क्यान्सर जितेकी पोखरेल अहिले क्यान्सर पीडितका लागि आशाको किरण बन्दै



Download our app to get more features

तारा पोखरेल, नर्सिङ क्षेत्रमा परिचित नाम हो । नेपालमा नर्सिङमा पहिलो पटक स्नातकोत्तर गर्ने पोखरेलले नर्सिङ क्षेत्रमा झन्डै ५० वर्षभन्दा बढी सेवा दिएपछि अहिले अवकास लिएर जीवन बिताइरहनु भएको छ ।

सानै उमेरदेखि पढाईमा अब्बल पोखरेलले लहलहैमा नर्स पढ्नु भयो । सानैमा घरमा बुबा बिरामी हुँदा अस्पताल गएपछि नर्सलाई देखेर नर्स पढ्छु भन्ने रहर उनमा जाग्यो । नर्स पढेपछि सरकारी सेवामा नाम निकालेर सेवा दिँदै आएकी पोखरेलले नेपाल नर्सिङ संघको अध्यक्ष भएर सफलतापूर्वक सकाएपछि हाल घरमै बसिरहनु भएको छ ।

काम गर्दैगर्दा पोखरेल स्तन क्यान्सरबाट ग्रसित भइन् । क्यान्सरको लक्षण देखिएको भोलिपल्टै जापान जानु पर्ने भएकाले फर्किएपछि उपचारमा जाने योेजना बनाइन् । सातदिन विदेशभ्रमणबाट फर्केपछि श्रीमानसँगै उपचारका लागि ललितपुरस्थित नेपाल क्यान्सर सेन्टर पुगिन् । अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर सुदिप श्रेष्ठसँग परामर्श गर्दा उनलले क्यान्सरको पहिलो चरणभएको बताए । उनले तत्काल अपरेशन गर्न सल्लाह दिए । उपचार सुरु भएपछि मात्रैश्रीमानले मलाई क्यान्सर भएको थाहा पाए । त्यसपछि डा.श्रेष्ठकै सल्लाह अनुसार क्यान्सरको शल्यक्रिया भयो र अहिले पनि नियमित औषधि सेवन गरिरहेको छिन् ।

क्यान्सर लागेपछि बाँचिदैन भन्ने गलत सोचाई अझैँ पनि समाजमा छ । तर समयमै रोगको पहिचान र उपचार सुरु भए क्यान्सरलाई सहजै जित्न सकिन्छ । तर बिरामीमा आत्मविश्वास भने हुनु पर्छ । क्यान्सर काल होइन, बिरामीमा आत्मविश्वास जगाउने र राम्रो उपचार गर्ने हो भने क्यान्सरलाई जित्न गाह्रो छैन । 

आफू क्यान्सर पीडित भएपछि भोग्नु परेको पीडा र पछिल्लो समय नेपालसहित विश्वभर देखिने गरेको विभिन्न क्यान्सरका कारण मानिसहरुले अकालमै ज्यान गुमाउनु परेको अवस्थाले मनै खिन्न हुन्छ उनको ।

हाल घरमै बसिरहेकी पोखरेलले क्यान्सर पीडितलाई काउन्सेलिंग गर्ने काम गरिरहेकी छन् । नेपालका विभिन्न जिल्लाबाट क्यान्सर पीडितले उनलाई सम्पर्क गरेर परामर्शका लागि आउने गर्छन् । 

पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, जिब्रोको क्यान्सर, प्रोटेस्ट क्यान्सर, पेटको क्यान्सर लगायतका क्यान्सर बिरामीहरुले अहिले पोखरेललाई सम्पर्क गरेर परामर्श गर्न थालेका छन् ।

पछिल्लो एक वर्षको अवधिमा झन्डै ४० जना क्यान्सर पीडितलाई परामर्श दिएर उपचारका लागि तयार पारेको उनको भनाइ छ । 

२ वर्ष पहिले विराटनगरकी एक महिला तेस्रो चरणको स्तन क्यान्सरको उपचारका लागि काठमाडौं आउँदा नेपाल क्यान्सर अस्पतालले पोखरेललाई नै बोलाएर बिरामीलाई सम्झाइदिन भन्दै आग्रह गरेको थियो । अस्पतालको आग्रहपछि पोखरेलले आफ्नो स्तन क्यान्सरबारे बताउँदै क्यान्सर लागेपछि निको भइन्छ भनेर परामर्श गरेपछि बिरामीले उपचार गराइन् र अहिले उनी आफ्नो जीवनयापन गरिरहेकी छिन् ।

अस्पताल र बिरामीले बोलाएपछि पोखरेलले जीवनदान हुन्छ भने किन परामर्शका लागि नजानु भन्दै अहिले क्यान्सर पीडित बिरामीलाई फोन र भेटेर सल्लाह दिने काम गरिरहेकी छन् ।

समयमै पत्ता लागेपछि र समयमै उपचार गर्न पाएपछि क्यान्सर रोगबाट बाँच्न सकिन्छ भन्ने तथ्य फैलाउने काममा अहिले पोखरेल सक्रिय भएर लागेकी छिन् ।

Last modified on 2021-01-28 18:58:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts