जलवायु परिवर्तन र मानव स्वास्थ्य
जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो । पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यति नै विकिरण पुनः अन्तरीक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुनगई असन्तुलन हुन गएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ ।
जलवायुमा आएको परिवर्तनले विश्व वातावरण नै प्रभावित भइरहेको छ । जनस्वास्थ्यमा पनि यसको प्रभाव प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पर्न गएको छ । जलवायु परिवर्तनको असरले उच्च तापक्रमबाट बिरामी तथा मृत्यु हुने, बाढीपहिरो, खडेरीको कारणले पानी तथा खाद्यान्नजन्य रोगहरूको वृद्धि, कीटजन्य तथा मुसाजन्य रोगहरूको वृद्धि र अन्य सङ्क्रामक रोगहरूको वृद्धि हुने, खाद्यान्न तथा पानीको अभाव हुने, वायु प्रदूषण हुने जस्ता समस्याहरू जनस्वास्थ्यको क्षेत्रमा पनि बढ्न गएका छन् । यी समस्याहरूलाई न्यूनीकरण गर्नु अति आवश्यक छ । जलवायु परिवर्तनले स्वास्थ्यमा पर्ने प्रभावसम्बन्धी कुराहरूलाई छलफलको रूपमा अघि सारी जनसाधारणमा लैजान नितान्त आवश्यक देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि जलवायु परिवर्तन र स्वास्थ्य विषयमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू संचालनका लागि नेतृत्वदायी भूमिका र खेल्नुपर्ने देखिन्छ । जलवायुको प्रभावले पानीका स्रोतहरू, वन,पारिस्थितिक प्रणाली, जैविक विविधता, कृषि, र भौतिक वातावरणलाई खलल पार्छ र यी समग्र परिवर्तनले मानवीय स्वास्थ्यमा प्रभाव पार्छ ।
जलवायु परिवर्तनले रोग ओसारप्रसार तथा पैmलाउने बाहकहरूको लागि सहज वातावरणको सिर्जना भई तिनीहरूको सङ्क्रमण निरन्तर बढ्नाले नयाँ रोगहरू देखापर्ने, निवारण गरिसकिएका रोगहरू पुनः फेला पर्ने, पहिला रोगको संक्रमण नभएका स्थानहरूमा रोग देखापर्ने जस्ता घटनाका कारण अहिले देखिरहेको कोरोना भाइरसले मानव स्वास्थ्यमा प्रभाव पारिरहेको छ भन्ने प्रष्ट हुन्छ ।
मानवकृत जलवायु परिवर्तनले जनस्वास्थ्यलाई प्रत्यक्ष वा अप्रत्यक्ष दुवै प्रक्रियाबाट असर गर्दछ ।
जलवायु परिवर्तनले सङ्क्रामक रोगहरु बढी मात्रामा फैलन गएर नेपालको कमजोर स्वास्थ्य सेवामा चर्काे दबाब परेको छ । मलेरिया, कालाजार र जापानिज इन्सेफिलाइटिस जस्ता रोगको विस्तार, बारम्बारता र गम्भीरतामा भएको वृद्धिले पनि सो कुराको पुष्टि गर्दछ । यस बाहेक जलवायु परिवर्तनले औषधीजन्य जडिबुटीको क्षमता र उपलब्धतामा कमी ल्याउँछ । रासायनिक संरचनामा आउने परिवर्तन क्षमतामा फरक पार्दछ । साथै बाली नाली र चरन घाँसको पौष्टिकता पनि घट्न जान्छ । मौसमको विषम अवस्थाका कारण समुदायहरुको बसाँइ सराइ शुरुभैसकेकोछ । यस्ता बसाँइ सराइका घटना भविष्यमा अझ बढेर जाने प्रबल सम्भावना छ ।
विश्वव्यापीरूपमा बढेको यस समस्याका लागि विश्वका औद्योगिक तथा धनी राष्ट्र जिम्मेवार रहेको यथार्थ विभिन्न अध्ययन प्रतिवेदनले सार्वजनिक गरिसकेका छन् । हरितगृह ग्यासको प्रमुख कारकको रूपमा देखिएको कार्बन डाइअक्साइडको उत्सर्जन नै विश्वव्यापी उष्णीकरण र जलवायु परिवर्तनको कारक मानिएको छ । धनी र औद्योगिक मुलुकले कार्बन डाइअक्साइड अत्यधिक उत्सर्जन गरे पनि नेपाल जस्ता विकासोन्मुख तथा अति कम विकसित मुलुकहरूले यसलाई खप्नसक्ने हैसियत प्राप्त गर्न अझै बढी कठिनाइ भोग्नु परिरहेको छ ।
जलवायु परिवर्तनको मूलकारक नेपाल जस्ता विकासोन्मुख मुलुक होइनन् तर हालका दिनमा विश्व जलवायु परिवर्तनले मानव जीवनमा नकारात्मक असर पु¥याउन थालेको छ ।
जलवायु परिवर्तनलाई कसरी कम गर्न सकिन्छ ?
