के लामखुट्टेको टोकाइबिनै पनि सर्छ औलो ? यस्ता छन् बच्ने उपाय
आज विश्व औलो दिवस । सरकारले अन्य वर्ष झै यस वर्ष भव्य कार्यक्रमको आयोजना नगरि मनाउने भएको छ । "शून्य औलोको लक्ष्यमा पुग्दैछौ” मूल नाराका साथ सरकारले आज दिवस मनाउने तयारी गरेको छ ।
सरकारले सन् २०२५ सम्ममा मुलकलाई औलोमुक्त राष्ट्रका रुपमा पुर्याउने उद्देश्य लिएको छ । सोही उद्देश्यका साथ औलोका विषयमा विभिन्न क्रियाकलाप पनि गर्दै आएको छ । तर, सरकारका क्रियाकलाप गत एक वर्षदेखि कोरोना महामारीका कारण प्रभावित बनेको छ ।
कोरोना महामारी सुरु भएको वर्ष सरकारले बनाएका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा औलो रोग देखिएको थियो । तर, हाल यो रोगबाट संक्रमित हुने र मृत्यु हुने दर भने स्थिर जस्तै छ ।
नेपालमा विशेषगरी सुदरपश्चिम भेगमा औलाका बढी बिरामी देखिन्छन् । यसमा पनि कैलाली जिल्लामा मलेरियाका बिरामी बढी भेटिन्छन् ।
कसरी सर्छ औलो ?
औलो रोग विशेषगरी एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्छ । लामखुट्टेको टाकाइबाहेकका कारणले पनि औलो सर्छ ।
जसमा बिरामी आमाले बच्चा जन्माएमा, अंग प्रत्यारोपण गर्दा, औलाका बिरामीको रगत अर्को व्यक्तीमा हाल्दा, असुरक्षित सुइहरुको प्रयोग गरेमा पनि औलो सर्छ । तर, प्रत्यक्ष रुपमा मानिसबाट मानिसमा औलो सर्दैन ।
कति किसिमका औलो ?
खासगरि औलो पाँच किसिमका रहेका छन् । यसअघि चार किसिमका औलो रहेकोमा पछिल्लो समय दक्षिण एसयाली मुलुक कम्बोडियामा प्लाजमोडियम नलेसी नामक औलो भेटिएको छ । योसहित प्लाजमोडियम भाइभेक्स, प्लाजमोडियम ओभाले, प्लाजमोडियम फल्सिपारम र प्लाजमोडियम मलेरिएगरी हाल पाँच किसिमका औलो रहेका छन् ।
यी औलो परजीविमध्ये दुई परजीविहरू प्लाज्मोडियम फाल्सिपेरम र प्लाज्मोडियम भाइभेक्स जातका परजीवि मात्र नेपालमा पाइन्छ ।
जसमध्ये पनि प्लाज्मोडियम भाइभेक्स सबभन्दा बढी देखिन्छ । प्लाजमोडियम फल्सिपारमले गराउने औलो रोग बढी कडा र खतरनाक हुन्छ । यसले मानिसको स्नायु प्रणालीमै असर गर्ने हुँदा बढी घातक मानिन्छ ।
चुनौती
तराई क्षेत्रमा मात्रै नभएर पहाडी÷हिमाली क्षेत्रमा पनि औलो रोग देखिने थालेको छ ।
जलवायु परिवर्तन तथा तापक्रम बढ्दै गएकाले हिमाली क्षेत्रमा समेत लामखुट्टेहरु देखिन थालेका छन् । यसकारण ती क्षेत्रमा पनि औलो जोखिमको सम्भावना रहेको छ ।
तापक्रमकै वृद्धिका कारण तराईका लामखुट्टे विभिन्न माध्यमबाट पहाडी तथा हिमाली क्षेत्रमा पनि समेत जान थालेको छ । यो अहिले चुनौतिको विषय बनेको छ ।
नेपालमा दुई किसिमबाट औलोको परिक्षण
औलो रोग समयमै पत्ता लागेमा सहजै उपचार गर्न सकिन्छ ।
ज्वरो आएका बिरामीलाई रगत जाँच गर्ने र संक्रमण देखा परे तत्काल उपचार गरिन्छ । नेपालमा दुई किसिमबाट औलोको परीक्षण गर्ने गरिन्छ । नेपालमा औलो रोगको लक्षणहरुका आधारमा र्यापीड डाइग्नोसिस टेस्ट र सूक्ष्मदर्शक यन्त्रद्वारा रगत जाँच गरी औलो रोग भए नभएको परीक्षण गरिन्छ ।
परजीवीको प्रकारअनुसार रोगको उपचार पनि फरक–फरक किसिमबाट हुनेगर्छ । चिकित्सकको सल्लाअनुसार पूर्णरुपमा औषधि सेवन गर्नुपर्छ ।
नेपालमा औलो रोगको उपचारका लागि विभिन्न थरिका औषधि सरकारको तर्फबाट निःशुल्क उपलब्ध छ । स्वास्थ्य मन्त्रालय मातहतका स्वास्थ्य संस्थामा औलो रोगको जाँच तथा उपचार पनि निःशुल्क छ ।
औलो रोगका लक्षण :
औलो रोगका परजीवी भएको लामखुट्टेले टोेकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुने लगायतका सामान्य लक्षण देखिन्छन् ।
साथै निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका भित्री अंगहरु फियो÷कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृति अनुसार विभिन्न लक्षण देखा पर्दछ ।
यो रोगले गम्भीर रूप लिएमा मानिसको ज्यान समेत जान सक्ने सम्भावना हुन्छ ।
धेरैजसो कामको सिलसिलामा बाहिर गएका व्यक्तिले यस्ता रोग लिएर आउँछन् । विशेषगरी औलोको जोखिम बढी भएको भारतबाट आएका व्यक्तिले औलो रोग ल्याउँछन् । यससँगै अफ्रिकन मुलुकहरुमा पनि औलोको जोखिम बढी भएको हुँदा त्यहाँबाट फर्किएका व्यक्तिले पनि यो रोग लिएर आउँछन् ।
कसरी बच्ने ?
औलोको जोखिम कम गर्न सबैभन्दा पहिला लामखुट्टे आउने माध्यम बनाउनु हुँदैन । यसका लागि घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्नुपर्छ ।
यससँगै औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्ने हुन्छ। लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कनुपर्छ ।
राति सुत्दा सधैँ झुल प्रयोग गर्नु औलोबाट बच्ने प्रमुख उपाय हो ।
शरीरका खुला अंगमा लामखुट्टेबाट बच्न सकिने मलम प्रयोग गर्न सकिन्छ । स्प्रे, लिक्वड, म्याट जस्ता लामखुट्टे भगाउने औषधि प्रयोग गर्न सकिन्छ । यसैगरी प्रत्येक समुदायमा औलो सम्बन्धी जनचेतना फैलाउन अति आवश्यक छ । साथै शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा औलो रोगबाट बच्न सकिन्छ ।