नुन कति फाइदाजनक वा हानीकारक ?
नुन भन्नाले हामीले सामान्यतया भोजनमा स्वादको निम्ती हालिने पदार्थ वा वस्तु भनेर बुझ्छौं । हामीले खाने नुन सोडियम र क्लोराइड नामको तत्वले मिलेर बनेको हुन्छ । प्याकेटमा पाइने आयो नुनमा हाम्रो शरीरलाई चाहिने आयोडिन पनि मिसाइएको हुन्छ । नुन धेरै खाने वा कम खाने बानी दुवै स्वास्थ्यको दृष्टिकोणले हाम्रो शरीरलाई हानीकारक छ ।
शरीरमा नुनको कामहरु
१. नुनमा भएको सोडियमले हाम्रो शरीरमा नसाबाट तरंगहरु एक भागबाट अर्को भागमा लान मद्दत गर्छ।
२. सोडियमले मुटु लगायतका शरीरका विभिन्न मांसपेशीहरु खुम्चिन मद्दत पुराउँछ ।
३. क्लोराइडले हाइड्रोक्लोराइड एसिड बनाउन मद्दत गर्छ जुन हाम्रो शरीरको पाचन प्रणालीको एक महत्वपूर्ण हिस्सा हो ।
४. क्लोराइडले हाम्रो शरीरमा अम्ल र क्षारको मात्रालाई पनि नियन्त्रण गर्छ ।
५. आयो नुनमा मिसाइने आयोडिनले थाइरोइड हर्मन बनाउन मद्दत गर्छ ।
बढी नुन खानुको बेफाइदा
नुन हाम्रो शरीरको लागि नभई नहुने तर थोरै मात्रामा चाहिने बस्तु हो । बढी नुन खानाले निम्न खाले विभिन्न स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ ।
१. उच्च रक्तचाप
२. मश्तिष्कघात
३. हर्टएट्याक
४. पेटको क्यान्सर
५. मोटोपना
६. पत्थरी र मृगौलाका समस्याहरु
नुन कति खाने ?
विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ वयस्क व्यक्तिले एक दिनमा पाँच ग्राम भन्दा कम नुन प्रयोग गर्नुपर्छ । त्यो भनेको हामीले भान्छामा प्रयोग गर्ने एक चम्चा जति हुन आउँछ । उच्च रक्तचाप भएका व्यक्तिहरुलाई एक दिनमा जम्मा तीन ग्राम वा आधा चम्चा नुन खाने सुझाव दिइन्छ ।
भान्छामा प्रयोग गरिने नुन बाहेक हामीले अन्य स्रोतबाट पनि सोडियम खाइरहेका हुन्छौं । विभिन्न फलफुल, जंक फुड, चिप्स, पापड आदिमा त्यसको मात्रा बढी रहेको हुन्छ ।
तसर्थ, बढी नुनबाट हाम्रो स्वास्थ्यमा हुने विभिन्न हानीबाट बच्न सोडियमको मात्रा अधिक भएको खानाको सेवन कम गर्नुपर्छ । साथै सलाद, फलफुल आदि काँचै खाने वस्तु खाँदा नुन छर्कने गर्नु हुदैन र भान्छामा तरकारीमा हालिने नुनको मात्रा पनि कम गरिनुपर्छ ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।