आयुर्वेदका प्रवर्तक धन्वन्तरीको जयन्ती आज
काठमाडौं, १६ कात्तिक । आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज धन्वन्तरी जयन्ती मनाइँदैछ ।
हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका धनवन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । विक्रम संवत् १९७४ मा काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत रुपमा धनवन्तरी जयन्ती मनाउन थालिएको हो ।
आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा २०५६ सालदेखि धनवन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउने गरिएको छ । तर, यसवर्ष कोरोना महामारीका कारण दिवसका अवसरमा कुनै पनि विशेष कार्यक्रमको आयोजना नगरिने भएको छ ।
के हो आयुर्वेद ?
आयु र वेद शब्दको योगले आयुर्वेद बन्छ । शरीर इन्द्रिय मन र आत्माको संयोगलाई आयु भनिन्छ । आयु भनेको जीवन हो । हिन्दुशास्त्र अनुसार सामाजिक, सांस्कृतिक तथा मानसिक रूपमा स्वस्थ आयुसम्बन्धी ज्ञान दिने शास्त्रलाई आयुर्वेद भनिन्छ । शरीरका सबै अंग सुन्दर, स्वस्थ र सबल रहेर व्यक्तिगत, पारिवारिक, सामाजिक र मानसिक सबै पक्षमा आनन्दसाथ जीवनयापन गर्नु स्वस्थ आयु हो । स्वस्थ मानिसको स्वास्थ्यको रक्षा गर्नु र रोग लागेको अवस्थामा रोगको निवारण गर्नु आयुर्वेदको उद्देश्य हो । समष्टिगत रूपमा आयुर्वेदशास्त्रले मानव प्राणीको आयुमा बाधा पु¥याउने रोगका कारण, लक्षण र उपचारविधिको विस्तृत रूपले विवेचना गरेकोे छ ।
आयुर्वेदको इतिहास
आयुर्वेदको रचनाकाल ईसापूर्व ३ हजारदेखि ५ हजार वर्षपहिले भएको मान्यता छ । प्राचीन समयमा ऋषि अत्रेयले आयुर्वेदको विद्या आफ्ना ६ शिष्यलाई बाँडेका थिए भन्ने कथन छ । ती ६ शिष्यहरूमा– अग्निभेष, भेल, अतुकर्ण, पराशर, हारित र क्षारपाणी थिए । सुश्रुतसंहिताअनुसार भगवान् इन्द्रले आफूले प्राप्त गरेको आयुर्वेदको ज्ञान धनवन्तरीलाई दिएका थिए । अन्त्यमा धनवन्तरीले आयुर्वेदको ज्ञान आफ्ना सातजना शिष्य औषधेनव, वैतरण, उरभ गोप्ररक्षित, पौषकलावत, करविर्य र सुश्रुतलाई दिएका थिए । कश्यपसंहिता अनुसार इन्द्रले आफूले प्राप्त गरेको आयुर्वेदको ज्ञान कश्यप वशिष्ठ भृगु अत्रीलाई दिएका थिए । यसरी बिभिन्न कालखण्डमा आयुर्वेदको ज्ञान एकबाट अर्कोमा हस्तान्तरण हुँदै आएको धर्मग्रन्थहरूमा उल्लेख छ ।
नेपालमा आयुर्वेद
परम्परागत चिकित्सापद्धति आयुर्वेदले जडीबुटी प्रयोग गरी गाउँघरमै विभिन्न रोगमा उपचार गरी स्वास्थ्यसेवा प्रदान गर्ने प्रचलन नेपालको अति प्राचीन परम्परा हो । संवत् १७९० को दशकमा राजा रणजित मल्लले पादरीमार्फत पश्चिमा संसारमा लोकप्रिय बन्दै गरेको औषधि तथा आधुनिक चिकित्साविधि नेपाल भित्र्याएको मानिन्छ । त्यसताका नेपालमा करिब ८० प्रतिशतभन्दा बढी मानिसले प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा आयुर्वेद चिकित्सापद्धतिमार्फत जडीबुटीद्वारा उपचार गर्ने गर्थे । नेपालमा चार हजारभन्दा बढी प्रभावशाली जडीबुटी पाइन्छन् । नेपालको माटो दल्दामात्रै शरीरको ७५ थरीका रोग निको हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् । विभिन्न हरिया वनस्पतिको धूवाँ सुँघाएर मात्रै १३ वटा रोग निको पार्न सकिन्छ ।
नेपालमा आयुर्वेदिक औषधि उत्पादनका लागि आन्तरिक कच्चा पदार्थ जडीबुटी कति खपत हुन्छ भन्ने कुनै तथ्यांक न सरकारसँग छ न निजी क्षेत्रसँगै छ । नेपालमा जति जडीबुटी संकलन हुन्छ, त्यसको ९० प्रतिशत विदेश निर्यात हुने र बाँकी १० प्रतिशतमात्र नेपालमा खपत हुन्छ । नेपालबाट विदेश खासगरी भारत र चीन वार्षिक करिब सात हजार पाँच सय मेट्रिक टन निर्यात हुने गर्छ । निर्यात हुने जडीबुटी ६५ देखि ७० प्रकारका छन्, जसमध्ये २० प्रकारको जडीबुटी माग एकदम उच्च छ । स्वदेशी गुणस्तरीय जडीबुटी विदेश निर्यात हुने र विदेशी कमसल जडीबुटी स्वदेश भित्रिने क्रम बढिरहेको छ ।
अन्त्यमा,
आयुर्वेदको उपचार आधुनिक चिकित्साविज्ञानभन्दा फरक छ । सबै औषधि जडीबुटीबाट बनाइन्छ । हरेक रोगको उपचारमा प्रयोग हुने औषधि, रोगका कारण र बिरामीको अवस्थाअनुसार फरक–फरक हुन्छन् । त्यसैले कुनै पनि आयुर्वेदिक उपचारका लागि आयुर्वेदका डाक्टरलाई जँचाएर मात्र उपचार गर्नुपर्ने द्रव्यगुण विज्ञान विशेषज्ञ प्रा.डा. श्याममणि अधिकारीले बताए । बजारमा पाइने तयारी आयुर्वेदिक औषधि आफूखुसी सेवन गर्नु हानिकारक हुने अधिकारीको जिकिर छ । त्यसैले जथाभावी आयुर्वेदिक नाम सुन्नेबित्तिकै औषधि सेवन नगरौं । चिकित्सकको सल्लाहमा मात्र आयुर्वेदिक औषधि सेवन आयोग्य जीवनका लागि लाभदायक हुने प्रा.डा. अधिकारीको ठहर छ ।
पछिल्लो समय फैलिएको कोरोना महामारीको लागि आयुर्वेदलाई सरकारले प्रोत्साहन नगरेको भन्दै सरोकारवाला निकायहरुले गुनासो समेत गर्दै आएका छन् । कोरोना संक्रमितको उपचारका लागि आयुर्वेदले ठूलो भूमिका निर्वाह गरेको आयुर्वेद चिकित्सकहरु बताउँछन् ।
आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीका अनुसार आयुर्वेदको प्रयोग गरेर कोरोना संक्रमितको उपचारमा फाइदा पुर्याउन सकिन्छ । आयुर्वेदमा प्रयोग हुने गुर्जो, बेसार, ल्वांग, योग, ध्यान लगायतले संक्रमितलाई राहत हुने र चाँडै स्वस्थ हुने उनको भनाइ छ ।