बच्चाको मोटोपन घटाउन आमाबुबाको भुमिका कस्तो हुनुपर्छ?
 
            तीन वर्षसम्म बुबाआमाहरूसँग धेरै घुलमिल गरेका बच्चाहरूको बीएमआई अर्थात उचाइ अनुसारको मोटाइको अनुपात कम भएको पाइएको छ।
ब्रिटेनका बालबालिकासम्बन्धी स्वास्थ्यविद्ले उनीहरूलाई खानेकुराबारे बेलैमा सिकाउन सकेमा बालबालिकालाई दीर्घकालिन फाइदा मिल्ने पाइएको सो अध्ययनमा उल्लेख छ। उदाहरणको लागि खाने र सुत्ने बानीहरू बालबालिकामा छिट्टै विकास हुन्छन्।
बच्चाहरूलाई खानेकुरा भोको हुँदामात्रै नदिएर उनीहरूलाई फकाउनका लागि दिने गर्नु हुँदैन । त्यसो गरेमा उनीहरू ठूलो भएपछि आफ्नो तनाव कम गर्नका लागि पनि खानामैँ जोड दिन्छन् जसले मोटोपना निम्त्याउँछ।
के कुरामा ध्यान दिने ? 
अमेरिकन मेडिकल एशोसियसनको जर्नलमा प्रकाशित एउटा अध्ययनमा नर्सहरूले पहिलोपटक बच्चा जन्माएका २ सय ७९ आमाहरूलाई घरमै बच्चा जन्मिएको भए ६ महिनासम्म र क्लिनिकमा भए १ देखि दुई वर्षसम्म कसरी बच्चाहरूको खानाको आवश्यकता पूरा गर्ने भनी सुझाएका थिए। 
नर्सहरूको उक्त टोलीले आमाहरूलाई प्राथमिकता दिएको थियो किनभने शिशुको स्याहारसुसारमा सुरुका महिना र वर्षहरूमा बुवाको भन्दा आमाको बढी भुमिका हुन्छ। त्यसरी दिइएको सुझावहरूमा, सुत्ने तालिका, भोकाएका बच्चालाई शान्त पार्न वैकल्पिक खानेकुराहरू, बालबालिका भोकाएको कसरी थाहा पाउने, उनीहरूको शारिरिक क्रियाकलापमा के कस्तो ध्यान दिनेलगायत थिए।
ती बच्चाहरूलाई त्यसपछि तीन वर्षको उमेरमा जाँच गरिएको थियो। बच्चासँग कसरी व्यवहार गर्ने भनेर उपायहरू सिकाइएका आमाका बच्चाहरूको उचाई र वजनको अनुपात कम देखियो।
यस्तो गर्दा बालकहरू भन्दा बालिकाहरू बढी प्रभावित भएको पाइयो। अनुसन्धानकर्ताहरूले ९ वर्षको उमेरसम्म उनीहरूमाथिको अनुगमन जारी राख्छन्।
बानी बसाल्न आवश्यक यो अध्ययनको नेतृत्व गरेका पेन स्टेट विश्वविद्यालयका इयान पलले हुर्कँदो उमेरका साना बालबालिकाहरूको मोटोपनाको दर यसरी बढिरहेको बेला शिशु अवस्थामै उनीहरूलाई स्वस्थ बानी बसाल्न निकै महत्त्वपूर्ण हुन्छ।
‘सानै उमेरमा मोटोपना भएका बालबालिकाहरूमा उमेर बढ्दैजाँदा पनि मोटोपना रहिरहने खतरा बढी हुन्छ ।’ तर मोटोपनाको यो चक्रमा रोक लगाउन जिन्दगीभर प्रयासहरू गर्नुपर्छ।
‘बढी तौल भएका भएका बालबालिकाहरू अभिभावक भइसक्दा पनि बढी तौलकै हुन्छन् र उनीहरूबाट जन्मिएका बालबालिका पनि बढी तौलकै हुन्छन्’ यो चक्रमा तपाईँ कहाँ फेरबदल गर्नुहुन्छ ?
‘हाम्रो अहिलेको अवस्थामा जीवनभरको प्रयास गर्न आवश्यक छ ।’ ब्रिटेनमा पनि तथ्याङ्कहरूले समान खालको समस्याहरू देखाउँछ। प्राथमिक विद्यालय सुरु गर्नु अगावै त्यहाँ झण्डै एक चौथाइ बालबालिकाहरूमा मोटोपना वा बढी तौल देखिन्छ भने उनीहरू ११ वर्ष पुग्दा त त्यो संख्या झण्डै १ तिहाइ पुगिसकेको हुन्छ।
रोयल कलेज अफ पेडियाट्रिक्स एण्ड चाइल्ड हेल्थकी अध्यक्ष प्राध्यापक निना मोदीले शिशु अवस्थादेखि तीन वर्षसम्म गरिने व्यवहारले सानो तर स्थायी असर पुर्याउने बताएकी छन्।
बीबीसी
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                