कोरोना महामारीपछि चर्चामा आएका यी चार शब्दबारे जानीराखौं



Download our app to get more features

नेपालमा पछिल्लो समय कोरोना संक्रमण र मृत्युदर तुलनात्मक रुपमा कम हुँदै गएको छ । झन्डै ३ महिनादेखि नेपालमा कोरोनाका कारण संक्रमित हुने र मृत्यु हुने दरमा कमी आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलवारसम्मको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार नाघिसकेको छ भने मृत्यु हुने संख्या १९ सय नजिक पुगिसकेको छ ।

संक्रमणदर घट्दै गर्दा सरकारले कोरोना संक्रमितलाई घरमै बस्न र पछिल्लो समय पिसिआर जाँचको रिपोर्ट पनि सम्बन्धीत व्यक्तिलाई उसको सिटी भ्यालुसहित दिन थालिएको छ ।

पिसिआर परीक्षण पश्चात सिटी भ्यालुसहितको रिपोर्ट व्यक्तिलाई दिँदा उसमा कोरोना भाइरसको संक्रमण भए नभएको र यदि संक्रमण छ भने कति मात्रामा शरीरमा भाइरसले प्रवेश गरेको छ भन्ने कुरा स्पष्ट हुन्छ ।

सिटी भ्यालुसहितको रिपोर्ट दिनुको मुख्य कारण भनेको बिरामीमा भाइरसको दर कति छ र उसलाई कस्तो उपचारको आवश्यकता हुन सक्छ तथा भाइरस संक्रमण भएको व्यक्तिले अरुलाई सार्न सक्ने क्षमता कति छ भनेर पनि बुझ्न सकिन्छ ।

कोरोना संक्रमण सुरु भएदेखि नै कोरोना भाइरसको परीक्षणका लागि पिसिआर जाँच गर्न थालियो र मानिसमा भाइरस भए नभएको पत्ता लगाउन थालियो । संक्रमण सुरु भएदेखि नै सबैको मुखमा आउने भिटिएम, पिसिआर र सिटी भ्यालु हो । जसको बारेमा मेडिकल क्षेत्रका व्यक्तिलाई थाहा भएपनि सर्वसाधारणलाई यसको बारेमा सायदै थाहा होला । आज तपाईंलाई भिटिएम र सिटी भ्यालुको बारेमा जानकारी गराउँदैछौं ।

स्वाबः मानिसको नाकको माध्यमबाट निकालिने नसल वा मुखको माध्यमबाट घाँटीबाट निकालिने खकार अथवा तरल पदार्थलाई स्वाब भनिन्छ । जहाँ भाइरसले पहिले आक्रमण गर्छ । स्वाब परीक्षणबाटै भाइरसको संक्रमण भए नभएको पत्ता लगाउने गरिन्छ ।

भिटिएमः तपाईं हामी जोकोही पनि पिसिआर परीक्षणका लागि जाँदा दिइने भाडो भिटिएम हो भन्ने सामान्य बुझाई छ । भिटिएमको पूर्ण रुप भाइरल ट्रान्सपोर्ट मेडियम हो । जुन ३ एमएलको हुन्छ । भिटिएममा हुने झोलिलो पदार्थ भाइरसलाई जिउँदै राख्ने पोषण तत्व हो । यसले स्वाबमा आएको भाइरसलाई पोषण दिने काम गर्छ । झोलिलो पदार्थमा ग्लिसिरिन पनि हुन्छ । जसले भाइरसलाई सुक्खा हुनबाट जोगाउँछ । किनभने भाइरस सुक्खा भयो भने भाइरस मर्न सक्छ । त्यसकारण ग्लिसिरिनको प्रयोग गरिन्छ । साथै भिटिएममा भएको ह्यांक्स ब्यालेन्स्ड साल्ट सलुसनले सेललाई पोषण दिने काम गर्छ । यस्तै भिटिएममा फिनोल रेड इन्डिकेटर पनि हुन्छ । स्वाबसहितको भिटिएम फ्रिजमा राख्न सकिन्छ । ४८ घन्टासम्म २ देखि ८ डिग्रि टेम्परेचरमा स्वाबलाई राख्दा भाइरसलाई मर्नबाट जोगाउन सकिन्छ । 

स्वाबलाई भिटिएममा राखि सकेपछि त्यसबाट आरएनए निकालिन्छ । आरएनए निकाल्नका लागि आरएनए एक्ट्र्याक्सन किटको प्रयोग गरिन्छ । जसमा पहिले सेलको लाईसिस गरिन्छ । लाईसिस गरिसकेपछि निस्केको आरएनएलाई अवक्षेपण गरेर सिलिका जेलमा जोडिन्छ । 

त्यसपछि आरएनएलाई वासिङ्ग सलुसनले वास गरेर आरएनएलाई नयाँ ट्यूबमा एल्यूट गरिन्छ । एल्यूट भएको आरएनएलाई टेमप्लेट भनिन्छ । जसलाई भाइरसको कणसँग मिसाएर भाइरस भए नभएको पत्ता लगाइन्छ । 

भाइरस भए नभएको पत्ता लगाउनका लागि पिसिआर मेसिनको प्रयोग गरिन्छ । जसलाई पोलिमियर चेन रिएक्सन मेसिन भनिन्छ । 

के हो पिसिआर ? पिसिआर एक यस्तो टेक्निक हो जसले एक कपी आरएनएलाई लाखौं कपि अफ डिएनए बनाउँछ । जसमा तापक्रम घटाउने र बढाउने थर्मोस्ट्याट प्रिन्पिलमा काम गरेको हुन्छ । यसमा सामान्यतया ४०–४५ साइकल हुन्छ । यो साइकलमा डिनेचुरेशन, एनलिंग र एक्सटेन्सनको चरण हुन्छ ।

नयाँ पुरा हुन एकदेखि २ घन्टा समय लाग्छ । जुन साइकलमा गएर भाइरसको जिन पत्ता लाग्छ त्यसलाई सिटी भ्यालु भनिन्छ ।

सिटी भ्यालुः यसलाई साइक्लिक थे्रसहोल्ड भ्यालु भनेर बुझिन्छ । जुन चिकित्सकदेखि संक्रमित व्यक्तिका लागि पनि आवश्यक हुन्छ । भाइरसको जिन जुन साइकलमा गएर पत्ता लाग्छ त्यसलाई सिटी भ्यालु भन्न सकिन्छ । ती साइकलमध्ये भाइरसको जिन कतिवटासम्म साइकलमा गएर पत्ता लाग्छ त्यसलाई सिटी भ्यालु भनिन्छ ।  

पिसिआर मेसिनमा भाइरसको जिन पत्ता लागिसकेपछि मानिसको शरीरमा भाइरस कति संख्यामा छ भन्ने जान्नका लागि सिटी भ्यालु हेरिन्छ । कति सिटी भ्यालु आयो भने त्यो खतरनाक हो वा सामान्य हो भनेर जान्नु पनि आवश्यक हुन्छ । पिसिआर मेसिनमा एकदेखि ४० वा बढीमा ४५ सम्म साइकल हुन्छ । यदि साइकलमा ३७ भन्दा माथि सिटी भ्यालु आयो भने उसमा भाइरसको संक्रमण छैन भनेर बुझिन्छ । जसलाई पिसिआरको रिपोर्ट नेगेटिभ पनि भन्ने गरिन्छ । 

विभिन्न अध्ययनहरुका अनुसार सिटी भ्यालु यदि २५ भन्दा कम आएमा त्यो व्यक्तिले तीव्र गतिमा भाइरस सार्न सक्ने सम्भावना हुन्छ । यस्तै सिटी भ्यालु यदि १५ देखि २५ छ जसलाई लो सिटी भ्यालु भनिन्छ, यो अवस्थामा मानिसको शरीरमा भाइरसको मात्रा उच्च रहेको र उसलाई त्यसै हिसाबको उपचारको आवश्यकता हुने गर्छ ।

जसको सिटी भ्यालु ३० देखि ३५ आयो भने त्यो व्यक्तिको शरीरबाट भाइरस निस्कने क्रममा हुन्छ । यस्तै भाइरसको संक्रमण शरीरमा सुरु भएको बुझिन्छ ।

यसरी समग्रमा मानिसमा यदि कोरोना भाइरसले संक्रमण गरिहालेमा सिटी भ्यालुको बारेमा जानिराख्ने हो भने बिरामी वा संक्रमित व्यक्तिलाई सहज हुन्छ । आफूलाई कस्तो उपचार चाहिन्छ भन्ने कुरामा ऊ पहिले नै सचेत हुँदा कोभिडले हुने मृत्युदर पनि कम गर्न सकिन्छ । तर, भाइरसले मानिसको शरीरमा कतिखेर कस्तो प्रतिक्रिया जनाउँछ त्यसबारेमा पूर्व जानकारी नहुँदा जे पनि अवस्था उत्पन्न हुन सक्छ । त्यसकारण सचेत हुनु नै उत्तम विकल्प हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts