नवजात शिशुको ख्याल गर्दा के के कुरामा ध्यान दिने ? यसो भन्छिन् डा. कंसाकार
भर्खर जन्मेका अर्थात् नवजात शिशुहरू भनेको संवेशनशिल उमेर हो । जहाँ उनीहरू अन्य ठूला बालबालिका जस्ता हुँदैनन् । उनीहरूले आफ्नो स्याहार आफै गर्न सक्दैनन् । उनीहरूमा कुनै समस्या भएमा आफैले व्यक्त गर्न सक्दैनन् । त्यसैले उनीहरूको स्याहार गर्दा विशेष ध्यान दिनुपर्छ र जरुरी पनि हुन्छ ।
नवजात शिशुहरूलाई सानोसानो कुरामा पनि धेरै स्याहार गर्नुपर्छ । उनीहरूलाई जन्मिने बित्तिकै आमाको दूध खुवाउनुपर्ने हुन्छ । तर, कति मात्रामा खुवाउनुपर्छ भनेर थाहा नहुन सक्छ ।
बच्चा जन्मेको आधा घण्टादेखि एक घण्टा भित्रमा आमाको दूध खुवाउनुपर्ने हुन्छ । त्यसपछि २ घण्टाको फरकमा बच्चालाई दूध खुवाउने गर्नुपर्दछ ।
बच्चाले जन्मेको ४८ घण्टाभित्रमा बच्चाले १ देखि २ चोटि पिसाब गरेमा राम्रो भनिन्छ । त्यसपछि दैनिक ६ घन्टा पिसाब फेनुपर्ने हुन्छ । यदि त्यो मात्रामा बच्चाले पिसबा फेरेन भने उसलाई दुधको कमी छ की भनेर हेर्नुपर्ने हुन्छ ।
बच्चाले दिशा गर्ने कुरामा पहिलो २४ घन्टामा न्युनतम पनि १ चोटि दिशा गर्नुपर्दछ । आमाको दुध खाने बच्चाहरुले दिनमा २० देखि लिएर हप्तामा १ चोटि मात्र पनि दिशा गर्न सक्दछन् । तर दिशा कस्तो गर्छ भन्ने कुरा हेर्नुपर्दछ ।
दिशा पानी जस्तो हुनुभएन, दिशामा रगत देखिनु भएन,त्यो बाहेक पानी मिसिएको छोक्रा दिशा भएमा त्यो सामान्य हो । पहेँलो दिशा भएमा वा हरियो दिशा भएमा पनि त्यो सामान्य नै हो ।
बच्चाको तापक्रम बेलाबेलामा हेनुपर्दछ । थर्मोमिटरले नापेर ३६.५ देखि ३७.५ को तापक्रममा हामीले राख्नुपर्ने हुन्छ । यदि थर्मोमिटर नभएको अवस्थामा बच्चाको खुट्टाको तापक्रम हाम्रो हातको तापक्रमसँग मिल्छ भने उसको तापक्रम ठिक छ भनेर सम्झनुपर्दछ ।
बच्चाको साधारण स्याहार भित्र नाइटोको स्याहार पर्दछ । हिजोआज हामीले नाइटोमा नाबी मलम लगाउछौं । नाबी मलमले नाइटोमा सङ्क्रमण हुन दिँदैन्, नाइटो पाक्नबाट बचाँउछ ।
हामीले बच्चाको आँखामा गाजल लगाइदिरहेका हुन्छौ । कतिपय अवस्थामा गाजलमा नराम्रो तत्त्वहरू मिसिएको हुन सक्छ । जसले गर्दा बच्चाको आँखामा हानी हुन सक्छ । त्यस्तै बच्चाको कानमा हामीले तेल पनि हालिरहेका हुन्छौं । तेल हाल्नु हुँदैन । कानमा आफै पनि तेल निस्किरहेको हुन्छ ।
सानो बच्चाहरूको दूध बढ्यो भने दूध निचोर्ने हुन्छ, दुध निचोर्न हुँदैन । त्यहाँबाट बच्चाहरूलाई सङ्क्रमण हुन सक्दछ ।
बच्चालाई नुहाउँदा छिटो नुहाइदिनु पर्दछ, धेरै समय पानीमा राख्दा चिसो हुन सक्दछ । उनीहरूको शरीर दिनको एकपटक भने पुछिदिनुपर्दछ । हप्ताको एकचोटि नुहाइदिँदा पनि हुन्छ । हाम्रोमा बच्चालाई तेल लगाउने गरिन्छ । तेल लगाउने व्यक्तिको हात र तेल सफा हुनुपर्दछ ।
यस्ता बच्चाहरूमा देखिने नदेखिने समस्याहरू आउन सक्छ । कतिपय समस्या आफैले बुझनुपर्ने हुन्छ । बच्चाहरूमा दूध नखाने समस्या धेरै मात्रामा देखिन्छ । बच्चाको आफ्नै समस्याले पनि दूध नखाएको हुन सक्दछन् भने आमाको समस्याले गर्दा पनि दूध नखान सक्दछन् ।
त्यस्तै बच्चाहरूमा कम्पन हुन सक्छ । क्याल्सीयम, सोडियम कम भएमा वा सङ्क्रमण भएमा कम्पन हुन सक्छ । त्यस्तो अवस्थामा बच्चालाई चिकित्सककोमा लानुपर्दछ । बच्चाको नाइटो वरीपरी बिबिरा आउने वा नाइटोबाट रगत आउने हुन सक्दछ त्यो अवस्थामा पनि बच्चालाई अस्पताल लानुपर्दछ ।
बच्चाहरूमा जन्डिस पनि हुन सक्छ । पहिलो २४ घन्टामा यदि बच्चा पहेलो भएमा तुरुन्तै अस्पताल लानुपर्दछ । जन्डिस हुने बढी जेखिममा कम तौलको, महिना नपुगेको वा आमालाई डाइबिटिज भएकोमा बढी देखिन्छ ।
हाम्रो समाजमा बच्चाहरूलाई बढी घाममा राखिन्छ । घामबाट भिटामीन डि पाइन्छ भन्ने छ । यदि बच्चालाई थोरै जन्डिस देखिएको छ भने घाममा राख्दा राम्रै हुन्छ । तर धेरै जन्डिस देखिएमा घाममा राख्नु हुँदैन ।
बच्चालाई धेरै मात्रामा घाममा राख्दा पनि सुक्खापन आउन सक्दछ । त्यस्तै बढी घाममा राख्दा बच्चाहरूको छाला पिल्सिएर सङ्क्रमण भएको पनि देखिन्छ । त्यसैले बिहानको कलिलो घाममा राख्नु राम्रो हो धेरै घाममा राख्नु राम्रो होइन ।