विश्व सिजोफ्रेनिया दिवस

मानिसको विचारमा समस्या ल्याउने 'सिजोफ्रेनिया' के हो ? जानौं परिवारको भूमिकाबारे



Download our app to get more features

मानव मनमस्तिष्कलाई गम्भीर रुपमा असर पार्ने रोगहरु मध्ये एक मुख्य सिजोफ्रेनिया पनि हो । सिजाफ्रेनियाले मानिसहरुमा विभिन्न समस्याहरु निम्त्याउने गर्छ । जसमध्येको मुख्य भनेको विचारमा समस्या ल्याउनु हो ।

समयमै लक्षण चिनौं :
मूलतःयसले व्यक्तिको विचारमा समस्या उत्पन्न हुन्छ । पीडित व्यक्तिहरुको विचार अनौठो, भ्रमपूर्ण, आधारहिन बुझिने, अस्पष्ट हुनसक्छ । गलत कुरामा आधारहिन र अनौठो पाराले विश्वस्त भई त्यसैअनुसार व्यवहार गर्ने हुँदा बडो अप्ठेरो परेको हुनसक्छ र पनि व्यक्तिमा त्यसको हेक्का रहँदैन । यस्तो खालको विचारको गम्भीर लक्षण मतिभ्रम हो र व्यक्तिमा विभिन्न खालका मतिभ्रम पैदा हुनसक्छ । पागलपनको अर्को मुख्य लक्षण हो आभास भ्रम, जसमा हुँदै नभएको र अरुले नदेखेको, नसुनेको, चाल नपाएको कुरा सुन्ने, देख्ने, गन्ध वा स्वादको अनुभव हुने आभासभ्रम उत्पन्न हुन्छ । 

स्किजोफ्रेनियामा प्रायःअरुले बिरामीको बारेमा कुरा काटेको, कुरा गरेको वा उसलाई आज्ञा दिएको आवाज लामो समयदेखि सुन्ने हुन्छ । यस्ता कतिपय पिडित रोगीहरुको बोली, ज्ञिचार र व्यवहार बुझ्न नसकिने खालको हुन जान्छ । त्यस्तै, अरु लक्षणहरु पनि हुनसक्छन् । यस्ता कतिपय बिरामीहरु समाजमा हेलमेल हुन, कुराकानी थाल्न र गर्न, काममा उत्साहित रहन नसक्ने पनि हुन्छन् ।

यथाशिघ्र उपचारमा लैजाऔं :
यदि यस्ता खालका अनौठा र कडा खालका लक्षणहरु कसैमा देखिएको छ भने अरु खालका उपचारको पछि नलागेर अबिलम्ब मनोचिकित्सकको सम्पर्कमा जान आवश्यक हुन्छ । नेपालमा पनि अब मनोचिकित्सकहरु ठाउँठाउँमा सेवारत छन् । यो यस्तो बिमारी हो जसमा यस्ता लक्षणहरु अभिव्यक्त वा प्रकट भई समस्या भएको बेलामा र पछि पनि औषधि सेवन गर्न अनिवार्य हुन्छ । यस रोगको उपचारमा औषधोपचारको प्रभावकारिता बढाउन र असर व्यवस्थापन गर्नका लागि मनोसामाजिक विधिहरु पुरक उपचार विधि हुन् ।   

उपचारको क्रममा आफ्नो भुमिकाबहन गरौं :
समयमै चिनेर उपचार गर्न सकिएमा यसबाट हुनसक्ने जटिलताहरु, जस्तैः विकलांगता, आत्महत्या, अरु कडा रुप लिने, नशालु पदार्थको दुव्र्यसन र अरु मनोविकृति हुने सम्भावना घटाउन बल पुग्छ । यसरी उपचारमा लाने अभिभारा पीडित व्यक्तिको परिवारजन, नातेदार, साथीभाई र सहकर्मिकहरुको हुनेगर्छ । यसो किनभने अरु रोगमा जस्तो यो रोगमा व्यक्ति आफूलाई बेचैनी र रोगको हेक्का नरहन सक्छ । रोगले सब कुरा लथालिंग, भताभुंग हुँदापनि व्यक्तिमा त्यसको शुद्धि वा ज्ञान रोगकै लक्षणका रुपमा नरहने हुनसक्छ । यस्तोमा बिरामीले उपचारमा लान खोज्दा शंका गरेर प्रतिकार र विद्रोह पनि गर्न सक्छ ।

