स्क्रब टाइफस भए वेवास्ता नगरौं, मिर्गौला फेलदेखि मुटुरोगसम्म हुन सक्छ !
पछिल्लो समय नेपालका विभिन्न जिल्लामा स्क्रब टाइफसको संक्रमण देखिन थालेको छ । कोरोना महामारीकाबीच देखिएको स्क्रब टाइफसका कारण अस्पताल आउने बिरामीको संख्या पनि बढ्न थालेको छ ।
कोरोनासँग मिल्दोजुल्दो केही लक्षणहरु भएका कारण चिकित्सकहरुले कोरोनासँगै स्क्रब टाइफसको पनि परीक्षण गराउन सुझाव दिएका छन् ।
स्क्रब टाइफसबारे विभिन्न जनचेतना फैलाइएपनि मानिसहरु अझै अनभिज्ञ छन् । जसका कारण नेपाल जस्तो विकासिल देशका धेरै नागरिक यसको जोखिममा छन् । यो रोगका धेरैजसो लक्षण सामान्य ज्वरोसँग मिल्दोजुल्दो भएकाले पनि मानिसहरू झुक्किने गर्छन । यस्तो अवस्थाका स्क्रब टाइफसबाट कसरी जोगिने ? कसरी चिन्ने स्क्रब टाइफस भनेर कन्सल्टेन्ट फिजिसियन डा. रामकृष्ण बरालको सुझाव यस्तो छ :
चीनमा तेस्रो सताब्दीमा पहिलो पटक स्क्रब टाइफस देखापरेको थियो । नेपालमा भने यो देखा परेको धेरै समय भएको छैन् । तर, पनि यो रोगले बेलाबेलामा मानिसको ज्यानै लगेको समाचार सार्वजनिक भइरहेका छन् । नेपाल जस्तो विकासोन्मुख र धेरैजसो व्यक्ति कृषिमा निर्भर भएको देशमा स्क्रब टाइफसको जोखिम उच्च हुन्छ ।
स्क्रब टाइफसलाई बुस टाइफस पनि भनिन्छ । यो रोग ओरेन्सिया सुसुगमुसी नामक पराजिवीको संक्रमणबाट सर्छ । माइट नामको संक्रमित किर्नाले टोक्दा यो रोग मानिसमा सर्छ ।
विशेषगरी घाँसपात, झाडीमा काम गर्ने मानिसमा यो रोगको सम्भावना प्रवल रहन्छ । झाँडीमा काम गर्दा संक्रमित किर्नाले टोक्यो भने यो रोग लाग्छ ।
लक्षण :
एक्कासी ज्वरो आउनु ।
शरीरमा एलर्जी जस्तो बिबिरा देखिनु ।
टाउको दुख्नु ।
खोकी लाग्नु ।
शरीर आलस्य हुनु ।
खाना अपज हुनु ।
वान्ता हुने ।
जन्डिस हुने ।
श्वास फेर्न गाह्रो हुने ।
यसको बेलैमा उपचार गरिएन भने संक्रमण बढ्दै गएर मुटु, कलेजो, मिर्गाैलामा समेत गम्भीर असर पुग्छ । यो रोगको संक्रमण भएको करिब ५ देखि ७ दिनदेखि लक्षण देखिन थाल्छ ।
उपचार पद्धति
यो रोग लागे नलागेको पत्ता लगाउन रगतमा एन्टीजेनको अवस्था हेर्नुपर्छ । यसैलाई आधार मानि बिरामीको अवस्था हेरी कुन उपचार पद्धति अवलम्बन गर्ने, कुन औषधि चलाउने भन्ने एकीन गरिन्छ ।
बच्न के गर्ने ?
स्क्रब टाइफस ग्रामीण क्षेत्रका मानिसमा मात्र देखापर्छ भन्ने थियो । यसको संक्रमण शहरी क्षेत्रमा समेत देखापरेको छ । यसबाट बच्ने उपाय भनेको संक्रमित किर्नाको टोकाइबाट बच्नु हो । यसबाहेक निम्न सावधानी अपनाउनु पर्छ ।
खेतबारीमा काम गर्दा शरीर ढाक्ने कपडा लगाउने । (खुट्टामा बुट, हातमा पन्जा र टाउको ढाक्ने कपडा लगाउने )
घर वरपर सफा राख्ने ।
भुइँमा बस्दा केही ओच्छ्याएर मात्र बस्ने ।
माथिका कुनै पनि लक्षण देखिए तुरुन्त स्वास्थ परीक्षण गराउनु पर्छ । बेलैमा उपचार गरिएन भने यो रोगले ज्यानै लान सक्छ ।