कोरोना महामारीकाबीच तिहार कसरी मनाउने ? यसो भन्छन् डा.पुन
![](/image.php?src=https://www.hamrodoctor.com/uploads/news/2021/November/IMG_20210922_133644__01.jpg&w=800&h=480&static=true)
नेपालीहरुले मनाउने दसैँपछिको दोस्रो ठूलो पर्व तिहार यतिबेला सबैको घरआँगनमा छ । यमपञ्चक सुरु भइसकेकाले सबैले काग र कुकुरको पुजा गरेर तिहार मनाइरहेका छन् । सबैतिर झकिझकाउ छ भने बजारमा पनि भिडभाड र चहलपहल उत्तिकै देखिन्छ । तर, यीसबका बीच हामीले कोरोना महामारीलाई भने बिर्सनु हुँदैन ।
विगत २ वर्षदेखि हामी कोरोना महामारीकाबीच आफ्ना सबै चाडपर्व मनाइरहँदा यसवर्षपनि कोरोनाका बीच नै तिहार मनाइरहेका छौं । गत वर्षको भन्दा केही सहज महसुस भएपनि कोरोना छँदैछ भन्ने कुरालाई वेवास्ता गर्नु कोरोनाको अर्को लहरको जोखिमलाई निम्त्याउनु हो ।
गत वर्ष तिहारको समयमा नेपालमा कोरोनाविरुद्धको खोप आइसकेको थिएन भने यस वर्ष सरकारले कुल जनसङ्ख्याको झन्डै ४४ प्रतिशत नागरिकलाई कोरोनाको पहिलो मात्रा लगाइसकेको छ । जसका कारण मानिसहरूमा कोरोनाको डर कम देखिएको र त्यो गलत बुझाइ रहेको चिकित्सकहरू बताउँछन् ।
सरुवा रोग विशेषज्ञ डा.शेर बहादुर पुनका अनुसार कोरोनाविरुद्धको खोप लगाउँदैमा मानिसमा सङ्क्रमण हुँदैन भनेर धेरैले बुझ्न थालेकाले कोरोनाको जोखिम बढ्ने सम्भावना बढ्छ । अहिले पनि नेपालमा बसै जनाले कोरोनाविरुद्धको खोप नलगाएकाले तिहार जस्ता चाडपर्व मनाउँदा विशेष ध्यान दिनुपर्ने र सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।
डा. पुन भन्छन्, ‘हामी सबैले सुरुदेखि भन्दैछौं खोप लगाउनु भनेको गम्भीरता र मृत्युदरलाई कम गराउनु हो । यसले सङ्क्रमणलाई रोक्दैन । खोप लगाएकाहरूमा पनि कोरोना सङ्क्रमण हुन सक्ने भएकाले खोप लगाइसकेकाहरूले पनि नियमित स्वास्थ्यका मापदण्डलाई पालना गर्नुपर्ने अनिवार्य हुन्छ र गर्नुपर्छ । अन्यथा खोप लगाएकाहरूमा लक्षण नै नदेखिएर अरुलाई कोरोना सार्ने सम्भावना बढेर जान्छ ।’
खोप लगाएकाहरूले एक ठाउँबाट अर्को ठाउँ जाने र त्यहाँ खोप नलगाएका वा लगाएकामा पनि कोरोना सङ्क्रमण भएको हुन सक्ने अनि उसले कोरोना अरुलाई सार्ने सम्भावना हुँदा खोप लगाए नलगाए सबैले कोरोनाको जोखिमबाट जोगिन स्वास्थ्यका मापदण्ड पालना गर्नैपर्ने उनी थप्छन् ।
अर्को भनेको तिहारमा देउसी भैलो खेल्दा मास्कको प्रयोग नगर्ने हुन सक्छ । त्यसो गर्नु भनेको फेरि कोरोनाको सङ्क्रमण हुनु हो । त्यसकारण देउसी भैलो खेल्दा पनि अनिवार्य मास्कको प्रयोग गर्ने । एक अर्काबीचको दुरी कायम गर्ने गर्नुपर्छ । सकेसम्म देउसी भैलो नखेलेको राम्रो तर, खेल्नै मन लागे स्वास्थ्यका मापदण्ड पालना गर्नु उचित हुन्छ । त्यस्तै खुला ठाउँमा गएर खेल्दा पनि राम्रो हुने डा. पुनको सुझाव छ ।
नेपालमा कोरोनाविरुद्धको खोप कार्यक्रम भइरहेको र कोरोना भेरिएन्टको स्वरुप पनि परिवर्तन नभएको हुँदा अहिले सङ्क्रमणको दर कम भएको डा.पुन बताउछन् । त्यसैले तिहार पछि पनि सङ्क्रमणदर ह्वातै बढ्ने सम्भावना नरहेको पनि उनको भनाइ छ ।
चाडबाड छ र कोरोनाको खोप लगाइसकेको छु भनेर लापरबाही गर्नु भने उचित नभएको भन्दै डा. पुनले सकेसम्म घर परिवार र जो जहाँ छौं त्यही बसेर चाडबाड मनाउन पनि सुझाव दिए ।