बिरामी तथा कुरुवा आफ्नो पनि सुरक्षालाई ध्यानमा राखेर उपचारको खोजी जारी राख्नुपर्ने हुन्छ । समाजमा झण्डै सयकडा एकलाई सताउने भएपनि यस रोगको उपचार सबैतिर उपलव्ध नहुनसक्छ । सेवा उपलब्ध नजिकको संस्थामा लगेर उपचारको थालनी गर्नुपर्छ । अवस्थामा सुधार भई नियन्त्रणमा आएपछि चिकित्सकको सल्लाहमा घरैमा राखेर उपचार अगाडि बढाउन सकिन्छ । पछि लक्षणमा सुधार भएपछि पनि बिरामी र कतिपय परिवारजनले नबुझेर वा अरु कारणले दवाई छाड्ने र फलोअपमा जान छाड्ने गर्छन् । यसो गर्दा, रोग उल्टिने डर यो बिमारीमा अत्याधिक हुने कुरा ध्यानमा राख्नुपर्छ । त्यसैले, चिकित्सकको अनिवार्य निगरानीमा मात्र उपचारमा परिमार्जन गर्न गराउन परिवारजनको भुमिका निर्णायक रहने गर्छ ।

बिरामीलाई बहिरंग सेवामा ल्याउँदा साथमा आउने परिवारजनले संलग्न चिकित्सकलाई व्यक्तिको अवस्थाबारे राम्ररी बताएर आवश्यक जानकारी लिन जरुरी हुन्छ । रोग, उपचार विधि, सम्भावित आकस्मिक समस्या, खतरा सुचक लक्षण, बल्झिनबाट रोक्ने उपाय सहित् अबका दिनमा आफू र परिवार, नातेदार, साथीभाई र सहकर्मिहरुले निभाउन सक्ने भूमिकाबारे सम्बन्धीत व्यक्ति, यसबारे प्रकाशित भरपर्दा लेख, रचना वा पुस्तकको माध्यमबाट सुसुचित रहनु आवश्यक हुन्छ । अन्तरंग सेवामा रहँदा कुरुवाले यस्ता आवश्यक जानकारी लिने भरमग्दुर कोसिस गर्नु अझ लाभदायी र व्यवहारिक हुन्छ । नबुझकेको, प्रष्ट नभएको वा नजानेको कुरा यस सम्बन्धी जानकारबाट लिएर व्यवहारमा उतार्न पनि जरुरी हुन्छ ।

बिरामी व्यक्तिसँग उपयुक्त व्यवहार गरौं :
यो रोगमा वार्डमा भर्ती गर्न आवश्यक र मानसिक रुपमा असंतुलित अवस्थाका बिरामीले गरेका भनेका कुरालाई लिएर चित्त दुखाउनु उचित हुँदैन । त्यसो भनेर, पछि अवस्थामा सुधार भएपछि पनि त्यस्तै खालका अनुपयुक्त बोली व्यवहारप्रति आँखा चिम्लनु भनेको होइन । बरु, नरिसाइकन शान्तपूर्ण किसिमले औंल्याइदिन सकिन्छ । औषधि नियमित राख्न जति परिवारजनको दायित्व अहम् हुन्छ, त्यस्तै महत्वपूर्ण हुन्छ बिरामीप्रतिको तिनीहरुको व्यवहार र सोंचको असर । यस्ता बिरामीलाई गल्ती हुँदा बारम्बार र धेरै आलोचना गर्ने, गालीगर्ने पनि राम्रो होइन । त्यस्तै, बिरामी छ भनेर गर्नसक्ने काममा पनि लोलोपोतो गरेर निष्कृय राख्नुपनि ठीक होइन । सकेको काममा हौसला दिएर सक्रिय रहन र गल्ती नै भएको बेलामा पनि आलोचना गर्नुभन्दा पनि त्यसबाट पाठ सिकेर फेरिफेरि नदोह¥याउन सम्झाउन सकिन्छ । 

यसमा परिवारजन र साथीभाईले के कुरा सम्झिन जरुरी हुन्छ भने अझै पनि यस रोगका बिरामीलाई र परिवारजनलाई नै पनि मिथ्या र हेयको दृष्टिले हेर्ने प्रवृत्तिका कारण अनावश्यक तनाव सामना गर्नुपरेको हुन्छ । सबैले कम्तिमा आफ्नो तर्फबाट बिरामी र परिवारलाई यस्तो पुर्वाग्रह, विभेद र अन्याय नहोस् भनी सजग रहनुपर्छ । यस्ता बिरामीको हेरचार गर्ने व्यक्ति, परिवारलाई पनि आवश्यक सरसल्लाह, सहयोग, जानकारी, सेवासुविधा पु¥याउन यथासम्भव कोसिस हुन जरुरी हुन्छ । यस्तो जसलाई पनि हुनसक्छ र यो रोगका पीडित व्यक्ति र परिवारजनले सामाजिक सञ्जालमार्फत् सांगठनिक क्रियाकलापहरु सञ्चालन गर्नतिर पनिलाग्न जरुरी भएको छ ।

रोग नबल्झियोस् भनी सतर्क रहौं :
यो रोग नबल्झियोस् भनी लक्षण हराएकै अवस्थामा पनि यस्ता बिरामीले समयमा सुत्ने, उठ्ने र पर्याप्त सुत्ने गर्नुपर्छ । मात लाग्ने र नशालु पदार्थको सेवनबाट बच्नुपर्छ । तनाव व्यहोर्न बिरामीलाई सहयोग पु¥याउनुका साथै उनीहरुको मनोसामाजिक क्षमता वृद्धिका लागि आवश्यक वातावरण सृजना गर्नमा साथीभाई र सहकर्मिहरुले सकारात्मक भुमिका निभाउन जरुरी हुन्छ । अरु शारिरीक रोगहरुको पनि समयमै उपचार गर्न र यस्ता अवस्थामा आफूले सेवन गरी रहेका औषधिको बारेमा अरु चिकित्सकसँग पनि नलुकाई कुरा राख्नुपर्ने हुन्छ । बिरामीको क्षमता र अनुकूलता अनुसार जीवनशैलीमा परिवर्तन गर्न पनि आवश्यक हुन्छ र यसमा परिवारजनले साथ सहयोग पु¥याउन आवश्यक हुन्छ । परिवारजनले बिरामीमा यस रोगका लक्षणहरु आएको छ कि, निन्द्रामा गड्बड् भएको छ कि भनी होसियार रहनुपर्ने हुन्छ । त्यस्तै, औषधि वा रोगकै असर स्वरुप कहिलेकाहि आउन सक्ने समस्याहरुबारे पनि सचेत रहनुपर्छ । यस्तो अवस्थामा प्राथमिक उपचार वा उपाय स्वरुप गर्न सकिने कुरा संलग्न स्वास्थ्यकर्मिबाट सिकेर राख्ने र यथाशिघ्र स्वास्थ्य संस्थामा जाने पहल बिमारीको हेरचाह गर्ने व्यक्तिले गर्नु राम्रो हुन्छ ।   

पुनस्थापनाको वातावरण बनाऔं :
उपचारद्वारा सुधारोन्मुख र ठीक भएका व्यक्तिलाई क्षमता, सिप र शिक्षा अनुसार घरमा, काममा, समाजमा र पेशामा पहिले जस्तै क्रमशः सक्रिय हुने वातावरण बनाउनमा परिवारजन, सहकर्मि, साथीभाई, छरछिमेक, नातागोता सबैले आ आफ्नो तर्फबाट सरसल्लाह र सहयोग गर्न आवश्यक हुन्छ ।

 

(डाक्टर शाक्य वरिष्ठ स्नायु, दुर्व्यसन तथा मनोरोग विशेषज्ञ हुन्)

email- [email protected]

Last modified on 2021-05-24 09:12:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts