इन्टरनेट र स्मार्ट फोनको लतले हुने असरबाट यसरी जोगौं
तपाईं इन्टरनेटमा धेरै समय भिडियो गेम खेल्नमा बिताउनु हुन्छ ? के तपाईं बाध्यात्मक हिसाबले अनलाइन सपिङ्ग गर्नु हुन्छ ? के तपाईं आफ्नो फेसबुकमा आउने सूचनाहरू घरिघरि हेर्नबाट आफुलाई रोक्न सक्नु हुन्न ? के तपाईंको यस्तो किसिमको बानीले दैनिक जीवन–काम, सम्बन्ध अथवा पढाईमा असर त परिरहेको छैन ? यदि तपाईंको उत्तर ‘हो’ भने तपाईंलाई इन्टरनेटको लत छ ।
विश्वव्यापी तथ्यांक हेर्ने हो भने आम जनसंख्याको करिब ३८ प्रतिशतमा यस्तो समस्या छ भने अमेरिकी तथा यूरोपेली देशमा जनसंख्याको ८ दशमलब २ प्रतिशतसम्ममा यो समस्या देखिएको विभिन्न अध्ययनले देखाएका छन् ।
इन्टरनेटको लतलाई यसरी वर्गीकरण गरिएको छ :–
१. नेट कम्पलसन अर्थात् अनलाईन सपिङ्ग धेरै गर्ने ।
२. अनलाइन गेम प्लेइङ एडिक्सन अर्थात इन्टरनेटमा धेरै गेम खेल्ने लत ।
३. साइबर सेक्सुअल एडिक्सन अर्थात् इन्टरनेटमा पाइने यौन उत्तेजनात्मक लेख, पोस्टर वा भिडियोको लत ।
४. साइबर रिलेसन एडिक्सन अर्थात् धेरै मात्रामा च्याट, म्यासेन्जर, फेसबुक, इन्स्ट्राग्राम वा इमेल जस्ता सामाजिक सञ्जालको प्रयोग गरिराख्ने लत ।
इन्टरनेट वा स्मार्ट फोनका लतले गर्ने असर
अरु मानसिक समस्यामा जस्तैः एउटा मात्रै कारण यसमा भन्न सकिदैन । इन्टरनेटको लत विभिन्न प्रकारका जैविक, मनोवैज्ञानिक तथा सामाजिक कारणको समिश्रणले गर्दा हुन सक्छ ।
मानसिक लक्षण
तनाव, चिन्ता तथा बेचैनी, उदासीनता ।
निन्द्राको समस्या ।
थकान महशुस हुनु ।
रक्सिको दुरुपयोग बढ्नु ।
कुनै कुरामा राम्ररी ध्यान केन्द्रित गर्न कठिन पर्ने वा कुनै नयाँ रचनात्मक कार्य गर्न गाह्रो पर्ने
ध्यान केन्द्रित गर्न समस्या हुने ।
शारीरिक लक्षण
ढाड दुख्ने ।
टाउको दुख्ने ।
घाँटी र गर्दन दुख्ने ।
आँखामा समस्या (सुख्खापन र देख्नमा समस्या) ।
खान मन नहुने ।
वजन वा तौल घट्ने ।
इन्टरनेटसम्बन्धी लत भन्नको लागि बिशेष गरि यति नै समय फोनमा बिताउनु पर्ने अथवा यति नै पटक सामाजिक सञ्जालमा आउने सूचना हेरिरख्नु पर्ने भन्ने छैन । तर जब यसले हाम्रो दैनिक जीवनका सम्बन्ध, काम वा पढाईमा असर गर्न थाल्छ त्यो बेला यसलाई समस्या मानिन्छ ।
यस्तो समस्याको संका लागेमा के गर्ने ?
१. सर्वप्रथम यो समस्या हो वा होइन भनेर पहिचान गर्ने । जबसम्म समस्या हो कि भनेर सोचिन्न तबसम्म उपचारको लागि अघि बढिन्न ।
२. व्यवहार परिमार्जन गर्ने
फोन वा इन्टरनेट कति समय चलाउने भन्ने कुरा दैनिकीका आधारमा निर्धारण गर्ने वा आफुले गर्नुपर्ने केहि कार्य सकेपछि सो सकेको इनामको रुपमा मात्र प्रयोग गर्ने ।
दिनमा केहि समयका लागि आफ्नो फोन बन्द गर्ने (जस्तैः गाडी चलाउँदा, खान खाँदा, बच्चाबच्चीसँग खेल्दा र बाथरुम जाँदा) ।
रातको समय सुत्न लाग्दा फोन प्रयोग नगर्ने ( फोनबाट उत्सर्जन हुने निलो किरणले निन्द्रामा समस्या ल्याउँछ ) ।
कहिलेकाही एक्लो रहँदा वा अल्छी लाग्दा फोन चलाउनबाट रोक्न गार्हो हुन सक्छ । यस्तो अवस्थामा अरु कुनै कार्यप्रति ध्यान केन्द्रित गर्ने (जस्तै ध्यान गर्ने, कुनै किताब पढ्ने वा कुनै साथीसँग गफ गर्ने) ।
फोन बाट फेसबुक, इन्स्ट्र, म्यासेन्जर, ट्वीटर जस्ता एपहरु हटाउने ।
कतिपय व्यक्तिमा बारम्बार फोन हेर्ने वा चलाउने बानी हुन्छ । यस्तो अवस्थामा फोनको प्रयोग गर्ने समयावधि बिस्तारै सिमित गर्दै लग्न सकिन्छ । (जस्तै पहिले १५ मिनेटको अन्तरमा सिमित राख्ने त्यसपछि ३० मिनेट अनि बिस्तारै १ घण्टा ।)
कहिलेकाही अलार्म राखी प्रयोग गर्ने समयअवधि निर्धारण गर्ने ।
माथि उल्लेखित तरिकाहरु बाहेक समस्याको अवस्था हेरी आवश्यकता अनुसार कग्निटिभ बिहेबियेर थेरापी जस्ता मनोवैज्ञानिक उपचार विधिको प्रयोग समेत गर्नुपर्ने हुन सक्छ ।