प्रत्येक घर र कार्यालयमा कम्तीमा एउटा रूख मात्रै रोप्न सक्ने हो भने पनि हामीले निकै धेरै लाभ हासिल गर्न सक्छौँ । त्यसैगरी, सडकको दायाँ(बायाँका किनारामा वृक्षारोपण गर्नुपर्छ । त्यसो गर्न सकियो भने गाउँ र सहरको शोभा मात्र बढ्दैन, मानव स्वास्थ्यका लागि आवश्यक अक्सिजन पनि उत्पादन हुन्छ ।
जलवायु परिवर्तनसँगै कोरोना महामारी
साथै हाल कोभिड महामारी जस्तो ठूला चुनौती विश्वका अगाडि उभिएको छ । यदि यो चुनौतीलाई पार गर्ने हो भने विश्व एक हुन आवश्यक छ ।
विश्वको सबैभन्दा ठूलो पर्यावरणीय समस्या भनेको जलवायु परिवर्तन हो जस्को प्रभाव कोरोना महामारीमा पनि परेको देखिन्छ ।
यो सिङ्गो पृथ्वी र प्राणी जगत बचाउने प्रश्न हो । यसका लागि पृथ्वीमा विविध जीवनको विकासको अवस्था कायम राख्न सबै देशको सहयोगले जलवायु परिवर्तनको न्युनिकरण गर्नु आवश्यक छ ।
विश्वभर फैलिएको कोभिड महामारीको समस्याले सबैलाई सताएको छ । ओमिक्रोन भेरियन्टको आगमनसँगै, महामारीको तेस्रो लहरको डर त्रास विश्वभर छ । विश्वका धेरै धनी देशहरूले भविष्यका लागि समेत कोभिड भ्याक्सिन जम्मा गरेका छन् भने धेरै गरिब देशहरू आफ्ना नागरिकहरूलाई खोप लगाउने भ्याक्सिनको ठूलो अभावमा छन् । गरिब मुलुकहरुको यो अवस्थामा धनि राष्ट्रहरु भने नतमस्तक जस्तै बनिरहेका छन् । भारतका करिब ६४ प्रतिशत जनताले खोपको दुवै डोज र करिब ९० प्रतिशतले पहिलो डोज पाएका छन् ।
विश्वका विकसित र धनी देशहरूले गरिब देशका नागरिकका लागि खोप उपलब्ध गराउनु पर्छ । किनभने जबसम्म एक व्यक्ति पनि महामारीबाट असुरक्षित रहन्छ, तबसम्म महामारी फेरि दोहोरिने सम्भावना रहन्छ । यदि मानिसहरुले फेरि कोभिड प्रोटोकलको पालना नगरे, भीडभाड बढाए, मास्कलाई वेवास्ता गरे, चिकित्सकीय परामर्शलाई वेवास्ता गरे तत्कालै यो फेरि महामारीकै रुपमा फैलिन सक्छ । गरिब देश त्यो विषयमा निकै जोखिम छन् । यदि गरिब देश महामारीमा फसेमा धनि देश पनि सुरक्षित हुने अवस्था रहन्न ।