडिप्सिया) तथा धेरै भोक लाग्ने (पोलिफेइजिया) जस्ता लक्षणहरू देखिन्छन्। कतिपयमा विशेष लक्षण नभए पनि मधुमेह देखिन सक्छ।
मधुमेहको उपचारका लागि इन्सुलिन
सन् १९२२ मा चौध वर्षको मधुमेहको विरामीमा पहिलो पटक उपचारका लागि इन्सुलिन प्रयोग गरिएको थियो । इन्सुलिनको आविष्कार अगाडि मधुमेहका विरामीहरु अहिले जस्तो पुरा जीवन बाच्दैनथे । सुरुका दिनहरुमा धेरै वर्षसम्म गाई प्रजाति, सुँगुर प्रजाति जस्ता जनावरहरुबाट इन्सुलिन निकालेर मधुमेहको उपचार गरियो । तत्पश्चात् सन् १९७८ मा इकोलाई भन्ने जिवाणुको मद्दतले जेनेटिक इन्जिनेरिङ् प्रविधिबाट पहिलो पटक प्रयोगशालामा मानव इन्सुलिन उत्पादन गरियो । सन् १९८२ पछि Eli–Lilly भन्ने औषधि कम्पनिले पहिलो पटक बेचविखनका लागि इन्सुलिन उत्पादन गरी बजारमा ल्यायो ।
मधुमेहको उपचारमा इन्सुलिन उपहार
आजका दिनसम्म आइपुग्दा संसारमा करोडौं मानिसहरुले इन्सुलिन प्रयोग गरेर जीवनलाई गुणात्मक रुपमा उपयोगी बनाएका छन् । वास्तवमा इन्सुलिन मानव सभ्यताको अनुपम उपहार सावित भएको छ ।
इन्सुलिनलाई स्तरोन्नति गरेर अझ बढी सर्वसुलभ बनाउनका लागि आजसम्म पनि विश्वका प्रयोगशालाहरुमा रातदिन अनुसन्धान भइरहेको छ । तसर्थ हरेक वर्ष जस्तो दनाइ कम्पनीहरुले नयाँ प्रजातिका इन्सुलिनहरुलाई बजारमा ल्याइरहेका छन् ।
बढ्दो शहरीकरण, अस्वस्थकर खानपान, मानसिक तनाव, सुखी जीवनशैली आदि कारणहरुले नेपालका शहरी एवं गाउँहरुमा पनि मधुमेह बढ्दो क्रममा छ । रोगीको संख्या सँगै इन्सुलिन लगाउने विरामीहरुको संख्या पनि उलेख्य छ ।
हरेक मधुमेहका विरामीहरुले इन्सुलिनका बारेमा जान्नैपर्ने कुरा
१) इन्सुलिन प्रयोगः मधुमेहको अन्तिम अवस्थामा मात्र इन्सुलिन प्रयोग गर्ने हो भन्ने आम बुझाइ गलत छ । मधुमेहका जो कोही विरामीहरुले गर्भधारण गर्दा, विरामी भएर अस्पताल भर्ना हुँदा शल्यक्रियाबाट उपचार गर्नुपर्ने अवस्था, मृगौलाको दिर्घरोग, कलेजोको दिर्घरोग, एक्कासी जटिलता आइपरेर सघन उपचार कक्षमा बस्नुपर्ने अवस्था जस्तै ः डायबिटिज किटोयसिडोसिस्, हाइपर अस्मोलार नन् किटोटिक डायबिटिज कोमा आदीमा इन्सुलिन लगाउनुपर्छ । यस्ता समस्याहरुको उपचारका क्रममा इन्सुलिन लगाइसकेपछि पनि पुनः मुखबाट खाने औषधिहरु प्रयोग गर्न सकिन्छ ।
२) मधुमेहका हरेक विरामीले इन्सुलिन लगाउन सिक्नु राम्रोः इन्सुलिन लगाउन सिक्नुपर्दछ जसले गर्दा रोगीलाई अरुमा भर पर्न नपरोस् । दबाइले मात्र सुगर ठिक भएका विरामीले पनि इन्सुलिन लगाउन सिकेर बसेमा भवितव्य आइपर्दा सहज हुन्छ ।
३) इन्सुलिन लगाउन कसरी सिक्नेः इन्सुलिन सुरु गर्दा सकेसम्म श्रीमान्, श्रीमती वा परिवारको सदस्य सँगै गएर चिकित्सककोमा परामर्श गरेमा विरामीको आत्मबल बढ्दछ । इन्सुलिन प्रयोग गरिरहेका साथीभाइ, इष्टमित्र आफन्तसँग परामर्श गर्ने, पर्चा, पम्प्लेट एवं मधुमेहका बारेमा लेखिएका विषयवस्तु अध्ययन गर्नाले इन्सुलिन लगाउने निर्णय गर्न विरामीलाई सहज हुन्छ ।
४) परिचय पत्रः आफ्नो नाम, मधुमेहको विरामी भएको कुरा र हाल प्रयोग गर्ने औषधिहरु एवं इन्सुलिनको मात्राको बारेमा जानकारी दिने सानो पुस्तिका सधैं पर्स वा पकेटमा राख्नुपर्दछ । यसो भएमा एक्लो एवं बेहोसी अवस्थामा उपचार गर्न सजिलो हुन्छ । हाल सबैले मोवाइल साथमा बोक्ने हुँदा दवाइको नाम र डोज देखिने गरी वा पछिल्लो पटक चिकित्सकले दिएको पुर्जाको फोटो लिएर राख्न सकिन्छ । यसो भएमा घरबाट टाढा जाँदा दवाइ विर्सेमा नयाँ ठाउँमा फर्मासिस्टलाई देखाएर दवाई किन्न सकिन्छ ।
५) जरूरी पर्नसक्छ इन्सुलिनसँगै मधुमेहका अन्य औषधिः इन्सुलिननै लगाइसकेपछि कुनै पनि मधुमेहका औषधि प्रयोग गर्न पर्दैन भन्ने कुरा गलत हो । इन्सुलिन सँगै मधु मेहका उपयुक्त दवाई प्रयोग गरेर दैनिक डोज बढ्न नदिने, धेरै मोटो वा धेरै पातलो हुने क्रम रोक्ने, मुटुका रोगीलाई फाइदा गराउने, मृगौलाको दिर्घ रोग छिटो विग्रन नदिने जस्ता फाइदाजनक चिजहरुलाई मध्यनजर गरेर चिकित्सकले हरेक विरामीमा फरक–फरक किसिमका औषधिहरु प्रयोग गर्न सल्लाह दिन सक्छन् ।
६) बजारमा इन्सुलिन लगाउने सिरिञ्जहरु र फरक–फरक इन्सुलिनका मिश्रण जस्तैः ३०ः७०, ५०ः५०, २५ः७५, रेगुलर इन्सुलिन आदि पाइन्छन् । यसर्थ सिरिन्ज किन्दा इन्सुलिनको शिशीमा लेखिएको स्ट्रेन्थसँग मिल्ने सुइ किन्न सचेत हुनुपर्दछ । तसर्थ फर्मासिस्टलाई आफूले प्रयोग गर्ने लेवल नमेटिएको इन्सुलिनको शिशी देखाउनु वुद्धिमता हुन्छ ।
७) इन्सुलिनको मात्रा झुक्किएर खतराः बढी लगाएमा वा साविकको जति खाना नरुचे पनि इन्सुलिनको मात्रा अघिल्लो दिन जति नै लगाएमा रगतमा सुगर धेरै घटेर हाईपो ग्लाईसेमिया हुन्छ ।
रगतमा सुगरको मात्रा धेरै घटे के हुन्छ
यस्तो हुँदा खलखलि पसिना आउने, मुटुको धड्कन बढ्ने, चिट्चिट् स्वभावको हुने, बेचैनी हुने र अन्तमा बेहोस भई लड्ने लक्षणहरु देखिन्छन् ।
रगतमा सुगरको मात्रा धेरै घटे के गर्ने ?
यस्तो भएमा यदि विरामी सचेत भएमा गुलियो मिठाइ, चिनी, मिश्री, जुस, फलफुल खुवाउने गरिन्छ तर विरामी सचेत नभएमा अस्पतालमा लगेर सुइबाट रगतमा ग्लुकोज दिइन्छ । अचेत भएका विरामीहरुलाई २ देखि ३ दिन भर्ना भएर बेला बेलामा सुगरको मात्रा हेरेर ग्लुकोज दिनुपर्ने हुन्छ ।
८) कस्तो ठाउँमा भण्डार गर्ने इन्सुलिन?
इन्सुलिनलाई ४–८ डिग्री सेन्टिग्रेडको चिसो ठाउँमा राख्नुपर्ने भएकोले घाम नपर्ने, बत्ति नजाने व्यवस्था भएका ठुला अस्पतालका दवाई पसलबाट किन्दा विग्रेको इन्सुलिन पर्ने सम्भावना कम हुन्छ । यदि घरमा फ्रिज छैन भने सकेसम्म चिसो कोठा रोजेर घाम नलाग्ने ठाउँमा राख्नु पर्दछ ।
९) एउटै इन्सुलिन सिरिञ्ज धेरै पटक प्रयोग गर्दा के हुन्छ ?
एउटै इन्सुलिन सिरिञ्ज धेरै पटक प्रयोग गर्दा वोदो भएर दुख्न थाल्छ । तसर्थ ३–४ पटक छालामा इन्सुलिन सिरिञ्जले घोचेपछि नयाँ सुइ प्रयोग गर्नुपर्दछ ।
१०) लामो समयसम्म इन्सुलिन एकै भागमा नलगाउनेः
लामो समयसम्म इन्सुलिन एकै भागमा लगाउँदा छाला मुनिको वोसो अनियमित भएर डल्लो पर्ने र गीर्खा पर्ने हुनसक्छ । त्यस्तो छालाको सतहबाट इन्सुलिन मिश्रण राम्रोसँग रगतमा शोषण नभएर दैनिक इन्सुलिनको मात्रा बढाउनुपर्ने, रगतमा सुगर अनियमित हुने समस्या आउँछ । त्यसैले चिकित्सकले इन्सुलिन घोच्ने गरेको शरिरको भाग आफै हेर्ने गर्दछन् र त्यस्तो समस्या भएमा इन्सुलिन लगाउने शरिरको भाग परिवर्तन गर्नुपर्दछ ।
११) चिकित्सकसँग नियमित स्वास्थ्य परीक्षण गर्नेः
मधुमेह दीर्घ रोग भएकोले पछि–पछि विरामीहरले प्रयोगशालाका रिपोर्टहरु आफै हेर्ने र ठिक छ भनी घर बस्ने गर्दछन् । तर रगतमा सुगरको मात्रा राम्रो हुनु बाहेक आँखा, स्नायु, रक्तनलीहरु, मुटुको चाल, जनेन्द्रियहरुको अवस्था, तौल, भोक, मधुमेह बाहेक अरु रोगलाई दिइएको औषधिहरुका नकारात्मक परिणाम आदि सबैलाई हेर्नुपर्ने भएकोले कम्तिमा ३ महिनामा एक पटक फिजिसियनसँग परामर्श गर्नैपर्छ ।
(चितवनस्थित भरतपुर अस्पतालका वरिष्ठ कन्सल्टेण्ट फिजिसियन एंव प्रवक्ता डा. गोविन्द कंडेलको सहयोगमा हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख जय पाठक (जे.पी) ले तयार पारेको सामग्री ।)
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।