युरिक एसिड भएका मानिसलाई किन हुन्छ बाथ ? जानौं
धेरै नेपालीमा युरिक एसिडको समस्या छ । युरिक एसिडको बेलैमा उपचार नगरे यसबाट बाथ हुन्छ भन्ने जानकारी भने निकै कमैलाई मात्रै छ । युरिक एसिड त हो नी... भनेर लापरवाही गर्दा धेरै मानिस गम्भीर प्रकारको बाथ रोगी बनिरहेको बाथ रोग विशेषज्ञ डा. दीपा शाहको भनाइ छ । के हो युरिक एसीडबाट हुने बाथ ? यो हुने कारण, यसका लक्षण र बच्ने उपायबारे डा. शाहले दिएको सुझाब यस्तो छ ।
युरिक एसीडबाट हुने बाथ भनेको सामान्य किसिमको बाथ हो । बाथ देखिएका अधिकांश बिरामीमा युरिक एसिडकै कारणले बाथ भएको देखिन्छ । यो के युवा के वयस्क, के वृद्धा सबै उमेर समुहमा देखापर्छ ।
शरीरमा युरिक एसिड धेरै बढ्यो वा यसको चक्रअनुसार काम भएन भने यसका (क्रिस्टल) नुन जस्तो जोर्नीमा जम्छ र युरिक एसीडबाट हुने बाथ देखापर्छ ।
कारण
हाम्रो शरीरमा युरिक एसिडको मात्रा आवश्यक्ता भन्दा बढी भयो भने यसले बाथ लगायतका रोग देखा पर्छ । युरिक एसिड हुने मुख्य कारण भनेकै प्युरिन बढी भएका खाना खानु वा खानामा सन्तुलन कायम नगर्नु हो । युरिक एसिड व्यक्तिको शारीरिक अवस्था र रोगप्रतिरोधात्मक क्षमतामा भर पर्छ । तर सामान्यतया आम मानिसमा ६ मिलिग्राम प्रतिलिटर भन्दा कम हुनुपर्छ । युरिक एसिडबाट हुने बाथ वंशाणुगत कारणले पनि हुन सक्छ ।
लक्षणहरू
खुट्टाको बुढी औंलाको जोर्नी दुख्ने ।
सुन्निने ।
जोर्नी आसपास रातो हुने ।
जोर्नीहरु दुख्ने ।
जोर्नी आसपास ससाना हड्डीका टुक्रा भेटिने ।
शरीर आलास्य हुने, दुख्ने ।
यस्ता खाना नखाने
- सेतो काउली
- च्याउ
- रातो मासु, छाला, भुटन, आन्द्रा
- पलुंगोको साग
- भटमासबाट बनेका खाने कुरा
- बियर
बच्ने उपाय:
- पानी प्रशस्त पिउने ।
- स्वस्थ खाना खाने ।
- सक्रिय जीवनशैली अपनाउने ।
- वर्षको कम्तीमा एक पटक स्वस्थ परीक्षण गराउने ।
युरिक एसीडबाट हुने बाथलाई सामान्य रुपमा लिनु हुँदैन् । यसको समयमै उपचार नगराए जोर्नीहरू चलाउन नसकिने, हिडडुल गर्न गाह्रो हुने लगायका समस्या आई मानिसलाई अपांग बनाउन पनि सक्छ । यसर्थ युरिक एसीडबाट हुने बाथबाट बच्न जरुरी छ ।