महामारीका समयमा पनि अनवरत बिरामीको सेवामा समर्पित नर्सलाई सम्मान
 
            आज विश्व नर्सिङ दिवस, कोरोना महामारीको समय बिरामीको सेवामा खटिएका नर्सहरुप्रति समर्पित भएर मनाइँदैछ । झन्डै डेढ वर्षदेखि कोरोना महामारीले विश्वलाई आफ्नो चपेटामा लिएपछि बिरामीको सेवामा दिनरात नर्सहरु खटिरहेका छन् । बिरामीको स्याहार सुसारका लागि नर्सहरुले आफ्नो घरपरिवारलाई भन्दा बढी महत्त्व दिएर काम गरिरहेका छन् । बिरामीको उपचारमा खटिँदै गर्दा आफै पनि सङ्क्रमित हुने गरेका र ज्यान समेत गुमाउनु परेका नर्सहरुलाई सम्मान गर्नुपर्ने हुन्छ ।
नर्स भनेको स्वास्थ्य प्रणालीको परिवर्तनका संवाहक हुन् । जुन सुरुवाती दिनदेखि नै पुष्टि भएको छ । आज पनि बिरामीहरुको सम्पूर्ण जिम्मेवारी नर्सको काँधमा हुन्छ । नर्सहरुको लगनशिलता र कठिन परिश्रमले नर्सिङ पेशालाई थप विशिष्ट बनाएको छ । मानिसको स्वास्थ्य र समग्र स्वास्थ्य क्षेत्रमा नर्सिङ पेशाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
वर्तमान अवस्थामा कोरोना महामारीको क्रममा बिरामीको सेवामा खटिदा नर्सहरु पनि कोरोनाको चपेटामा आए । तर, यस विषम् परिस्थितिमा पनि नर्समाथि गरिएको दुर्व्यवहारकाबीच उनीहरुले कहिले बिरामीको सेवा नगर्ने भनेनन् । उल्टै आफ्नो र आफ्नो घर परिवारको ज्यान जोखिममा पर्न सक्ने थाहा हुँदा हुँदै सेवामा खटिरहे ।
हालको अवस्थामा कोरोनाबारे मानिसहरुको धारणमा परिवर्तन भइसकेको छ । तर, कोरोनाको सुरुवाती क्रममा कोरोना सङ्क्रमित बिरामीको सेवा खटिने नर्सलाई दुर्व्यवहार गर्ने, डेरा गरेर बसेका नर्सहरुलाई घरबाट निकाल्ने, नर्स आफै सङ्क्रमित हुँदा उनका परिवारजनलाई दुर्व्यवहार गर्ने क्रम बढ्दो थियो भने हालको अवस्थामा अर्थात् कोरोनाको दोस्रो चरणको लहरमा त्यस्तो अप्रिय घटना भएको छैन । जुन राम्रो कुरा हो ।
कोरोना महामारीको यस अवस्थामा नेपालका मात्रै होइन विश्वभर कै नर्सहरु सेवामा खटिरहँदा उनीहरुले आफूलाई बिरामीकै सेवामा समर्पित गरिसकेका छन् । सेवा नै धर्म हो मान्यताका आधारमा नर्सहरु दिनरात बिरामीको सेवामा खटिरहँदा बिरामीकै परिवारजन र आफन्तजनबाट बेला बेला नर्सहरुमाथि हुने दुव्र्यहारले मनोबल कमजोर बनाउने गतिविधि भने अझै रोकिएको छैन ।
मुलुक मात्रै होइन विश्व नै यस्तो मोडमा छ, जहाँ बिरामीको बिचल्ली हुँदा र मृत्यु हुँदा नर्स र अस्पतालमाथि दोष लगाइन्छ । नर्सले बिरामीको सेवामा पर्याप्त ध्यान दिएन त्यसैले मृत्यु भयो भन्दै अझै पनि आक्रमण र दुव्र्यवहार हुने गरेको छ । जुन पक्कैपनि सह्य हुने कुरा होइन । हामी यस्तो मुलुकमा छौं, जहाँ बिरामी अनुपातको नर्स छैन । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जनरल वार्डमा ५ जना बिरामी बराबर एक जना नर्स, प्रसूति कक्षमा एक बिरामी बराबर दुई जना नर्स, शल्यक्रिया कक्ष (अपरेसन थिएटर) मा १ बिरामी ३ जना नर्स, आईसीयू, सीसीयूमा एक नर्स एक बिरामी, हाइकेयरमा दुई बिरामी एक नर्स हुनुपर्ने व्यवस्था छ । तर, नेपालमा ५० देखि ६० जना बिरामीका लागि एक जना नर्स छन् । जसले गर्दा उनीहरुमाथि भार पर्ने र सबै बिरामीले पाउनुपर्ने सेवा स्याहार पाउन सकेका छैनन् ।
कोरोना महामारीको सुरुवाति चरणदेखि नै सरकारले नर्सहरुलाई जोखिम भत्ता दिने भनेर घोषणा गर्यो तर, हालसम्म पनि कतिपय नर्सहरुले जोखिम भत्ता पाउन सकेका छैनन् । कतिजना नर्सले जोखिम भत्ता पाएका छैनन् भन्ने विषयमा सरकारलाई सोध्दा तथ्यांक छैन । रकम निकासा गरिसक्यो भनेर जवाफ त दिन्छ सरकारले तर, नर्सले भत्ता पाए वा पाएनन् त्यसको खोजिनिती गर्दैन ।
अर्को भनेको करारमा भर्ना गर्ने भन्दै आवदेन खुलाउने सरकारले नर्सहरुलाई स्थायी दरबन्दी खुलाएर सोझै भर्ना नगर्दा पनि नर्सहरुको मनोबल कमजोर भएको छ । देशभर रहेका ९६ हजारभन्दा बढी नर्सको सही सदुपयोग गर्ने बेला यहि नै हो तर, सरकारले नर्सहरुको स्थायी दरबन्दीका लागि कुनै चाँसो दिएको छैन । भएका सेवा सुविधा पनि कटौती गरिदिँदा नर्सहरुको बिचल्ली हुने गरेको छ ।
सरकारले नर्सलाई केन्द्रीत गरे विभिन्न कार्यक्रम ल्याएका छन् । तर, ती कार्यक्रमहरु प्रभावकारी हुन नसक्दा पनि नर्सहरु कामबिहीन वा भनौं बेरोजगार बसिरहेका छन् । घन्टौंसम्म हावा समेत छिर्न नसक्ने, खाना र पानी समेत पिउन नसक्ने, शौच समेत जान नपाइने पीपीई लगाएर आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी बिरामीको रेखदेखमा खटिएका नर्सले गरेको कामको सम्मान हुनुपर्छ ।
जनस्वास्थ्यकर्मीका नाताले नर्सहरुले अस्पतालमा मात्र नभई बिरामीको परिवार र समाजलाई पनि हेरचाह एवं परामर्श सेवा दिने गर्छन् । बिरामीसँग निकट भै सेवा प्रदान गर्ने भएकाले पनि नर्सिङ पेशाको आवश्यक्ता झनै बढेको छ । अहिले प्रत्येक परिवारले उनीहरुको हेरचाह गर्न घरैमा एकजना नर्स भइदिओस् भन्ने चाहना राख्छन् । यसलाई सम्मानजनक पेशा मानिएपनि उनीहरु आर्थिक शोषणको शिकार बन्न बाध्य छन् ।
नेपालमा करिब ९५ हजार नर्स छन् । सरकारी र निजी क्षेत्रबाट गरी प्रत्येक वर्ष करिब पाँच हजार जना नर्स उत्पादन हुन्छन् । यी मध्ये अधिकांशले जागिर पाउँदैनन् । अस्पतालहरुले पनि धेरै अनुभवी र क्षमतावान नर्सहरु खोज्छन् । नयाँ एवं अनुभव नभएका नर्सहरु घरमै बस्न बाध्य छन् । पछि गएर जागिर पाउने आशमा धेरै नर्स स्वयंसेवीका रुपमा अस्पतालहरुमा काम गर्न बाध्य छन् । पैसा हुनेहरु थप अध्ययनका लागी विदेश जान्छन् भने केही नर्सले मात्र नेपालको निजी मेडिकल कलेज एवं अस्पतालमा जागिर पाउँछन् ।
नर्सहरुको बढ्दो विदेश पलायनले नेपालमा क्षमतावान नर्सहरु बढ्न सकेका सकेका छैनन् भने पुराना नर्सहरु प्रतिस्थापन हुन सकेका छैनन् । विकसित मुलुकहरुले नेपाल जस्ता विकासउन्मुख राष्ट्रबाट क्षमतावान नर्सहरु लानु पनि अर्को समस्या हो । विदेश जाने मोहका कारण पनि नया पुस्ता नर्सिङ पेशातर्फ आकर्षित छन् । उनीहरुले विदेश गएर थप तालिम र शिक्षा लिनुपर्ने हुन्छ । विदेश पलायन हुनुका मुख्य कारणहरुमा महत्वाकांक्षा, थप अध्ययन, स्वदेशमा रोजगारीको अभाव, असन्तुष्टी र विदेशमा प्राप्त हुने थप पैसा र सुविधा हो ।
यतिमात्र हैन, नर्सहरु राम्रो कमाई र पेशागत सन्तुष्टीका लागी खाडी मुलुक जस्तै, दुबई, मलेशिया पनि जाने गरेका छन् । उनीहरुले अस्पताल र नर्सिङ होममा अझै जागिर पाएका छैनन् । उनीहरु अझै होमकेयर नर्सिङमै सीमित छन् । जसले गर्दा उनीहरुमाथि घरेलु कामदारको व्यवहार हुने गरेको छ ।
कम क्षमतावान नर्सहरु उत्पादन हुनुका कारण पनि अस्पतालहरुले विश्वास नगर्ने वातावरण बनेको छ । सबै नर्सिङ कलेजको आफ्नै अस्पताल नहुनाले पनि क्षमतावान नर्स उत्पादन हुन नसकेको अवस्था छ । भर्खरै पढाई सिध्याएका नर्सहरुले धेरै अस्पतालमा बिना पैसा काम गरेको देखेको छु । कुनै अस्पतालले भने पकेट खर्चका नाममा २–३ हजार दिनेको गरेको पनि पाइएको छ । यो भनेको नर्सिङ शिक्षा, उनीहरुको ज्ञान र क्षमताको अवमूल्यन हो ।
२४ घण्टे ड्युटी र विभिन्न सत्रमा परिवर्तन हुने ड्युटीले घरपरिवारमा पनि समस्या निम्त्याउने गर्छ । जसले गर्दा धेरै नर्सले आफ्नो पेशा परिवर्तन गर्न बाध्य हुने गरेका छन् । कामको भार, अत्याधिक बिरामीको सेवा तथा कामको जस नपाउने कारणले पनि उनीहरु आफ्नो पेशाप्रति सन्तुष्ट हुन सकेका छ्रैनन् । नर्सिङ पेशाको पेशागत सुरक्षा र थप अध्ययन एवं वृतिविकासको अभाव पनि यसको अर्को कारण हो ।
नेपालमा नर्सहरुलाई कम पैसामा काम लगाउने कारणले विदेश पलायन हुने संख्या बढ्दो छ । केही नर्सले मसँग भने अनुसार उनीहरुले ६ देखि १४ हजारमात्र तलव पाउने गुनासो गरेका छन् । बिएन पास गरेकाले मात्र बढीमा २० हजार पाउने गरेको तीतो यर्थाथ छ । तर, पिसीएल पढ्न तीन लाख र बिएस्सी नर्सिङ पढ्न १२ लाख वा सोभन्दा बढि पैसा लाग्छ ।
अन्त्यमा, नर्सिङ पेशा महान र प्रतिष्ठित छ । मानव सेवा र हेरचाह त्यति सजिलो विषय होइन । यसका लागि कडा मिहिनत र लगनशिलता चाहिन्छ । महामारीको यस परिस्थितिमा नर्सले गरेको योगदान र सेवालाई सम्मान गर्नुपर्छ । उनीहरुले गर्ने सेवा नै बिरामीको जीवनदानको कारण हो ।
सबैलाई विश्व नर्सिङ दिवसको शुभकामना !  
                
                
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                 
                
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।