९० प्रतिशत मिर्गौला बिग्रिएपछि मात्रै लक्षण, यी कुरामा ध्यान दिन डा.राणाको आग्रह
आज विश्व मिर्गौला दिवस, दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
यसै क्रममा मिर्गौला सम्बन्धी रोगको विषयमा जनचेतना फैलाउने, मिर्गौला सम्बन्धी रोगको सेवा प्रदान गर्दै आएको मार्क इन्टन नेशनल किडनी सेन्टरले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
सेन्टरले आज वकाथोन, रक्तदान, निः शुल्क मिर्गौला परीक्षण लगायतका कार्यक्रमको आयोजना गरेको छ ।
मिर्गौला सम्बन्धी समस्या हुनु भनेको पछिल्लो समय सबैले बुझ्न थालेका छन् । तरपनि मिर्गौलामा समस्या किन हुन्छ र कसरी जोगिन सकिन्छ भन्नेमा मानिसहरु अझै सचेत र जानकार हुन सकेका छैनन् ।
सेन्टरका अध्यक्ष तथा मिर्गौला रोग विशेषज्ञ डा. अर्चन शमशेर राणाका अनुसार मिर्गौला रोगको समयमै पहिचान हुन सके मानिस स्वस्थ हुन सक्छ ।
मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ । यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ । यही महत्वपूर्ण अंगमा देखिने रोगलाई नै मिर्गौला रोग भनेर चिनिन्छ ।
डा. शमशेरले पछिल्लो समय मिर्गौला सम्बन्धी रोग विश्वमा मात्रै नभई नेपालमा पनि बढ्दै गएको बताए । उनले नेपालमा मिर्गौलाका बिरामीलाई सरकारले डायलासिस निः शुल्क गरेको भएपनि मिर्गौला सम्बन्धी रोग लाग्नै नदिनका लागि मानिस अझै सचेत हुन नसकेको बताए ।
उनले स्वास्थ्य परीक्षण नगरी सुरुवाती चरणमा मिर्गौला बिग्रिएको थाहा नहुने भन्दै ९० प्रतिशत मिर्गौला बिग्रिएपछि मात्र बिरामीमा लक्षणहरु देखिने गरेको उल्लेख गरे ।
मिर्गौला बिग्रिएपछि शरीर सुन्निने, पिसाब गन्हाउने, छाला सुक्खा हुने, शरीर चिलाउने, पिसाब धेरै हुने वा पिसाब राम्रोसँग नहुने जस्ता लक्षणहरु देखिने गरेको उनले बताए । तर, यी लक्षण देखिनु अगावै समय समयमा परीक्षण गर्नुपर्ने डा. शमशेरले सुझाव दिए ।
डा. शमशेरका अनुसार मिर्गौला बिग्रिनुका प्रमुख कारणहरु यस्ता छन् :
- उच्च रक्तचाप
- मधुमेह
- मिर्गौलामा हुने नेफ्राइटिस (पिसाबबाट प्रोटिन जाने रोग)
- मिर्गौलामा संक्रमण भएमा
- मिर्गौलामा पत्थरी भएमा
- प्रोस्टेटको समस्या भएर पिसाब रोकिने समस्या भएमा
- पाठेघर खस्ने समस्याले पिसाब रोकिएमा
- लुपस
- वंशाणुगत
- जथाभावी रुपमा औषधि सेवन गर्दा
मिर्गौला स्वास्थ छ वा छैन कसरी थाहा पाउने :
पिसाबमा प्रोटिन गएको छैन भने मिर्गौला सम्बन्धी रोग लागेको हुनसक्छ । त्यसैले पिसाव सम्बन्धी समस्या छ भने मिर्गौला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । मिर्गौलामा खराबी छ वा छैन भनेर रगतमा क्रियाटिनिनको मात्रा परीक्षण गर्न सकिन्छ ।
यदी रगतमा क्रियाटिनिनको मात्रा बढेको छ भने मिर्गौला विग्रिन सुरु भएको संकेत हुनसक्छ । यस्तै अल्टासाउण्ड तथा भिडियो एक्सरे गरेर पनि मिर्गौला बिग्रिएको छ/छैन । पत्थरी वा फोका आएको छ वा छैन । शरीरमा दुवै मिर्गौला छ वा छैन पत्ता लगाउन सकिन्छ ।
त्यसैले वर्षमा एकपटक परीक्षण गरेर मिर्गौला स्वस्थ छ वा छैन भनेर पत्ता लगाउन सकिन्छ । समय–समयमा स्वास्थ्य परीक्षण गराउदा मिर्गौलामा समस्या भएको समयमै पत्ता लगाउन सकिन्छ र समयमै उपचार गर्दा मिर्गौला जोगाउन सकिन्छ ।
मिर्गौला बिग्रन नदिन के गर्ने ?
- बिहान उठ्ने वित्तिकै पानी पिउने
- एकदिनमा ३ लिटरसम्म पिसाब लाग्ने गरी पानी खानुपर्छ
- हरेक दिन १० हजार पाइला हिड्नुपर्छ
- समयमा सुत्ने बानी गर्नुपर्छ
- बिहान समयमै उठ्ने बानी गर्नुपर्छ
- धेरै गुलियो तथा गुलियो पदार्थहरु नखाने
- मासु धेरै नखाने
- उमेर बढ्दै गएपछि मासु नखाने
- उमेर बढ्दै गएपछि दुध, दहि कम खाने
- मैदाको परिकारहरु सकेसम्म नखाने वा कम खाने
- दाल, भात, तरकारी तथा सागसब्जी खाने
- खाना खाने तथा खाजा खाने समयको रुटिङ हुनुपर्छ
- परिवारमा कसैलाई मिर्गौला सम्बन्धी रोग छ भने मिर्गौला परीक्षण गर्नुपर्छ
- आफ्नो उचाइ अनुसार शरीरको तौल मेन्टेन गर्नुपर्छ
- नियमित व्यायम गर्ने
उपचार
यसको उपचार भनेको मिर्गौला बिग्रिसकेपछि डायलासिस गर्ने र मिर्गौला प्रत्यारोपण गर्नु हो । तर, यो मिर्गौला बिग्रिसकेको अवस्थामा मात्रै हो ।