हातखुट्टाको कापमा हिलोले खाएको छ ?

सामान्यतया वर्षायामको समयमा हाम्रो हातखुट्टाको औँलाको कापमा हिलाले खान्छ ।
हामीहरु बर्षायाममा धानको ब्याड राख्ने समयदेखि नै हिलोमा काम गर्छाैं । वर्षायाम नसकिएसम्म हिलोको काम सकिँदैन । कतिपय अवस्थामा त हिलोले खाने समस्या यति गम्भीर हुन्छ कि खुुट्टाको औंला नै छिन्ला जस्तो हुन्छ । निरन्तर हत्केला र पैँताला हिलो र पानीमा भैरहँदा औंलाका काप चिरिने गरी असर देखिन्छ । हामीहरु मध्ये कतिपयले यसको उपचारका लागि घरेलु औषधीको प्रयोग गछौं । तर यो हिलोले खाएको रोग के हो त ? कारण के के हुन , यो रोगको रोकथाम र उपचार कसरी गर्ने भन्नेबारे हामीलाई थाहा नहुन सक्छ । आउनुहोस् यसबारे चर्चा गरौं ।
हिलोले खाने समस्या र यसको कारण
हिलोले खाने समस्यालाइ मेडिकल भाषामा ईन्टरट्राइगो (Intertrigo) भन्ने गरिन्छ । ‘हिलोले खाने’ भनेर चिनिने छालाको यो समस्या खासगरी क्यान्डिडा नामको एक प्रकारको ढुसी (फंगाई) को कारण हुन्छ । हात र खुट्टाको औँलाको विचमा चिलाउने, रातो हुने र उक्किएको सेतो छाला जस्तै गरि यो शुरु हुन्छ । उपचार नगरेको खण्डमा त पाकेर कहिले काहिँ ठूलै समस्याको रुप पनि लिने गर्दछ । जसबाट हामीलाई थप पीडा हुन्छ ।
सामान्य अवस्थामा हात र खुट्टाको औँलालाई मुलायम र सुरक्षित बनाइराख्न छालामुनिका तेलीय ग्रन्थीले चिल्लो पदार्थ उत्पादन गर्छ । तर, लामो समय पानी र हिलोको सम्पर्कमा आइराख्दा छालाको चिल्लो पदार्थले पानी र हिलोबाट सुरक्षित गर्ने क्षमतामा कमी ल्याउँछ र छाला ओसिएर चाउरिने हुन्छ । यस्तो अवस्थामा छालाको छेकवारयुक्त क्षमतामा कमी आई फंगाई एवं व्याक्टेरियाको आक्रमण सहज बन्छ । यसबाट हिलोले खाने वा कालो कालो दाग आउने हुन्छ ।
प्राय लामो समयसम्म पानी चलाउनुपर्ने कामहरु जस्तै गृहणी , किसान , धोवि गर्नुपर्ने मानिसहरुलाई यो रोगले बढि सताउने गर्छ ।
यो वाहेक धेरै पसिना आउने , जुत्ता धेरै बेर सम्म लगाई राख्ने ,सुगर भएका विरामीहरु , धेरै मोटो मान्छेहरुलाई पनि यो समस्या बारम्वार बल्झिने गर्छ । औँलाको काप धेरै बेरसम्म पसिना अथवा पानीको कारणबाट चिसो भइराखेको खण्डमा वातावरणमा हुने सुक्ष्म जीवाणु जस्तै फन्गस (Fungus) व्याक्टेरियाले (Bacteria) सजिलै सँग हाम्रो शरीरको छालामा प्रवेश गरेपछि पनि यो रोग लग्ने गर्दछ ।
रोकथाम र उपचार
धेरै पानिको प्रयागेलाई घटाएर कम गर्नुको साथै हात र खुट्टा सुख्खा राख्न सकिएमा ईन्टरट्राइगो (हिलोले खाएको रोग) हुन पाउँदैन । अत्याधिक पानीको प्रयोग गर्नुपरे हातमा पन्जा लगाउन उपयुक्त हुन्छ र धेरै हदसम्म रोग बल्झन पाउँदैन । खुट्टामा पानी परिसकेपछि सफा कपडाले खुट्टा सुख्खा बनाउने गर्नुपर्छ । लामो समयसम्म खुट्टामा पानी पार्ने र हिलोमा काम गर्नु हुँदैन । बारम्वार बल्झि राखेको अवस्था छ भने चर्मरोग विशेषज्ञसँग परामर्श लिएर औषधि उपचार गर्नु राम्रो हुन्छ ।
फन्गस मर्ने औषधि जस्तै clotrimazole cream हरु सजिलै बजारमा पाइने हुनाले यस्तो क्रिमको प्रयोग गरेमा यो रोग सजिलै निको हुन्छ ।
यसबाहेक हिलो पानीमा पसेर काम गर्नुपर्ने अवस्था आएमा हात, खुट्टा र औँलाको कापमा भ्यासेलिन, तेल वा कुनै मोइस्चराइजर दल्नुपर्छ । यसले छालामा पर्ने असर घटाइदिन्छ । हिलो पानीको कामले जतिसुकै थाके पनि हातखुट्टा धोएर सुक्खा बनाई क्रिम वा जेल लगाएमा पनि हिलोले खाने रोगबाट बच्न सकिन्छ ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।