नसामा असर पुर्याएर दृष्टि गुम्ने जलविन्दुबारे जानौं
काठमाडौँ, २८ फागुन । आज विश्व जलविन्दु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक मार्च १२ का दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा सन् २०११ मा गरिएको एक सर्भेका अनुसार कुल अन्धोपनमध्ये ५ प्रतिशत जलविन्दुको कारणले हुने गरेको देखाएको छ । विश्वमा सन् २०४० सम्म ११ करोड १८ लाखलाई जलविन्दु हुने अनुमान गरिएको छ । ९० प्रतिशत पत्ता नलागेको अवस्थामा रहेको छ जसमा १ अर्ब मानिस आँखा स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका छन् ।
के हो जलविन्दु ?
जलबिन्दु आँखाको रोग हो । आँखाको नसामा पर्ने चापका कारण भित्री भागको नसा (अप्टिक नर्भ) मा असर गर्छ । आँखासँग जोडिएको नसामा क्षति पुगेको अवस्थामा जलबिन्दु हुने गर्छ । जलबिन्दु भएपछि इन्ट्राअक्युलर प्रेसर अर्थात् आँखाभित्रको चापमा वृद्धि हुन पुग्छ । समयमा उपचार नपाउँदा दृष्टि नै गुम्छ ।
प्रेसरले विस्तारै आँखाको नसालाई क्षति गर्छ । नसामा असर पुग्दा दृष्टि क्षमता पनि विस्तारै कमजोर हुन पुग्छ । यसरी नसालाई पूर्णरूपमा क्षति पुर्याई दृष्टिविहीन बनाउने रोग नै जलबिन्दु हो । जलबिन्दु पुनःदृष्टि प्राप्त गर्न नसकिने अन्धोपना हो । जलविन्दुले वरिपरिको दृष्टि घटाउँदै लैजान्छ । केन्द्रमा प्रभाव पार्दै जान्छ । ४० वर्ष नाघेका व्यक्तिमा जलबिन्दु बढी देखिने गरेको छ ।
आँखाको गेडीभित्र एक प्रकारको पानीजस्तो तरल पदार्थ (एकयुस ह्युमर) उत्पन्न भइरहन्छ । यदि एकयुसको उत्पादन मात्रा बढी हुन सक्छ । त्यस्तै निकास मार्गमा कुनै अवरोध आउन सक्छ । निकास हुन नसकेको तरल पदार्थ आँखाको गेडीभित्र नै थुनिएपछि आँखाभित्रको चापमा वृद्धि हुन पुग्छ ।
विश्वभरिमै दृष्टिविहीन गराउने प्रमुख रोगहरूमध्ये यो दोस्रोमा पर्छ । परिवारमा कसैलाई जलविन्दु छ भने वंशाणुगत रूपमा सन्तानमा पनि जलबिन्दु हुन सक्ने सम्भावना रहन्छ । ‘हजुरबुवा÷हजुरआमामा जलबिन्दु भएको छ भने नातिनातिनामा पनि देखिन सक्छ । ४० वर्ष काटेका सयमा दुई जनामा जलबिन्दु देखिन सक्ने विभिन्न तथ्याङ्कले देखाएको छ । उच्च प्लस पावर र उच्च माइनस पावर चस्मा लगाउनेमा र आँखामा चोट लागेमा नसामा क्षति पुगी जलबिन्दुको हुने जोखिम हुन्छ । त्यसकारण, समयमा पहिचान गर्न नसक्ने र उपचार हुन नसके दृष्टि गुम्छ । जसले गर्दा जीवनरभर नै दृष्टिबिहीन बनेर बस्नुपर्छ ।
कतिपय औषधि जथाभावी रूपमा प्रयोग गर्दा पनि आँखाको चापमा झन् दबाब पर्छ । स्टेरोइड औषधिले पनि आँखाको चाप बढाउन सहयोग गर्छ । फलस्वरूप, नसालाई क्षति पुग्छ । जलविन्दुका कारण दृष्टि क्षमता विस्तारै कमजोर हुँदै जान्छ ।
जलविन्दु भनेको कुनै निश्चित उमेर समूहमा हुने रोग होइन, यो जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्छ । गर्भमा रहँदा पनि जलबिन्दु हुन सक्छ भने जन्मिने बितिकै पनि जलबिन्दु देखिन सक्छ । शिशुलाई जलबिन्दु पुष्टि भएमा तत्कालै शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।
सुटुक्क दृष्टि गुम्छ
जलबिन्दुको लक्षण नै नदेखिन सक्छ । कतिपयमा आँखासम्बन्धी समस्याहरू देखिन सक्छ । परिवारमा कसैलाई जलबिन्दु छ भने वंशाणुगत रूपमा परिवारको सदस्यलाई हुने सम्भावना हुन्छ । मधुमेह, उच्च रक्तचापका बिरामीलाई अप्रत्यक्ष रूपमा आँखाको नसामा चाप पर्न सक्छ । यस्तो अवस्थामा परेर पनि जलबिन्दुको जोखिम हुन्छ ।
उपचार
जलबिन्दुको उपचारका लागि औषधि र शल्यक्रिया दुई विधि छन् । जलबिन्दुको अवस्थाअनुसार यी दुई उपचार विधि अपनाउन सकिन्छ । शिशुलाई शल्यक्रिया गर्नुपर्ने हुन्छ भने पाको उमेरका व्यक्तिलाई आँखामा राख्ने औषधि दिइन्छ । औषधिले सुधार हुँदै गएमा शल्यक्रिया गर्नसमेत नपर्ने हुन सक्छ । क्षति भइनसकेको नसालाई पुनर्जीवित औषधिले गरेको पाइएको छैन । औषधिले क्षति हुनबाट रोक्न सहयोग गर्ने हुन्छ ।
जलबिन्दुको बिरामीले कम्तीमा ६–६ महिनामा जाँच गर्नुपर्ने हुन्छ । नसा पूर्ण रूपमा क्षति भएका व्यक्तिको शल्यक्रियापछि पनि दृष्टि फिर्ता नआउन सक्छ ।
जोखिममा हुने समूह ?
– परिवारमा जलबिन्दु भएका
– ४० वर्ष नाघेका
– मधुमेह, उच्च रत्तचापका बिरामी
– लामो समयसम्म स्टेरोईड्स औषधि सेवन गर्ने
– आँखामा चोटपटक लागेका
लक्षण
– आँखा रातो हुने
– आँखाबाट आँसु आउने
– चक्कर लाग्ने
– तीव्र आँखा दुख्ने
– टाउको दुख्ने
– धमिलो दृष्टि
– टाढाको प्रष्ट देख्न नसक्नु
(तिलगंगा आँखा प्रतिष्ठानको जलविन्दुु युनिटका प्रमुख तथा जलविन्दु विशेषज्ञ डा.इन्दिरा पौडेलसँगको कुराकानीमा आधारित)