दार्चुलाको एक विद्यालयका छात्राहरु बेहोस हुन थालेपछि...
दार्चुलाको नौगाड गाउँपालिका–४ मा रहेका गणेश विनायक माध्यमिक विद्यालय सिप्टीमा अध्ययनरत छात्राहरु बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ ।
केही दिनयता दैनिकरुपमा ५/६ जना छात्राहरु बेहोस हुने समस्या देखिएपछि फागुन २० गतेसम्म २ दिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक कल्यानसिंह धामीले बताए ।
करिब एक हप्तादेखि माविमा अचानक छात्राहरु रुने, कराउने, काप्ने र बेहोस हुने समस्या देखिएको उनले बताए ।
सुरुमा ९/१० कक्षामा अध्ययनरत छात्राहरुमा यस्तो समस्या देखिएकोमा पछिल्लो सयम आधारभुत कक्षाका छात्राहरुमा पनि समस्या देखिन थालेको छ ।
छात्राहरु बेहोस भएपछि स्थानीय स्वास्थ्य संस्थामा लैजादा कुनै रोग नदेखिने तर विद्यालयमा एकाएक रोइकराइ गरेर बेहोस हुने अवस्था देखिएपछि स्थानीयहरुसँग छलफल गर्न विद्यालय बन्द गरिएको प्रधानाध्यापक धामीले बताए ।
यसअघि दार्चुलाका विभिन्न विद्यालयहरुमा छात्राहरु बेहोस हुन थालेपछि क्षमा पुजा गरिएको स्थानीयले बताएका छन् ।