बाढीपहिरो र वर्षायामः स्वास्थ्य जोखिम



Download our app to get more features

देश यतिबेला बाढी र पहिरोको प्रकोपको चपेटामा छ । हरेक वर्ष देखिने यस्ता प्राकृतिक प्रकोपहरुबाट जनधनको ठूलो क्षति त भइरहेको छ नै, यसबाट आम जनस्वास्थ्यमा सम्भावित जोखिम पनि बढ्ने गरेको छ ।

बाढी पहिरो लगायतका प्राकृतिक बिपत्तिपछि विभिन्न रोगको महामारी देखा परेर त्यसले भयानक स्थिति देखा परेका उदाहरण प्रसस्त छन् । यस्तो विषम परिस्थितिको बेला प्रकोप प्रभावित क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण र सरकारले पनि विशेष सावधानी अपनाउन जरुरी छ । साथै वर्षायामको बेला देखिने यस्तै प्रकारका रोगबाट बच्न हामी सबैले विभिन्न स्वस्थ उपायहरु अपनाउन जरुरी छ ।

के कस्ता स्वास्थ्य समस्याहरु देखिन सक्छन ?

बिशेषत बाढी पहिरोलगायतका प्राकृतिक प्रकोप प्रभावित क्षेत्र र वर्षायाममा पानीबाट संक्रमण हुने रोगहरुको महामारी देखिने सम्भावना बढी हुन्छ । पानीजन्य संक्रमणबाट लाग्ने रोगहरु यसप्रकार छन् । 

झाडापखाला 

हैजा

आँउ 

टाइफाइड 

हेपाटाइटिस ए, इ आदि 

यी रोगहरुले एक जनालाई मात्रै पनि संक्रमण गरेमा पुरै बस्ती वा गाउँमा त्यस रोग फैलिन सक्छ । अन्त्यमा गएर त्यस रोगले ठुलै महामारीको रुप पनि लिन सक्छ ।

कसरी सर्छन् रोगहरु

पानीजन्य संक्रमणबाट लाग्ने रोगहरु मुख्य रुपमा दुषित पानी वा खानाको माध्यमले संक्रमित व्यक्तिबाट स्वस्थ मानिसमा सर्न सक्छ । संक्रमित मानिसको दिसाबाट त्यो किटाणु पानी वा अन्य खाद्य वस्तुमा मिसिन जान्छ र स्वस्थ मान्छेले त्यो खाएमा रोगबाट संक्रमित हुन जान्छ । यस्ता किटाणुहरु पानी तथा खानामा लामो समयसम्म जीवितै बस्न सक्ने हुनाले संक्रमण एक व्यक्तिबाट अन्यमा र अरु ठूलो जनसंख्यामा फैलिने संभावना एकदमै धेरै हुन्छ ।

रोगका लक्षणहरु 

भिन्न भिन्न रोगहरु अनुसार लक्षणहरु फरक फरक भए पनि बिरामीहरुमा मुख्य गरी निम्न समस्याहरु देखा पर्छन् । 

झाडापखाला लाग्ने 

वान्ता हुने

पेट दुख्ने 

ज्वरो आउने

खाना मन नलाग्ने

आँखा गड्ने 

तिर्खा लाग्ने र मुख सुख्खा हुने 

तौल घट्ने

बच्ने उपाय

सफा पानी पिउनेः शुद्दिकरणको विभिन्न तरिकाहरुबाट पानीलाई निर्मलीकरण गरेपछि मात्र पिउन योग्य हुन्छ । पानीलाई उमाल्ने, फिल्टर गर्ने, क्लोरिन लगायतका केमिकल हालेर शुद्दिकरण गर्ने, र पानी घाममा सुकाउने सोडिस प्रविधीबाट पानीलाई शुद्दिकरण गर्न सकिन्छ ।

हात धुनेः दिशा–पिसाव गरिसकेपछि, खाना पकाउनु र खानु अघि साबुनपानीले सहि तरिकाले मिचीमिची हात धुने ।

सफा खाना खानेः खानालाई छोपेर राख्ने र झिंगाबाट बचाउने । काँचै खाने खानाहरु काक्रो, मुला, सलाद आदिलाई सफा पानीले पखालेर मात्र खाने ।

घरवरीपरीको वातावरणः घरवारीपरीको वातावरण सफा राख्ने । चर्पी र घरको निश्चित दुरी कायम गर्ने । पानी जन्मे खाल्डाखुल्डीहरु छन् भने पुर्ने ।

पानी जन्य संक्रमण देखिएमाः परिवार वा छिमेकीमा कसैलाई झाडापखाला, वान्ता हुने आदि देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा उपचार गराइहाल्नुपर्छ । बिरामीबाट संक्रमण अरुमा सर्न नदिन विशेष सावधानी अपनाउनु जरुरी हुन्छ ।

प्राकृतिक प्रकोप र वर्षायाममा धेरै मात्रामा देखिने पानीजन्य संक्रमणबाट लाग्ने रोगहरु र महामारीबाट बच्न हामी सबैले माथि उल्लेखित स्वस्थ व्यवहार अपनाउन जरुरी छ ।
 

Last modified on 2016-08-01 07:23:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts