भाइरल रुघाखोकीको समस्या बढ्न सक्छ : डा.आलोक ढुंगेल  

What's This?


Download our app to get more features

काठमाडौं, २३ कात्तिक । जाडोको सिजन सुरु भएसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै चिकित्सकले सचेत गराएका छन्।

काठमाडौंसहित देशभर चिसोको मौसम सुरु भएसँगै चिकित्सकले भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन आमनागरिकलाई आग्रह गरेका हुन्।

मंगलबार नर्भिक अन्तरराष्ट्रिय अस्पतालका कन्सलट्यान्ट फिजिसियन डा. आलोक ढुंगेलले चिसो मौसम बढेकाले बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरे। उनले अहिलेको मौसम कोरोनासँगै फ्लुको संक्रमण बढी हुने भएकाले यसले श्वासप्रश्वासमा समस्या आउने बताए।

डा. ढुंगेलले भने, ‘चिसो मौसम बढेकाले गर्दा साना बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीले एकदमै सतर्कता अपनाउनुपर्ने हुन्छ। अहिले फ्लुको सिजन बढेसँगै कोभिड पनि छ, फ्लुको सिजन पनि बढेको छ।’

डा. ढुंगेलले चिसोबाट जोगिने, तातो र न्यानो कपडा लगाउने, बाहिर नहिँड्ने, धुवाँ र धुलोबाट बच्ने, मर्निङ वाकमा ननिस्कन आग्रह गरे।

त्यस्तै उनले यस्ता फ्लुबाट बच्न रुघाखोकी लागेका मानिसबाट टाढै रहन, मास्क लगाउन, जथाभावी नाक, कान, मुख नचलाउन पनि अनुरोध गरे। उनले यस्ता भाइरसबाट बच्न झोलिलो खानेकुरा खान र भ्याक्सिन अनिवार्य लगाउनुपर्ने पनि बताए।

ढुंगेलले सबै नागरिकले मौसमी रुघाखोकीबाट जोगिने उपाय पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए। उनले कोभिड–१९ का वेला गरिरहेका चालचलन प्रयोगमा ल्याइराख्नाले पनि मौसमी भाइरल रुघाखोकीबाट बच्न सकिने बताए।

उनले २०२२ का लागि नयाँ इन्फ्लुएन्जाको भ्याक्सिन आउन लागेको बताउँदै कोभिडविरुद्धको भ्याक्सिनको दुई डोज लगाउनेहरूले इन्फ्लुएन्जाको भ्याक्सिन डाक्टरको सल्लाहबमोजिम लगाउन मिल्ने पनि बताए।

Last modified on 2021-11-09 15:45:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts