स्वस्थ तथा निरोगी रहनेे निशुल्क बीस उपायहरु



Download our app to get more features

प्रकृतिमा सबथोक छ, वायु, प्रकाश, जल, आकाश, र माटो अनि यि सबै वस्तुबाट सिर्जित तथा आश्रित सबै सजीव–निर्जीव चीजहरु । जसमध्ये मान्छे सर्वश्रेष्ठ प्राणीको लागि त झन् यी सबै कुराको पहुँच सहज छ र प्रकृतिको उचित प्रयोगले सहजै स्वस्थ एवं निरोगी हुन सकिन्छ ।  

भोल्टायरको एउटा प्रख्यात भनाइ छ, ‘औषधीले बिरामीलाई बहलाउने मात्र हो, निको पार्ने त प्रकृतिले हो ।’ 
रोग लागिसकेपछि त्यसको औषधि–उपचार गर्नु त छँदै छ तर रोग लाग्न नदिन हामी सबैले सहजै विभिन्न उपायहरु अवलम्बन गर्न सक्छौं । 
तल दिइएको सूची स्वस्थ जीवनको निम्ति अवलम्बन गर्नुपर्ने व्यवहारहरुको सानो हिस्सा मात्र हो । हाम्रो स्वास्थ्यलाई असर गर्ने कारक तत्वहरु थुप्रै छन् । तल उल्लखित उपायहरु सरल एवम् वैज्ञानिक छन् । यिनलाई अवलम्बन गर्दा हुने फाइदाको पुष्टि विभिन्न अनुसन्धानबाट भइसकेको छ । 
  
–योग तथा ध्यान गर्ने र नियमित व्यायाम गर्ने 

योग तथा ध्यान अनि नियमित व्यायाम गर्नाले  शरीर तथा मस्तिष्क स्फूर्त रहन्छ र यसले रक्तसञ्चार, पाचनक्रिया, निद्रा, श्वास–प्रस्वास, यौनक्रिया आदिलाई मजबुत पार्नुका साथै रोगप्रतिरक्षा क्षमता बढ्छ । त्यसैगरी मांसपेसी तथा हाड बलियो हुने, स्मरण शक्ति बढ्ने तथा मानसिक आध्यात्मिक स्वास्थ्यमा पनि सुधार हुन्छ ।

–बुवा आमाको आवाज सुनिरहने तथा साथीभाइसँग भेटघाट गर्ने 
विभिन्न अनुसन्धान अनुसार बुबा आमाको आवाज सुनिरहने छोराछोरीमा समग्र मानसिक स्वास्थ्य राम्रो हुन्छ । साथीभाइ तथा नातेदारसँगको नियमित भेटघाटले आपसी सहयोगको भावनाको विकास हुन्छ र मानसिक तथा सामाजिक तवरले स्वस्थ रहन मदत मिल्छ । 

–बिहानको घाममा समय बिताउने 
बिहानको घाममा १०–१५ मिनेट बस्नाले शरीरमा भिटामिन डीको उत्पादन बढाउनुको साथै निद्रामा सन्तुलन ल्याउने गर्छ । त्यसैगरी मनमा उर्जा ल्याउने, तनाव कम गर्ने, आँखा तथा छालाको सुरक्षा गर्न समेत बिहानको समय सदुपयोग योग्य हन्छ । 

–स–साना केटाकेटीसँग खेल्ने, समय बिताउने
स–साना केटाकेटीहरुसँग खेल्दा र समय बिताउँदा उनीहरुको  शारीरिक र मानसिक विकाससँगै आफ्नो पनि शारीरिक र मानसिक सन्तुलन कायम हुन्छ ।  
 
–खानाको तालिका बनाउने र परिवारसँगै खाना खाने 

खानपिनको तालिकाले खाना नफालिने, पैसाको बचत हुने, शरीरलाई नियमित पोषण मिलिरहने, तनाव कम हुने तथा समयको बचत हुने गर्दछ । घरका सदस्यहरु सकेसम्म सँगै खाना खाने बानी गर्नाले पौष्टिक तत्व सम्बन्धी छलफल हुने, एक अर्कासँग भलाकुसारी हुने र मानसिक स्वास्थ्यमा सुधार आउँछ । 

–व्यक्तिगत सरसफाइमा ध्यान पुर्याउने र चर्पीको नियमित प्रयोग गर्ने 
हाम्रो जस्तो विकासोन्मुख देशमा प्रायः रोगहरु व्यक्तिगत सरसफाइको अभावले हुने गर्दछन् । त्यसैले नियमित रुपमा नुहाउने, सावुनपानीले हात धुने, चर्पीको प्रयोग गर्ने र सफा लुगा लगाउनु पर्छ ।
   
–सुर्तीजन्य पदार्थ तथा अन्य लागुपदार्थबाट टाढा रहने 

सुर्तीजन्य पदार्थ तथा अन्य लागुपदार्थको सेवनले थुप्रै स्वास्थ्य समस्या आउने हुँदा यसबाट टाढा रहनु पर्छ । परिवारको कोही सदस्य यसको लतमा भए छुट्याउन मद्धत गर्नु पर्दछ ।
 
–पर्याप्त मात्रामा पानी पिउने 
प्रसस्त पानी पिउनाले शरीर फुर्तिलो हुने, कब्जियतको सम्भावना कम हुने, क्यान्सरको सम्भावना कम हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । शरीरबाट हानिकारक चिजहरु घट्ने, प्रतिरक्षा प्रणाली मजबुद हुने, तौल सन्तुलित हुनुको साथै विशेषगरी छाला, मुटु, मिर्गौला, पेट, आँखा जस्ता अंगहरुलाई फाइदा पुग्छ । 

–चिनी, नुन, अमिलो, चिल्लो तथा पिरो कम मात्रामा खाने  
गुलियो, नुनिलो, पिरो, चिल्लो तथा अमिलो खानेकुराको सेवनमा कटौती गर्नाले मधुमेह, उच्चरक्तचाप, मुटुरोग, पेटको रोग आदिबाट धेरै हदसम्म छुटकारा पाउन सकिन्छ ।  


–मन्दिर जाने / प्रार्थना गर्ने 
मन्दिर जाने वा घरमै बसेर पनि प्रार्थना गर्नाले मन प्रसन्न हुने, उर्जा उत्पन्न हुने, शरीरमा हर्मोनको मात्रामा सन्तुलन हुने, रक्तसञ्चारमा सुधार हुन्छ । पाचन प्रक्रिया सहज हुने, निद्रामा सुधार आउँछ । यसैगरी सरसफाइमा सुधार हुने, सामाजिक सम्बन्धमा सुधार आउने र आफुमा समग्र अनुशासनको विकास हुने संभाना बढी हुन्छ । 

–टिभी र इन्टरनेटमा थोरै समय बिताउने 

टिभी र इन्टरनेटमा धेरै समय बिताउनेहरुमा आँखाको धेरै समस्या आउने, मोटोपना हुने, निद्राको समस्या हुने, थकान हुने, तनाब हुने, कार्य क्षमतामा ह्रास आउने आदि हुन्छ । त्यसैले अत्यधिक मात्रामा टिभी र इन्टरनेटमा समय खेर फाल्नुहुँदैन । 

–स्वास्थ्य सम्बन्धी निशुल्क एपको प्रयोग गर्ने
अहिले मोबाइल तथा ल्यापटपमा स्वास्थ्य सम्बन्धी थुप्रै निशुल्क एपहरु उपलब्ध छन् जसबाट स्वास्थ्य सम्बन्धी अनेक जानकारी पाउन सकिन्छ । 

–डायरी लेख्ने बानी बसाल्ने 
नियमित रुपमा डायरी लेख्ने बानी गर्नाले डिप्रेसनको सम्भावना न्यून हुने, तार्किक शक्ति बलियो हुने हुन्छ । यस्तो बानीलाई नियमित गराए निद्राको समस्यामा कमि आउने एवं आफ्नो स्वास्थ्य व्यवहारको अभिलेख राख्न मिल्ने जस्ता थुप्रै फाइदा हुन्छ । 
 
–खुलेर संवाद गर्ने, हँसिलो रुपमा प्रस्तुत हुने, र सकारात्मक सोच राख्नेको संगत गर्ने 
खुलेर हँसिलो रुपमा संवाद गर्नेहरुमा तनाव कम हुने र मानसिक रोग लाग्ने सम्भावना नै न्यून हुन्छ । यस्ता व्यक्तिहरुलाई अरुले पनि सोही अनुसार राम्रो व्यवहार गर्दछन् । साथै सकारत्मक सोच राख्ने साथीहरु बनाउँदा आफूमा पनि सोही अनुरुप सकारात्मक परिवर्तन आउँछ ।

–नियमित तथा सुरक्षित यौन सम्पर्क गर्ने 
नियमित तथा सुरक्षित यौन सम्पर्कले रोग प्रतिरक्षा क्षमतामा सुधार आउने, रक्तचाप सन्तुलित हुने, प्रोस्ट्रेट तथा पिसाब थैलीको क्यान्सरको जोखिम कम हुन्छ । यसैगरी तनाव कम हुने, मुटुरोगको सम्भावना कम हुने, निद्रा व्यवस्थित हुने, तौल सन्तुलित गर्न मदत पुग्ने तथा सम्बन्धमा सुधार आउँछ ।


–समयमै सुत्ने र बिहान सबेरै उठ्ने 
बालबालिकाहरुमा समयमै सुत्ने र बिहान सबेरै उठ्ने बानीले पढाइमा सुधार आउँछ र समग्र स्वास्थ्यमा सुधार आउँछ । साथै वयस्कमा पनि निद्रामा सुधार आउने, कसरत गर्ने उपयुक्त समय मिल्ने, एकान्तको अवसर मिल्ने र कार्यक्षमतामा सुधार आउने गर्दछ । 
 
–बिहान बेलुका केही हिड्ने बानी बसाल्ने र समय समयमा कुनै लामो पैदल यात्रामा जाने 

बिहान र बेलुका केही हिड्ने गर्नाले तौल सन्तुलित हुने, शरीर फुर्तिलो हुन्छ । तनाब कम गर्न, दैनिक योजनाहरु व्यवस्थित गर्न तथा पाचनक्रिया सहज बनाउन पनि नियमति हिड्डुल गर्नुका फाइदा हुन् । यसरी हिड्दा साथीभाइसँग भेटघाट हुने अवसर पनि मिल्दछ । समय समयमा लामो पैदल यात्रा गर्नाले शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक सबै दृष्टिकोणबाट स्वस्थ रहन सकिन्छ ।  

–घरवरिपरी सफासुग्घर राख्ने तथा  बगैँचा र करेसाबारीमा गोडमेल गर्ने 
वातावरणको सरसफाइले रोगको सम्भावना कम हुनुको साथै मानसिक प्रसन्नता हुने हुन्छ । सरसफाइ गर्दा हुने कसरतले शारीरिक रुपमा पनि फाइदा पुग्छ । बगैँचा तथा करेसाबारीमा गोडमेल गर्दा कसरत हुनुको साथै हरिया साग सब्जीको उत्पादन पनि हुन्छ ।

–सार्वजनिक पुस्तकालयमा जाने बानी बसाल्ने 
सार्वजनिक पुस्तकालयमा जाने गर्नाले नयाँ–नयाँ कुरा सिक्न मिल्ने, साथीहरु बन्ने, समयको सदुपयोग हुने, एकान्तको आनन्द लिन मिल्ने, तनाव कम हुने आदि फाइदा हुन्छ ।

–आफूलाई रमाइलो लाग्ने काम गर्ने 
आफुलाई रमाइलो लाग्ने काम जस्तैः नाच्ने, गीत संगीतमा रमाउने, चित्र बनाउने, लेख रचना सिर्जना गर्ने, खेलकुदमा भाग लिन सकिन्छ । त्यसैगरी पौडी खेल्दा कसरत हुने र तनावबाट छुटकारा मिल्ने गर्दछ । 
 
लेखक सेन्ट्रल इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी, काठमाडौंका जनस्वास्थ्य संकायका लेक्चरर पनि हुन् ।


 

Last modified on 2016-08-08 21:30:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts