६२ प्रतिशत 'एफिकेसन रेट' भएको कोभिशिल्ड नेपाल ल्याइँदै, जानौं एफिकेसन रेटबारे
 
            कोरोना महामारी विरुद्ध लड्ने विभिन्न खोप विकास भइसकेको र विभिन्न मुलुकमा मानिसहरुलाई लगाउन थालिएको छ । हालसम्म विश्वका विभिन्न मुलुकमा विकास गरिएको कोरोना विरुद्धको खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ । खोपको आपतकालीन प्रयोगका लागि अनुमति पाउनेमा फाइजर र बायोएनटेक, अक्फर्ड र एस्ट्रेजेनेका, सिरमको कोभिशिल्ड, स्पतनिक भी, सिनोभ्याक्स लगायतका रहेका छन् ।
विभिन्न मुलुकले विकास गरेका खोप एकपछि अर्को गर्दै मुलुकहरुमा अनुमति दिइँदैछ भने कतिपय मुलुकले खोप अभियान नै चलाइसकेको छ । यसबीचमा नेपालले पनि छिमेकी मुलुक भारतले विकास गरेको कोरोना विरुद्धको खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । भारतको सिरम इन्स्टीच्यूटले विकास गरेको कोभिडशिल्डलाई औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।
भारतमा विकास भएको कोरोना विरुद्धको खोप मानिसमा लगाउन सुरु भएपछि अब नेपालमा पनि खोप आउने भएको छ । भारत सरकारले सम्भवतः आजै कोभिशिल्ड खोपको डोज नेपाल पठाउने छ । तर, खोप भण्डार गर्ने क्षमता भने अझै नेपालमा तयार भइसकेको छैन । हुन त सरकारले हामीसँग खोप भण्डारण गर्ने पर्याप्त क्षमता र खोप भण्डारण केन्द्र छ भनेर दावी गर्दै आएको छ । तर, ती खोप भण्डारण केन्द्रको अवस्थाले कोरोना विरुद्धको खोप धान्न सक्छ या सक्दैन त्यसबारेमा यकिन भन्न सकिँदैन ।
औषधि विज्ञ राजन बहादुर राउतका अनुसार खोपको प्रभावकारिता दर (एफिकेसी रेट) लाई कायम राखिराख्नका लागि त्यसको प्याकिङ्गदेखि एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउने सबै तयारी उचित र तोकिएको मापदण्ड अनुसार भएन भने एफिकेसी रेटमा प्रभाव पर्न सक्छ ।
खोप भण्डारण गर्दा वा खोपलाई एक मुलुकबाट अर्को मुलुक अथवा एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने समयको ख्याल गरेर तापक्रम म्यानेज गर्नुपर्ने भन्दै उनले कोभिशिल्ड खोपको एफिकेसी रेट ६२ प्रतिशत रहेको भनिएकोमा नेपाल आइपुग्दा वा त्यसलाई सम्बन्धीत स्थानमा पुर्याउँदासम्म खोपको एफिकेसी रेटमा कमी आउने सम्भावन पनि रहने बताए ।
खोपको विकास गर्दा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पूरा गरेको हुनुपर्छ । जसमा खोपको प्रभावकारिता अर्थात् एफिकेसन दरलाई बढी महत्त्व दिइएको हुन्छ । कुनैपनि खोपले कस्तो प्रभाव पार्छ ? त्यसको प्रभावकारिता दर कस्तो छ ? भन्ने आधारमा मात्रै खोपलाई मानिसमा लगाउन अनुमति दिने गरिन्छ । सिरम इन्स्टीच्यूटले विकास गरेको कोभिशिल्ड खोपको एफिकेसन ६२ प्रतिशत रहेको बताइएको छ । ६२ प्रतिशत एफिकेसन रहेको खोपलाई कसरी मानिसमा लगाउन अनुमति दिइयो भन्ने विषयमा भारतमा विवाद पनि देखिएको छ । तरपनि भारतमा यो खोप मानिसमा लगाउन थालिएको छ । हालसम्म खोप लगाएकामध्ये दुई जनाको मृत्यु भइसकेको र ७ सयभन्दा बढीमा साइड इफेक्ट देखिएको छ ।
सिरमभन्दा पहिले अमेरिकाको फाइजर र बायोएनटेकले बनाएको खोपको एफिकेसन ९५ प्रतिशत बताइएको थियो भने रुसले विकास गरेको स्पुतनिक भी र अमेरिकाकै मोडर्नाले विकास गरेको खोपको एफिकेसन ९० देखि ९४ दशमलव ५ प्रतिशत रहेको बताइएको थियो । यस्तै चीनले विकास गरेको सिनोभ्याक्सको एफिकेसन ५० प्रतिशत मात्रै रहेको बताइएको छ । विश्व नै आक्रान्त बनेको बेला आशा जगाउने खोपको एफिकेसन रेट के हो ? किन आवश्यक हुन्छ खोपको एफिकेसन ? यस्तो छ अध्ययन :
अमेरिकाको मायो क्लिनिकलका खोप विकासकर्ता डा.ग्रेगरी पल्याण्ड, खोपको यति राम्रो एफिकेसी रेटलाई ठूलो परिवर्तनकारी तत्त्व रहेको बताउँछन् । उनी भन्छन्, ‘मात्रै ५० देखि ७० प्रतिशतसम्मको एफिकेसी रेटको आशा गरिएको थियो । जबकी अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आपतकालीन प्रयोगका लागि खोपको ५० प्रतिशत एफिकेसी रेटलाई नै अनुमति दिने भनेको थियो ।’
विज्ञका अनुसार ९० प्रतिशत एफिकेसी रेटको साथै यसलाई आदर्श खोप पनि भन्नु उचित हुन्छ । तर, ९० प्रतिशत एफिकेसी रेटको अर्थ यो होइन की यदि सय जनामा खोप लगाइयो भने ९० जनामा खोपको प्रभावकारिता राम्रो हुन्छ ।
कसरी तय गरिन्छ एफिकेसी रेट ?
झन्डै एक सय वर्ष पहिले वैज्ञानिकहरुले खोपको परीक्षणको क्रममा नियम बनाएका थिए । यस प्रक्रिया अन्तर्गत परीक्षणमा केहि स्वयंसेवीलाई वास्तविक रुपमै खोप लगाइन्छ । जबकी केहिलाई प्लेसिबो अर्थात् आर्टिफिशियल खोप लगाइनेछ । त्यसपछि अध्ययनकर्ताहरुले कुन समूहमा कति जना बिरामी भए ? भनेर अवलोकन गर्छन् । 
उदाहरणका लागि फाइजरले ४८ हजार ६ स य ६१ जनालाई खोप परीक्षणमा सहभागि गराएको थियो । जसमा १ सय ७० जनामा कोभिड १९ को लक्षण देखियो । ती १ सय ७० जनामध्ये मात्र ८ जनालाई वास्तविक खोप दिइयो जबकी १ सय ६२ जनालाई प्लेसिबो (बिरामीलाई जानकारी नै नदिई दिइने आर्टिफिशियल खोप) दिइएको थियो । फाइजरका अध्ययनकर्ताहरुले दुबै समूहका यस्ता स्वयंसेवीलाई अलग बनाए जो बिरामी भए ।
यो दुबै समूह निकै सानो थियो । तर, जुन मानिसलाई वास्तविक खोप दिइएको थियो त्यसको तुलनामा आर्टिफिशियल खोप पाउने व्यक्ति बढी बिरामी भएका थिए । यसै आधारमा वैज्ञानिकहरुले दुबै समूहमा खोपको असरलाई मापन गरियो । दुबै समूहका बीच जुन अन्तर देखिएको थियो त्यसैलाई वैज्ञानिक एफिकेसी (प्रभावकारिता) भनिन्छ । दुबै समूह, जसलाई वास्तविक खोप दिइयो र जसलाई नक्कली खोप दिइयो यदि ती दुबैका बीच कुनै फरक नपरेको भए खोपलाई बेअसर अर्थात् प्रभावकारी नभएको मानिन्छ । एफिकेसी रेट खोप दिइएको व्यक्तिको खोप नदिइएको व्यक्तिसँगको जोखिम तुलना गरेर तय गरिन्छ ।
यस्तो अवस्थामा ९५ प्रतिशत एफिकेसी रेटको अर्थ खोपले काम गरिरहेको छ भनेर बुझ्नु पर्छ । तर, एफिकेसी रेटले खोप लगाएपछि व्यक्ति बिरामी पर्दैन भन्ने कुराको कहिले सुनिश्चित गर्दैन । किनकी मानिसलाई सार्वजनिक रुपले खोप दिने प्रक्रियामा कुनैपनि प्रकारको प्लेसीबो अर्थात् नक्कली डोजको प्रयोग गरिँदैन । यसमा खोप लागेपछि पनि बिरामी हुन सक्ने र स्वस्थ मानिसको अनुपातको आधारमा मात्रै सहित एफिकेसी रेटको निर्धारण गरिन्छ ।
जन हपकिन्स व्लूमवर्ड स्कूल अफ पब्लिक हेल्थका इपिडिमियोलोजिस्ट नोअर वार जीव भन्छन्, ‘प्रभावकारिता (एफिकेसी) र प्रभावशिलता एक अर्कासँग सम्बन्धीत हुन्छ । तर, यो फरक हुन्छ । एफिकेसी एक मापदण्ड मात्रै हो जुन क्लिनिकल ट्रायलको क्रममा बनाइन्छ । जबकी इफेक्टिभनेसको अर्थ पुरै विश्वमा खोपले कसरी काम गरिरहेको हुन्छ ।’
हालसम्म विकास भएका विभिन्न कोरोना विरुद्धको खोपका लागि चाहिने तापक्रम पनि फरक फरक छ । जसमा माइनस ७० डिग्रीदेखि माइनस ८ डिग्रीसम्मा भण्डारण गर्न सकिने बताइएको छ ।
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                