आधिकारिक निकायहरूबाट अनुमति नपाएको मोडर्ना खोप नेपालमा कसरी लगाइँदैछ ?
कोरोना महामारी सुरु भएको २ वर्ष भयो । सन् २०१९ को डिसेम्बर ३१ मा पहिलोपटक चीनको वुहानमा पुष्टि भएको कोरोना भाइरसका कारण विश्व नै प्रभावित बनेको छ । कोरोना सङ्क्रमण सुरु भएपछि यसको ठोस उपचार नहुने, यसको ठोस औषधि नभएको हुँदा कैयौं मानिसले अकालमै ज्यान गुमाउनु पर्यो ।
तर, समय बित्दै जाँदा विश्वका वैज्ञानिकहरूले कोरोनाविरुद्धको खोपको विकास गरे । सबैभन्दा पहिले सन् २०२० को मे महिनामा रुसले ‘स्पुतनिक भी’ नामक कोरोनाविरुद्धको खोप बनाएको दावी गर्दै अगस्ट महिनादेखि आफ्नो मुलुकमा नागरिकलाई लगाउन पनि सुरु गर्यो । ‘स्पुतनिक भी’ पछि अहिले क्रमशः अमेरिकाको फाइजर/मोडर्ना/जोन्सन एण्ड जोन्सन, बेलायतको एस्ट्राजेनेका, चीनको सिनोभेक, भारतको कोभिशिल्ड लगायतका कोरोनाविरुद्धको खोप अहिले विश्वका विभिन्न मुलुकमा लगाइँदैछ ।
मानव शरीरमा प्रयोग हुने भएकाले खोप बनाउन र मान्यता पाउन भने सजिलो छैन । कारण, यदि कुनै खोपको प्रभाव नकारात्मक देखियो र मानिसको मृत्यु नै गरायो भने त्यसले मानव अस्तित्वलाई नै धरापमा पार्न सक्छ । त्यसकारण कुनैपनि मुलुकले कुनैपनि खोप बनायो भने त्यसको विभिन्न चरण पार गर्नुपर्ने हुन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कुनैपनि खोप सामान्यतया चार चरणमा विकास हुन्छ :
पहिलो चरणः यस चरणमा खोप कतिको सुरक्षित छ भन्ने कुराको सुनिश्चितता गरिन्छ । जसमा कम्तिमा पनि २० देखि एक सय स्वस्थ स्वयंसेवीलाई सहभागी गराउनु पर्ने हुन्छ । त्यसपछि खोप लगाइएको मानिसमा कुनै किसिमको गम्भीर साइड इफेक्ट –नकारात्मक प्रभाव० भए नभएको विषयमा पनि अध्ययन गरिन्छ । त्यसपछि खोपको कति मात्रा दिँदा साइड इफेक्ट भइरहेको छ भन्ने विषयमा पनि अवलोकन गरिन्छ ।
दोस्रो चरणः यस चरणमा एक सय भन्दाबढी स्वयंसेवीलाई सहभागि गराइन्छ । जसमा स्वयंसेवीमा मिल्दोजुल्दो र छोटो समयका लागि कस्ता साइड इफेक्ट देखिन्छ भन्ने विषयमा अध्ययन गरिन्छ । त्यस्तै स्वयंसेवीको रोग प्रतिरोधात्मक क्षमताले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने विषयमा पनि हेरिन्छ ।
तेस्रो चरणः यस चरणमा एक सयदेखि एक हजारसम्म वा त्यो भन्दा बढी स्वयंसेवीलाई सहभागि गराउन सकिन्छ । जसमा दुई समूह छुट्याई एक समूहलाई खोप दिइन्छ भने एक समूहलाई खोप दिइँदैन । त्यसपछि खोप लगाइएकाहरुको तुलना खोप नलगाएकाहरुसँग गरिन्छ । जसमा खोप लगाएकाहरु र नलगाएकाहरुमा के कस्तो परीवर्तन भयो भन्ने विषयमा अवलोकन गरिन्छ । त्यसपछि यो खोप कतिको सुरक्षित छ भन्ने विषयमा अवलोकन गर्नुका साथै खोप कतिको प्रभावकारी छ भन्ने विषयमा पनि हेरिन्छ र खोपको कुनै किसिमको साइड इफेक्ट भयो वा भएन भन्ने विषयमा पनि सुनिश्चित गरिन्छ । साथै यसमा उमेर समूह कुन कुन हो भनेर पनि देखिन्छ र कुनैपनि उमेर समूहमा त्यसले प्रभावकारी काम गरेन भने त्यसलाई तुरुन्त बन्द गर्नुपर्ने हुन्छ ।
चौथो चरणः खोपको तेस्रो चरणले राम्रो नतिजा दिएपछि त्यसको चौथो चरणमा अनुमतिका प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । (उदाहरणका लागिः यदि अमेरिकाले कुनैपनि खोप विकास गरेको छ र त्यसले तीनवटै चरण सफलतापूर्वक पार गरिसकेको छ भने त्यसलाई चौथो चरणमा त्यहाँको फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले अनुमति दिन्छ । कि खोपले मानिसमा राम्रोसँग काम गरिरहेको छ ।) त्यस्तै जुन मुलुकले खोप विकास गरेपनि उसको खोपलाई मान्यता त्यहीको सम्बन्धीत निकायले दिनुपर्ने हुन्छ । यसमा खोपको छोटो तथा लामो समयका लागि हुने गरेको साइड इफेक्टको बारेमा पनि अध्ययन गरिन्छ । यस चरणमा खोपको सबै प्रक्रिया सफलतापूर्वक सम्पन्न भइसकेपछि त्यसलाई मान्यता दिएर नागरिकको उपयोगका लागि उत्पादन गरेर बजारमा ल्याइन्छ ।
विश्वमा अहिले जतिपनि खोपहरू प्रयोगमा छन् ती खोपहरू कि त विश्व स्वास्थ्य सङ्गठन, विश्वका अधिकांश मुलुकले अनुमति दिएको अमेरिकाको फुड एण्ड एडमिनिस्ट्रेशन वा बेलायतको औषधि नियामक निकायले मान्यता दिएको छ ।
हालसम्मको अवस्थामा हेर्दा कोरोनाभाइरसले सबैभन्दा बढी दीर्घरोगी, वृद्धवृद्धालाई बढी प्रभावित बनाउने भएकाले विश्वका अधिकांश मुलुकमा खोप लगाउनेमा पहिलो प्राथमिकतामा पनि तीनै समूह परे । कोरोनाको एउटा लहरपछि अर्को लहर आउन थालेपछि र विभिन्न खोपमा गरिएको थप अध्ययनले उमेर समूह पनि घट्दै गयो । अर्थात् ६० माथिकालाई मात्रै दिइने खोप हाल ५ वर्षभन्दा माथिका बालबालिकालाई पनि उपयोगी हुने भन्दै लगाउने तयारी भइरहेको छ । तर, खोपको विषयलाई लिएर केही आशङ्का भने उत्पन्न भएको छ ।
कोरोनाविरुद्धको खोपको विषयमा सुरुवाति चरणमा नै मानिसहरूका अनेक प्रश्न र भ्रम थिए । ती सबै चिर्दै खोप अभियान नेपालमा पनि सुरु भयो । गत वर्ष माघ १४ गतेबाट सुरु भएको खोप अभियानको पनि एक वर्ष हुन लागेको छ । अझैपनि १८ वर्षभन्दा मुनिका बालबालिकालाई कपितय मुलुकमा खोप लगाइएको छैन भने नेपालमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाँदैछ ।
माथि उल्लेख भए अनुसार अमेरिकाको फाइजर खोप ५ वर्षभन्दा माथिका बालबालिकालाई पनि लगाउन सकिनेछ । त्यसबाहेक हालसम्म अन्य कुनै खोपले बालबालिकाका लागि अनुमति पाएको देखिँदैन । अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सीडीसी), खाद्य तथा औषधि व्यवस्थापक (एफडीए), विश्व स्वास्थ्य सङ्गठन र बेलायतको औषधि नियामक निकायले पनि मोडर्नाको खोपलाई १८ वर्षभन्दा मुनिका बालबालिकामा प्रयोगका लागि अनुमति दिएको छैन । जसका कारण यो खोप हालसम्म नेपालबाहेक अन्य कुनैपनि मुलुकमा १२ देखि १७ वर्षका बालबालिकालाई लगाइको छैन ।
आपतकालिन प्रयोग होस् वा स्थायी अनुमति, मोडर्ना खोपले अनुमति नपाएको अवस्थामा नेपालमा कसरी प्रयोग हुँदैछ भन्ने प्रश्न उठेको छ । माथि उल्लेखित सबै सम्बन्धीत निकायको आधिकारिक वेबसाइटमा पनि यसको प्रयोग बालबालिकामा गर्न अनुमति नदिएको प्रष्ट देखिन्छ भने खोप निर्माता कम्पनी मोडर्नाले पनि आउने सन् २०२२ को जनवरीसम्ममा अनुमति पाउन सकिने जनाएको छ ।
मोडर्नाको अध्ययनमा यो खोप १८ वर्षभन्दा माथिका उमेर समूहमा प्रभावकारी देखिएपनि बालबालिकामा यसको प्रभाव राम्रो देखिएको छैन । जसका कारण थप अध्ययन र अनुसन्धानको आवश्यकता देखिएको भन्दै एफडीएले अनुमति दिन मानेन । अध्ययनको क्रममा मोडर्नाको खोप लगाएका बालबालिकामा मायोकार्डिटिस नामक रोग जुन मुटुसँग सम्बन्धित छ त्यो देखिएको हुँदा एफडीएले खोपलाई अनुमति दिएन ।
एफडीएले मोडर्नाको खोप १२ देखि १७ वर्षका बालबालिकामा प्रयोगका लागि अनुमति नदिएपछि मोडर्नाले सूचना जारी गर्दै सन् २०२२ को जनवरीसम्म खोपको विषयमा थप अनुसन्धान गरेर अनुमति पाउन सक्ने प्रश्ट पारेको छ, उसको आधिकारिक साइटमा ।
मोडर्नाले आफ्नो खोपलाई बालबालिकामा प्रयोग गर्न नपाउने जनाएपछि नेपालमा यो खोप कसरी बालबालिकामा लगाउन थालियो ? भन्ने प्रश्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सरकारले बनाएको राष्ट्रिय खोप सल्लाहकार समितिमा बुझ्ने प्रयास हाम्रो डक्टर न्यूजले गर्यो ।
मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीलाई बुझ्दा उनले भने, ‘हामीले विश्व स्वास्थ्य सङ्गठनले दिएको अनुमतिकै आधारमा खोप लगाउन थालेका हौं । हाम्रो खोप सल्लाहकार समितिले गरेको अध्ययन र सिफारिसका आधारमा खोप लगाउने निर्णय भएको हो ।’
विश्व स्वास्थ्य सङ्गठनले कहाँ, कहिले अनुमति दियो भन्ने कुनै प्रमाण वा पत्र छ भने उपलब्ध गराइदिन सह प्रवक्ता डा.अधिकारीलाई आग्रह गर्दा उनले फेरी थपे, ‘यो विषयमा थप बुझ्न राष्ट्रिय खोप सल्लाहकार समितिलाई बुझ्नुस् । उताबाट थप प्रस्ट होइन्छ । यो प्राविधिक पक्ष हो ।’
सह प्रवक्ता डा.अधिकारीले भनेपछि हाम्रो डक्टर न्यूजले राष्ट्रिय खोप सल्लाहकार समितिका सदस्य डा.गणेश कुमार राईलाई यो विषयमा बुझ्ने प्रयास गर्यो । मोडर्ना खोपले १२ देखि १७ वर्षका बालबालिकालाई लगाउनका लागि अनुमति नै पाएको छैन । यो अवस्थामा नेपालमा कसरी लगाउन सिफारिस गर्नुभयो ? डा.राईले जवाफ दिँदै भन्नुभयो, ‘विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र अन्य मुलुकमा खोप लगाइएको आधारमा नेपालमा पनि लगाउन सुरु भएको हो । त्यहि आधारमा हामीले पनि सिफारिस गरेका हौं ।’
अन्य कुन मुलुकमा र सङ्गठनले कहिले अनुमति दियो भन्ने कुनै लिङ्क छ ? वा पत्र छ भने उपलब्ध गराइदिनुस् न भनेपछि उहाँले एफडीएले मोडर्नाको खोप बालबालिकामा आपतकालीन प्रयोगका लागि अनुमति दिएको र सोही आधारमा नेपालमा पनि लगाउन थालेको बताए ।
तर, एफडीएको आधिकारिक साइटमा भने मोडर्नाको खोपलाई १२ देखि १७ वर्षसम्मको उमेर समूहमा प्रयोगका लागि अनुमति दिइएको कहि उल्लेख गरिएको छैन । अमेरिकास्थित नेपालका एकजना वैज्ञानिक डीन भट्टले मोडर्ना खोप कसरी तपाईंहरूले नेपालमा बालबालिकालाई प्रयोगका लागि पठाउनुभयो भनेर मेलमा सोध्दा उनीहरूले हामीलाई यो विषयमा जानकारी नभएको र नेपाल सरकारलाई नै सोध्न भन्दै जवाफ दिएको हाम्रो डक्टर न्यूजलाई बताउनुभयो ।
नेपाल बाहेक अन्य मुलुकमा हालसम्म मोडर्नाको खोप १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाइएको छैन भने अमेरिकामै पनि यो खोप बालबालिकालाई दिइको छैन । अमेरिकाले फाइजरको खोप भने ५ वर्षभन्दा माथिका बालिबालिकाका लागि उपयोगी रहेको भनेर स्वीकृति दिइसकेको छ । त्यसकारण फाइजर खोप लगाउने विषयमा कुनै दुविधा नरहेपनि मोडर्नाबारेको जिज्ञासा अझै ठोस् रुपले मेट्न सकिएको छैन ।
बालबालिकालाई लगाइने खोपको मात्रा र १८ वर्षभन्दा माथिका उमेर समूहलाई लगाइने खोपको मात्रा फरक हुन्छ । बालबालिकाको शारीरिक क्षमता अनुसार खोपको एक तिहाई मात्रै लगाउनुपर्छ भने १८ वर्षभन्दा माथिका उमेर समूहका लागि खोपको पूर्णमात्रा लगाइन्छ । यो अवस्थामा नेपालमा मोडर्ना खोप लगाइरहँदा त्यसले कथमकदाचित कुनै अप्रिय घटना भएमा त्यसको जिम्मा कसले लिने भन्नेपनि प्रश्न छ ।
भविश्यमा अनुमति पाउने वा नपाउने विषय वर्तमानमै गर्न नमिल्ने भएकाले सरकार र सम्बन्धित निकायले यसतर्फ यथाशिघ्र निर्णय गर्नुपर्ने देखिन्छ ।
सम्बन्धित लिङ्कहरु:
https://www.cdc.gov/coronavirus/2019-ncov/vaccines/recommendations/children-teens.html
https://extranet.who.int/pqweb/vaccines/covid-19-mrna-vaccine-nucleoside-modified
https://www.who.int/emergencies/diseases/novel-coronavirus-2019/covid-19-vaccines/advice