कोरोनाविरुद्धको खोप क्यान्सरका बिरामीलाई कुन अवस्थामा दिने ? यसो भन्छन् डा.शाही



Download our app to get more features

तपाईं हामी मात्रै नभइ सिंगो मुलुक र विश्व नै अहिले कोरोना महामारीको चपेटामा छौं । जहाँ कोरोनाले सबै उमेर समूह, दीर्घरोगी, स्वस्थ मानिसहरुलाई संक्रमित बनाउने क्रम जारी छ । पहिलो र दोस्रो लहरमा कोरोनाले हालसम्म बढी प्रभावित बनाएको दीर्घरोगीलाई हो । कारण दीर्घरोगीहरुमा रोगसँग लड्ने क्षमता निकै कमजोर हुन्छ र उनीहरु कुनैपनि रोगको चपेटामा सजिलै आउन सक्छन् । त्यसकारण उनीहरुले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने देखिन्छ ।

कोरोनाले हालसम्म आफ्नो स्वरुपमा परिवर्तन गर्दै थप कडा र गम्भीर बनाउँदै आएको विश्वका विभिन्न अध्ययन, विश्व स्वास्थ्य संगठन र चिकित्सकहरुले बताएका छन् । कोरोना भाइरसले दीर्घरोगीलाई प्रभावित बनाउने मात्रै होइन गम्भीर अवस्था उत्पन्न गराएर मृत्यु नै पनि गराउने गरेको छ । त्यसकारण रोगसँग लड्ने क्षमता कमजोर भएकाहरु कोरोना संक्रमणको उच्च जोखिममा हुन्छन् । तीनै जोखिम समूहमध्येको एक हो, क्यान्सरका बिरामी ।

क्यान्सरका बिरामीहरुमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । जसले गर्दा उनीहरुमा छिट्टै संक्रमण हुने गर्छ । विभिन्न अध्ययन अनुसन्धान र चिकित्सकहरुका अनुसार पनि क्यान्सरका बिरामीलाई कोरोनाको जोखिम उच्च हुने भएकाले सतर्क र सावधान रहन आग्रह गर्दै आएका छन् । क्यान्सरका बिरामीलाई दिइने औषधि, किमो, रेडिएसन थेरापीले उनीहरुमा रोग प्रतिरोधात्मक क्षमतलाई कमजोर बनाउने र कोरोनाको संक्रमण छिट्टै हुने गरेको चिकित्सकहरु बताउँछन् ।

स्तन क्यान्सर, फोक्सोको क्यान्सर, मुखको क्यान्सर, आँखाको क्यान्सर, रगतको क्यान्सर लगायत विभिन्न प्रकारका क्यान्सरहरु हुन्छन् । तर, यी मध्ये पनि कोरोना संक्रमणको सबैभन्दा बढी जोखिम भनेको फोक्सो र रक्त क्यान्सरका बिरामीहरुलाई हुने गरेको डा.अरुण शाही, कन्सल्टेन्ट मेडिकल अङ्कोलोजीस्ट डा. अरुण शाही बताउँछन् ।
  
उनका अनुसार कोरोना संक्रमण भनेको श्वासप्रश्वाससँग सम्बन्धीत रोग हो र यसले मानिसको श्वासप्रश्वासलाई प्रभावित बनाउने हुँदा फोक्सोको बिरामी बढी जोखिममा हुन्छन् । त्यसमा पनि यदि फोक्सोको क्यान्सर भएका बिरामी छन् भने उनीहरु झन् बढी जोखिम हुने गरेको छ । फोक्सो भनेको श्वासप्रश्वाससँग जोडिएको सबैभन्दा महत्त्वपूर्ण पाटो हो । त्यसकारण बढी सुरक्षित हुनु पर्छ । 

यस्तै अर्को भनेको रगतको क्यान्सर जसलाई रक्त क्यान्सर पनि भनिन्छ । रक्त क्यान्सर भएका बिरामीलाई पनि कोरोना संक्रमणको जोखिम उच्च हुन्छ । कारण, रगतमा भएको न्यूट्रोफिल र लिम्फोसाइट कम भपछि मानिसमा रोगसँग लड्ने क्षमता कमजोर हुँदै जान्छ र उसलाई कोरोनाको संक्रमण हुने गर्छ । यदि यस्ता बिरामीमा कोरोनाको संक्रमण देखियो भने उनीहरुमा गम्भीर समस्या पन िनिम्तिने र मृत्युसमेत हुन सक्छ । 

न्यूट्रोफिल र लिम्फोसाइट सेतो रगत (व्हाइट ब्लड सेल्स) मा पाइने एक प्रकारको कोष हो । जसले रोगसँग लड्ने क्षमतालाई बढाउने काम गर्छ । यदी ऐब्सलूट न्यूट्रोफिल कोषहरुको संख्या मानिसको रगतमा १ हजारभन्दा कम छ भने त्यस्ता व्यक्तिमा कोरोनाले छिट्टै संक्रमण गराउने साम्भावना रहन्छ । क्यान्सरका बिरामीमा यी कोषहरुको मात्रा कम हुने सम्भावना धेरै हुने हुँदा उनीहरुको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र कोरोनाको उच्च जोखिममा पर्ने हुन्छन् ।

त्यसकारण कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि क्यान्सरका बिरामीले अन्य बिरामी जस्तै  नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पालना गर्नुपर्छ भने खानपानमा ध्यान दिने र नियमित चिकित्सकको सम्पर्कमा रहनु पर्छ । 

डा. शाहीले क्यान्सर रोगको उपचार पत्ता लागिसकेको र औषधि पनि बनिसकेकाले बिरामीहरु ढुक्क हुने अवस्था आइसकेको बताउँछन् । 

कोरोनाको कुरा फरक रहेको र हालसम्म खोप बाहेक अन्य कुनैपनि ठोस औषधि वा उपचार विधि यहि नै हो भनेर पत्ता नलागेकाले क्यान्सरका बिरामीले पनि कोरोनाविरुद्धको खोप लगाउनु पर्ने डा. शाही सुझाव दिन्छन् ।

कोरोनाविरुद्धको खोप क्यान्सरका बिरामीलाई दिने वा नदिने अथवा दिने नै हो भने कुन अवस्थामा दिने भन्ने विषयमा अझैपनि क्यान्सरका बिरामी र परिवारका सदस्यहरुको मनमा प्रश्नहरु उठिरहेको देखिन्छ । यी प्रश्नहरुको जवाफमा डा. शाही भन्छन्, ‘कुनैपनि रोगबाट जोगिनका लागि उपचार वा औषधि नै उत्तम विकल्प हो । त्यसकारण कोरोनाविरुद्धको खोप पनि एक मात्रै विकल्प हो । जसलाई लगाएपछि क्यान्सकार बिरामीपनि सुरक्षित हुन सक्छन् ।’

क्यान्सरका बिरामीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा डा. शाही यस्तो सुझाव दिन्छन्ः
सबैभन्दा पहिले त क्यान्सरका बिरामीलाई कोरोनाविरुद्धको खोप लगाउने समूहमध्ये प्राथमिकतामा राखेर खोप दिन मिल्छ । किनकी उनीहरुको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा संक्रमणको जोखिम उच्च हुन्छ ।

यस्तै कोरोनाविरुद्धको खोप एक्टिभ केमोथेरापी लिइरहेका बिरामीलाई पनि दिन सकिन्छ । तर, किमो लिनुभन्दा ३/४ दिन अगाडी वा पछाडी लिन मिल्छ ।

टार्गेटेड थेरापी लिइरहेका बिरामी, इम्युनो थेरापी लिइरहेका बिरामीलाई पनि कोरोनाविरुद्धको खोप दिन मिल्छ । तर, ३/४ दिनको अन्तरालमा । अर्को भनेको मुख्य अप्रेशन गर्नुपर्ने क्यान्सरका बिरामी छन् भने उनीहरुलाई अप्रेशन गर्ने दिनमा खोप लगाउनु हुँदैन । तर, अप्रेशन गरेको ३–४ दिनपछि खोप लिन मिल्छ । अथवा अप्रेशन गर्नुभन्दा ३÷४ दिन अगाडी पनि खोप दिन मिल्छ ।

यस्तै बोनम्यारो प्रत्यारोपण गरेका बिरामी तथा सेलुलर थेरापी, अंग प्रत्यारोपण गरेका बिरामीहरुको हकमा चिकित्सकसँगको परामर्श गरेर कम्तिमा ३ महिनापछि कोरोनाविरुद्धको खोप लगाउन मिल्छ ।

यस्तै इन्टेन्सिभ क्यान्सर किमो थेरापी लिइराखेका बिरामीको हकमा एप्सोलेट न्यूट्रोफिल  काउन्ट सामान्य भएपछि मात्र कोरोनाविरुद्धको खोप दिन मिल्छ । जबकी बोनम्यारो फेलियर अर्थात बोनम्यारोले काम गर्न नसकेर औषधि उपचार गरीरहेका बिरामीलाई पनि कोरोनाविरुद्धको खोप दिन मिल्छ ।

त्यसैगरी, लामो समयदेखि क्यान्सरको औषधि सेवन गरिरहेका तर स्वास्थ्य अवस्था सामान्य भइसकेका क्यान्सरका बिरामीहरु अर्थात क्रोनिक माइलोइड ल्युकेमियाकालाई पनि कोरोनाविरुद्धको खोप लगाउन मिल्छ ।

डा. शाहीले कोरोना महामारीका कारण विभिन्न अस्पताल जहाँ क्यान्सरको बिरामीको उपचार हुने गरेको छ, त्यहाँ कोरोनाको पहिलो लहरमा पनि र दोस्रो लहरमा पनि उनीहरुको उपचार बन्द गरिएको पाइएको बताउँछन् । उनी भन्छन्, ‘उपचार जानेर रोकिएको त होइन, बिरामीको सुरक्षालाई नै ध्यानमा राखेर यस्तो निर्णय गरिएको हुन सक्छ । तर, संक्रमण हुन सक्छ की भन्ने डर भएको अवस्थामा अस्पताललाई पूर्ण निसंक्रमण गरेर क्यान्सरका बिरामीलाई उपचार दिनु पर्छ । उनीहरुको उपचार रोकियो भने क्यान्सर थप जटिल अवस्थामा पुग्दा जोखिम हुन सक्छ ।’ 

अन्त्यमा क्यान्सरका बिरामीलाई यदि कोरोनाको संक्रमण भइहाले पनि आत्तिनु हुँदैन । बरु होसियार भएर बस्नु पर्छ । क्यान्सरका बिरामी र परिवारका सदस्यहरुपनि सचेत हुनुपर्छ । क्यान्सरका बिरामीलाई कोरोना संक्रमण देखिएपछि चिकिस्तकसंग सम्पर्कमा रहने र परामर्श लिनुपर्छ । अवस्था हेरेर घरमै बस्ने वा अस्पताल जाने भन्ने कुरालाई ध्यानमा राख्नु पर्छ । तर, खुसीको कुरो यो छ कि, कोरोनाको संक्रमण भएर पनि क्यान्सरका बिरामीहरु निको भएका छन् भने अहिले पनि निको हुने क्रम जारी छ । त्यसकारण क्यान्सरका बिरामीमा यदि कोरोनाको संक्रमण देखियो भने आत्मविश्वास बलियो बनाउनु पर्छ । घर परिवारले पनि आत्मविश्वास बलियो बनाएर हौसला दिने काम गर्नुपर्छ ।

डा. शाहीले बी एण्ड बी हस्पिटलमा कोरोनाको महामारी जारी रहेपनि क्यान्सरका बिरामीको उपचार नरोकिएको बताए । उनले बी एण्ड बी मा क्यान्सरका बिरामीलाई यदि कोरोना देखिएको छ भने पनि अस्पतालले उपचार गर्ने गरेको र उनीहरु स्वस्थ भएको पनि सुनाए ।

 

(डा.शाही बी एण्ड बी अस्पतालमा कन्सल्टेन्ट मेडिकल अङ्कोलोजीस्टको रुपमा कार्यरत छन्) 

Last modified on 2021-06-13 19:07:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts