हे उपबुज्रुकहरु हो ! केसी अब एक्लो छैनन्  



Download our app to get more features

त्याग्रही गोविन्द केसीको मुहार आमरण अनशनको दिनगन्ती बढ्दै जाँदा झनै तेजोमय बन्दै गएको देख्दा मनमा ‘सत्य डक्तैन झुठो टिक्दैन’ भन्ने लोकोक्ति याद आएको छ । परिवारवाद, प्रलोभन र पदप्रतिष्ठाको भोकबाट मुक्त डाक्टर केसीको मुहारमा देखिएको जाज्वल्य देख्दा लाग्छ, एउटा सत्य शिखरतर्फ उक्लँदै छ । र, यो शिखरयात्रा दुनियाँलाई असहज र असम्भव लागेपनि यी सत्यवादीलाई भने कुनै कठिन काम लागेको छैन । त्यसैले होला केसीको मुहारमा तेज अझै भरिँदैछ ।

आठौं पटकको अनशनसम्म आइपुग्दा डा. केसीले मुलुकमा जरो गाडेको असत्य, छलछाम र विकृतिको मुटु थर्काएका छन् । र मुटु तिनको पनि थर्किएको छ जो सत्यसँग साक्षात्कार भएर सत्यको ‘स’ समेत उच्चारण गर्ने हिम्मत राख्दैनन् । गोविन्द केसी सत्यको पर्यायवाची हुँदै गर्दा सत्यको मुखुण्डो ओढेर समाजलाई बर्बाद पार्न उद्दत मुहारहरु पनि नांगिदै छन् । पैसा र प्रतिष्ठाको आडमा केसीको सत्यवादी चरित्रलाई धुमिल बनाउने दिवास्वप्नमा तल्लिन एउटा झुण्ड अझै आफ्ना हनुमानहरुलाई नचाउँदै छ नांगो नाच । यी सब कुराले केसीको लडाईं रोकिन्न भन्ने थाहा हुँदाहँदैपनि यीनको विकृत चेतनाले त्यसको भेउ पाउन सेकेको छैन । 

अर्कोतर्फ राज्य सञ्चालक भनिनेहरु अझै उही सत्ता र कुर्सीको दुर्ग्न्धित कुवामा पौडिरहेका छन् । अझै उनीहरुमध्ये कतिपय त केसीका समाज बदल्ने एजेण्डाहरु सामू टिक्न नसकेर उनलाई पनि आफैजस्तो राजनीतिक आग्रहमा चल्ने तुच्छ आक्षेपमा मुछिरहेका छन् । जनमत लिएर व्यवस्थापिकासम्म आएका विधायकहरु समग्र समाज परिवर्तन गर्ने एजेण्डालाई भुलेर व्यापार गर्नमा उद्दत छन् । 

एउटा गरिब र जेहेन्दार नेपाली नागरिकले पनि चिकित्सा शिक्षा पढ्न पाउनुपर्छ भन्नु अपराध हो ? भएभरका स्वास्थ्य सेवा केन्द्रिकृत गर्ने र दुर्गमका मानिस जहिल्यै प्रसूतिकालमा रक्तश्राव हुँदा समेत उपचार अभावमा मर्नुपर्ने अवस्थालाई परिवर्तन गरौं भन्नु नाजायज हो ? नोटका आधारमा जसलाई पनि चिकित्सक बनाउँदा त्यसको दीर्घकालिन असर तीन करोड नेपालीको स्वास्थ्यमा पर्छ भन्नु फगत राजनीतिक नारा मात्र हो ? संवैधानिक निकायले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर स्वायत्त निकायमाथि हस्तक्षेप गर्दा थरर्र काँपेर बस्ने लाछी र नपुंसकहरुको समाजमा यति अडिग भएर सत्यको पक्षपाती हुनुलाई कुनै आग्रह र पूर्वाग्रह भनेर व्याख्या गर्न मिल्छ ? 
 
हे ! समाजका उपबुज्रुकहरु हो, तिमीहरुले यी सवालको जवाफ देऊ । नत्र नानाभाँति फलाकेर एउटा सत्यवादी योद्धाको बाटोमा भाँजो नहाल । केसी कुनै देवदूत होइनन् यिनी पनि एकदिन मरेर जान्छन् । यिनले आज कोर्दै गरेको इतिहासमा तिम्रा सन्ततिले पनि गर्व गर्नेछन् । स्वास्थ्य र शिक्षालाई तीव्र निजीकरण र मोलमोलाईमा बदलेका हे कथित शिक्षाकर्मी हो ! असमान र विभेदपूर्ण शिक्षाले समग्र समाजमा हुनेखाने र हुँदाखानेहरुबीच कति ठूलो खाडल निर्माण गरेको छ भन्ने आँकलन गरेका छौ ? यसको सामाजिक परिणति कती कहालीलाग्दो हुँदैछ भन्ने विश्लेषण गरेका छौ ? 

हो, केसीको लडाईं यिनै तमाम विकृति र असमानताको विरुद्धमा हो । एउटा निष्ठाको पहाडमाथि यति तल्लो स्तरको आरोप लगाइँरहँदा तिमीहरुको बिवेकले अलिकतिपनि संकोच मानेन ? कुर्सीको मुतेन्यानोमा हराएका राजनीतिकर्मीहरु, तिमीहरुले उठाउनुुपर्ने एजेण्डा एउटा नाथे चिकित्सकले उठाएको छ । तिमीहरुका घोषणापत्रमा कहिल्यै नअटाएका विषयमा एउटा मामुली डाक्टर एक्लै लडार्ईं लडिरहेको छ । दिनदहाडै मान्छे मार्दै हिंड्ने हिंस्रक गुण्डाहरु मारिँदा संसदमा ताण्डव मच्चाउने तथाकथित सांसदहरुलाई गोविन्द केसीको निष्ठाा र सत्यको रापले अलिकतिपनि पोलेको छैन ? 

हो, आज हरेक चेतनशिल नागरिकका मश्तिष्कमा यस्तै प्रश्नहरुले डेरा जमाएको छ । त्यसैले बुलन्द हुँदैछन् गुम्सिएका आवाजहरु । विस्तारै खुलेका छन् भ्रमको ढकनीले छोपिएका बिवेकहरु । पूर्वदेखि पश्चिमसम्म भ्रमको पर्दा च्यातिँदै छ । यो युद्ध अब गोविन्द केसीको मात्र युद्ध हो भन्ने भ्रम कसैमा छ भने त्यागे हुन्छ । यो अब आमनेपालीको साझा एजेण्डा बनिसक्यो । केसी अब एक्लै छैनन् । केसीले कल्पना गरेको समाज अब सबैको साझा सपना भैसकेको छ । 

अत स् केसीको माग पूरा गर्नेतर्फ नभै कुनै भ्रमको खिचडी पकाउन तल्लिन राज्यसंयन्त्रका ठेकेदारहरु होस गर केसी अब एक्लै छैनन् । अब जनजन केसी बनेका छन् मनमन केसी बनेका छन् । सत्य अब शिखर उक्लैंद छ ।  
 

Last modified on 2016-07-21 17:13:03

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. म प्रधाानमंत्री on Thu, Jul 21 2016 03:43 PM

    सार्है राम्राे लेख्नु भाे । के गर्नु राम्राे गर्न खाेज्नेलाई कसैले नटेर्ने रैछ हजुर ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts