महिनावारीको समयमा हुने दुखाइ कम गर्ने उपाय
महिलाहरुमा महिनावारी हुनु सामान्य प्रक्रिया हो । महिनावारीको समय नजिकिदै जाँदा महिलाहरुमा एक किसिमको तनाव उत्पन्न हुन जान्छ । जब उनीहरुको महिनावारी शुरु हुन्छ त्यस समयमा सहनै नसक्ने दुखाइ हुने हुन्छ । धेरैजसो महिलामा महिनावारीको समयमा धेरै पेट दुख्ने हुन्छ । यस्तो समयमा महिलामा ढाड दुख्ने, थकानको महसुस हुने, स्तन दुख्ने सामान्य समस्या हुन्छ ।
तर, महिनवारीको समयमा सहनै नसक्ने गरी पेट दुख्नु भनेको समस्या हो । यस्तो समस्यालाई चिकित्सकीय भाषामा डिस्मेनोरिया भनिन्छ । डिस्मेनोरिया आफैंमा रोगको कारण नभइ अन्य रोगको कारक तत्व हुन सक्छ ।
महिनावारीमा हुने पीडा विवाहित महिलाहरुमा भन्दा भर्खर महिनावारी शुरु भएका तथा अविवाहितहरुमा धेरै हुने गर्छ । भर्खरै महिनावारी सुरु भएका युवतीहरुमा पाठेघरको राम्रोसँग विकास हुन नसक्दा साथै पाठेघरको मांशपेसी खुम्चिने हुँदा वा रगत बाहिर निस्कन नसक्दा बढी पीढा महसुस हुन्छ ।
उमेर बढेसँगै पाठेघरको विकास भएमा पीडा पनि कम हुँदै जान्छ । तर, पछि गएर दुखाइमा कमि नभएमा पाठेघरमा हुने विभिन्न समस्याले हुने हुन्छ । पाठेघरको विकास राम्रोसँग नहुनु, पाठेघरको मुख नखुल्नु, प्रजनन रोग, अण्डबाहिनी नलीमा समस्या देखिनु, विभिन्न औषधिको सेवन जस्ता कारण पनि महिनावारीम पीडा हुन आउँछ ।
यस्तो समस्यामा सबैलाई एउटै कारणबाट पीडा हुँदैन । त्यसैले समयमै के कारणले पीडा भएको हो रोग पत्ता लगाई उपचार गर्नुपर्छ । महिनावारीमा हुने पीडा कम नभएमा विवाहितहरुले तुरुन्तै बच्चा नचाहेमा पिल्स पनि सेवन गर्न सकिन्छ । पिल्सको सेवनले महिनावारीको समयमा हुने पीडा कम गर्नुको साथै गर्भ रहन पनि रोक्ने हुन्छ । साथै यसले रगत पनि कम बग्ने हुन्छ ।
उमेर बढेसँगै विवाह पछि वा बच्चा भएमा पीडा पनि कम हुँदै जान्छ । विवाहपछि वा बच्चा जन्मेपछि पाठेघरको मुख खुल्ने र रगत बग्न सहज हुने हुँदा पीडा पनि कम हुँदै जान्छ ।
कतिपय अवस्थामा दुखाई सहनै नसक्ने गरी पीडा भएमा पेन किलरको सेवन गर्न सकिन्छ । तर पेन किलरको जथाभावी सेवन स्वास्थ्यका लागि घातक पनि हुन सक्छ । त्यसैले चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुका साथै साधारण घरेलु उपाय अपनाउनु पर्छ । पीडा भएमा हट वाटर व्यागले सेक्ने गरेमा पनि दुखाइ केही हदसम्म कम गर्न सकिन्छ । यस बाहेक पनि घरेलु विभिन्न तरिका अपनाउन सकिन्छ ।
डा. अग्रवालसँग बासुदेव न्यौपानेले गरेको कुराकानीमा आधारित
Last modified on 2016-08-10 21:09:41