शिशुलाई स्तनपान किन गराउने ?
सन्दर्भ : विश्व स्तनपान सप्ताह
स्तनपान हरेक आमाले आफ्नो सन्तानलाई जन्म दिएपछि दिइने अमूल्य उपहार हो । स्तनपान गर्नु आमा र बच्चा दुवैका लागि ज्यादै फाइदाजनक छ । यसले बच्चा र आमाको सम्बन्ध प्रगाढ बनाउने प्राकृतिक अवसर मात्र प्रदान नगरेर शिशुको शरीरिक वृत्ति विकासमा पनि ज्यादै महत्वपूर्ण भूमिका खेल्छ । जन्मनसाथ शिशुलाई स्तनपान किन गराउने त ?
शिशु जन्मेपछि त्यसको पहिलो घण्टामै स्तनपान गराउन उपर्युक्त समय मानिन्छ । त्यसैले यहि समयदेखिनै आमालाई स्तनपान गराउन प्रोत्साहन गर्नुपर्छ । किनकी यो समयमा शिशु जागरुक हुनुका साथै यतिबेलै आउने आमाको बिगौती दुधमा पौष्टिक तत्वहरु प्रशस्त हुन्छ । जन्मनासाथ स्तनपान गराउँदा आमाको स्तनबाट अझ धेरै दुध उत्पादन हुन्छ । शिशु जन्मेलगत्तै विभिन्न कारणले शिशुको तापक्रम घट्ने धेरै सम्भावना हुन्छ । यदि आमाले स्तनपान गराएमा आमा र शिशुको छालाको स्पर्शले शिशुको उचित तापक्रममा सन्तुलन कायम गर्छ । आमाले सुत्केरी अवस्थाको पहिलो घण्टादेखि नै स्तनपान गराएमा आमाको पाठेघरबाट रगत बग्न कम गराउँछ ।
स्तनपानबाट आमालाई हुने फाइदा
- स्तनपानले शिशु जन्मिएपछि साल नाल छुट्याउनलाई मद्धत गर्छ ।
- शिशुलाई स्तनपान गराउँदा पाठेघर पनि खुम्चिदै जान्छ जसले गर्दा आमालाई रक्तश्राप हुनबाट बचाउँछ ।
- स्तनपानले सुत्केरीपछि पाठेघरलाई पहिलेकै अवस्थामा पुर्याउन सहयोग गर्छ ।
- आमाले स्तनपान गराउँदा शिशुले आमाको स्नेह र न्यानोपनको महसुश गर्छ, जसले गर्दा बच्चा र आमाको सम्बन्ध प्रगाढ बनाउँछ ।
- अत्याधिक स्तनपानले महिनावारीलाई सन्तुलनमा राख्छ, त्यसैले आमाको लागि प्राकृतिक परिवार नियोजनको काम पनि गर्छ ।
- स्तनपानले आमालाई पाठेघर र स्तनको क्यान्सर हुनबाट बचाउँछ ।
स्तनपान बच्चाका लागि हुने फाइदा
- अत्याधिक स्तनपानबाट शिशुले ५ महिना हुँदासम्म चाहिने सबै प्रकारको पौष्टिक तत्व प्राप्त गर्छ ।
- स्तनपानले शिशुको शारीरिक र मानसिक बुद्धि विकास गर्छ ।
- शिशुले आमाको दुधबाट भिटामिन ए प्राप्त गर्छ । जसले बच्चालाई रतन्धो हुनबाट बचाउँछ ।
- पहिले प्राप्त हुने बिगौति दुधले शिशुलाई रोग प्रतिरोधात्मक शक्ति प्राप्त गर्छ ।
- पर्याप्त स्तनपान गराएमा शिशुलाई झाडापखला जस्ता संक्रमण हुने रोग लाग्ने सम्भावना २५ गुणाले कम हुन्छ ।
- आमाको दुध स्वच्छ, सफा र स्वस्थ हुने भएकोले शिशुले सजिलै पचाउन सक्छ ।
- आमाको दुधमा केजिन भन्ने तत्वको मात्रा कम हुन्छ त्यसैले गाईभैंसीको दुधभन्दा आमाको दुध पचाउन सजिलो हुन्छ ।
- आमाको दुधले शिशुलाई एलर्जीबाट बचाउँछ । र शिशुले आफ्नो शरीरलाई चाहिने मात्रामा पानी प्राप्त गर्छ ।
- कम तौल भएका शिशुलाई आमाको दुधले तौल बढाउन मद्धत गर्छ ।
अन्त्यमा
कतिपय अवस्थामा आमाले शिशुलाई पर्याप्त मात्रामा स्तनपान गराउन नसकेको पनि हुन सक्छ । जसका कारणहरु स्तनपानबारे जानकारी कम हुनु, शिशुलाई आफ्नो दुधले उपर्युक्त मात्रामा नपुग्ला भनेर त्रास हुनसक्छ । वा स्तनपान गराउन सक्छु भन्ने आत्मविश्वासको कमीले पनि हुन सक्छ । त्यसैले सबै परिवारका सदस्यहरुले आमालाई शिशु जन्मेको पहिलो घण्टा देखिनै स्तनपान गराउन सक्दो सहयोग र प्रोत्साहन गर्नुपर्छ ।