जब त्रिवि शिक्षण अस्पतालको फार्मेसीले नै भन्यो औषधि छैन ! 

What's This?


Download our app to get more features

काठमाडौंको मध्य भागमा त्रिभुवन शिक्षण अस्पतालमा काठमाडौं उपत्यका मात्रै होइन देशभरका बिरामीहरू उपचारका लागि आउने गरेका छन् । पूर्व झापादेखि सुदूरपश्चिममा महाकालीसम्मका सेवाग्राही त्रिवि शिक्षण अस्पताल आउने गरेका छन् । 
 
त्रिवि शिक्षण अस्पताल नेपालको सरकारी अस्पतालहरू मध्ये एउटा राम्रो सेवा दिने अस्पतालको रूपमा चिनिन्छ । पुरानो अस्पताल र लाखौं विपन्न बिरामीहरूको आशाको केन्द्र बनेको यस अस्पतालमा सबै विधाका रोगको उपचार हुने गरेको छ ।

दक्ष जनशक्ति, उचित व्यवस्थापन र ठूलो क्षेत्रफल ओगटेको यस अस्पतालको आकर्षणको केन्द्रमध्येको एक यहाँको बगैचा पनि हो । लामो लाइन बस्नुपर्ने बाध्यता हुँदा सेवाग्राहीको समय बगैचामै बित्ने गरेको छ । दैनिक अस्पतालमा झन्डै १ हजारको हाराहारीमा अस्पताल आउने बिरामीलाई सेवा दिन र व्यवस्थापन गर्न अस्पताललाई भ्याइनभ्याइ हुन्छ । तर, अस्पतालले सायदै बिरामीलाई शतप्रतिशत सेवा प्रदान गर्न सकेको छ लाग्छ । तुलनात्मक रूपमा हेर्ने हो भने  शिक्षण अस्पतालको प्रगति राम्रै भएपनि सबै सेवा र सुविधा उत्कृष्ट बन्न सकेको छैन ।

सरकारी नीति भनौं वा अस्पतालको प्रक्रियागत ढिलाई अस्पताल प्रशासनमा हुने राजनीतिक हस्तक्षेप, बेलाबेलामा हुने गरेको चिकित्सकहरूको आत्मस्वार्थ केन्द्रीत आन्दोलन र कमजोर नेतृत्त्वले शिक्षण अस्पताल थला परेको छ । 

सरकारको राजनीतिक गतिरोध र स्वार्थ परिपूर्तिको अपेक्षा र स्वास्थ्य मन्त्रालयमा तिव्र रुपमा मासिक र पाक्षिक अवधिमा मन्त्रीहरूको फेरबदलका कारण शिक्षण अस्पताल मात्रै नभई नेपालका ठूला ठूला स्तरका सरकारीअस्पतालले पनि आफ्नो सेवामा गुणात्मक विकास गर्न सकेका छैन् । 

म दिवस ढकाल, पेशागत हिसाबले स्वास्थ्य क्षेत्रमा पत्रिकारिता गर्दै आईरहेको छु । आज भन्दा  करिब डेढ महिना अघि मैले आफ्नो भाईलाई नाकमा समस्या देखिएकोले शल्यक्रियाको लागि  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लिएर गएको थिएँ । 

भाईको नाकको शल्यक्रियाको लागि करिब ६ महिना अघि नै समय पूर्व निर्धारण गरेर पर्खाइमा बसेको थियौं । ६ महिना अघि ५ दिन अस्पतालको चक्कर लगाएर समय लिएर बसेका हामी डेढ महिना अघि लगातार १० दिन अस्पतालको चक्कर काटेपछि शल्यक्रिया गर्ने भनेर अस्पतालको वार्डमा लगियो । 

शल्यक्रियाको लागि अस्पतालका एक चिकित्सकले आवश्यक औषधिहरूको जोहो गर्नुस् भनेर औषधिको लामो लिस्ट मेरो हातमा  थमाईदियो । उक्त औषधिको लिस्ट बोकेर म अस्पतालको छिँडीमा रहेको फार्मेसीमा गए । मैले फार्मेसीमा भने, ‘सर मलाई तत्काल यो लिस्ट अनुसारको औषधि दिइहाल्नुस अप्रेसन छ भाईको ।’ 

फार्मेसीमा रहेका ती व्यक्तिले लिस्ट हेर्दै भन्यो, “हाम्रोमा यो दुई थरी औषधि मात्र छ, बाहिर गएर लिनुहोला बाहिरको औषधि पसलमा बुझ्नुस् पाइन्छ होला ।”

मैले पनि केही सोच्न सकिन अप्रेशनको कुरा थियो, तुरुन्तै डाक्टरले प्रेस्काइब गरिदिएको औषधिको लिष्ट लिएर बाहिरको औषधि पसलमा गएर औषधि किनिहाले । सम्भवतः मैले महँगोमा औषधि किने । किनकी अस्पतालको फार्मेसीमा बाहिरको भन्दा सस्तो मूल्यमा औषधि पाइन्छ भन्ने त थाहा छ । तर, त्यही औषधि बाहिर निजी औषधि पसलमा किन्दा महँगो पर्छ भनेर रिर्पोटिङ्ग नै गरेको छु । अरुको हक र अधिकारका लागि रिर्पोटिङ्ग गर्दै गर्दा आफूलाई पनि उस्तै समस्या भोग्नुपर्यो । 

सरकारी अस्पतालहरू नै सरकारको निमय अनुसार सञ्चालन हुन नसक्दा बिरामीहरू र सेवाग्राहीले भोग्नुसम्मको दुःख भोग्ने गरेका छन् । 

अस्पतालको फार्मेसीमा मैले भाईको नाकको शल्यक्रियाको लागि आवश्यक औषधिहरूमा एक्सटर्नल नोजल स्पिलन्ट र पीडीएस स्टक्चर लगायतको पाँच थरि भन्दा बढी औषधि अस्पताल फार्मेसीमा नपाएपछि निजी औषधि पसलमा गएर किनेको थिएँ ।  म र मेरो भाइ त एउटा सानो उदाहरण मात्र हौंं । यस्तो समस्या अस्पताल आउने दिनहुँ सयौं बिरामीले भोग्ने गरेका छन् । 

पछि मैले अस्पतालको फार्मेसीमा बुझ्दा औषधिहरू बाहिरदेखि ल्याउनुपर्ने र भण्डारणको असहजताले गर्दा उपलब्ध नभएको बतायो । बाहिर निजी फार्मेसीमा छ्याप्छ्याप्ती पाइने औषधि सरकारी अस्पतालले भने विभिन्न कारण र बहाना बनाएर राख्ने गरेको छैन् । घन्टौं लाइन बसेर बिरामी पुर्जा देखाएर औषधि माग्दा छैन् भनेपछि मानिसहरू निरास भएर चिन्तित र मलिन अनुहार लिएर हतारिँदै निजि फार्मेसीमा पुग्ने गर्छन् । जसका कारण औषधि नपाएर शिक्षण अस्पतालमा आउने हजारौं बिरामीहरू आर्थिक र मानसिक दुबै रुपले तनावमा पर्ने गरेका छन् । 

राजधानीकै अधिकांश सरकारी अस्पतालहरूमा यहि समस्या रहेको छ । बिरामीहरूका अनुसार शिक्षण अस्पतालमा हुने गरेको औषधि अभाव नियमित समस्या हो । प्रायजसो शिक्षण अस्पतालको फार्मेसी खालि नै देखिन्छ । अस्पतालले भएको औषधि दिँदै नभएको औषधि किन्न बाहिर पठाउने गरेको छ । 

शिक्षण अस्पतालमा डाक्टरले परिक्षण गरेर लेखिदिएको बिरामी पुर्जा लिएर निजि मेडिकलमा औषधि खरिद गर्न जाँदा पूर्जामा लेखिदिएको औषधिहरू अस्पतालमै हुनुपर्छ भन्छन् तर अस्पताल फार्मेसीले भने यहाँ छैन् बाहिर मेडिकलमा गएर किन्नु भनेर फर्काउने गरेका छन् । 

अस्पतालमा बिरामीहरूले सबैखाले औषधिहरू नपाएको शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा. दिनेश काफ्लेले स्वीकार गरेका छन् ।  नेपालको सार्वजनिक खरिद नियमावली अनुसार औषधि खरिद गर्न असहज भएकोले सबै रोगको औषधि  पाउन नसकिएको उनले दावी गरे । कोरोना महामारी र समयमा नै बोलपत्र आह्वान हुन नसक्दा औषधिको अभाव भएको उनले बताए ।
यो समस्या त्रिवि शिक्षण अस्पतालको मात्रै होइन देशभरका सरकारी अस्पतालको समस्या उस्तै छ । चिकित्सकहरूले पनि औषधि प्रेस्काइब गर्दा अस्पताल फार्मेसीमा नभएका औषधिहरू नै प्रायः प्रेस्काइब गर्ने गरेको देखिन्छ । जसका कारण बिरामीलाई समस्या हुने गरेको छ । यस्ता समस्या समाधानका लागि सरकारले समयमै ध्यान दिएन भने त्यसले थप समस्या निम्तिने देखिन्छ ।
 

Last modified on 2021-10-17 16:55:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts