निश्चित स्थानमा कोभिड-१९ विरुद्ध 'सामुदायिक प्रतिरोध क्षमता' बनेको अनुमान
बीबीसी, २ पुस । साउन/भदौ महिनामा प्रदेश नं २ का जिल्लाहरूमा कोरोनाभाइरसको सङ्क्रमण तीव्र फैलिएको थियो ।
एक त ठूलो जनघनत्व भएको क्षेत्र अर्को भाइरसको चपेटामा परिरहेको भारतीय सिमानासँग जोडिएको ठाउँ भएकाले प्रदेश २ मा त्यतिखेर सङ्क्रमणको चाप निकै परेको थियो । तर, हिजोआज उक्त प्रदेशमा नयाँ सङ्क्रमित सङ्ख्या देशका अन्य भागमा भन्दा कम देखिन्छ ।
गत सात दिनको सरकारी तथ्याङ्क केलाउँदा त्यहाँ पूरै प्रदेशमा एक दिन पनि ५० भन्दा धेरै सङ्क्रमित भेटिएका छन्, अझ केही दिन त १० भन्दा कम सङ्क्रमित फेला परिरहेका छन् ।
यसको अर्थ के हो त?
विश्वका अन्य देशहरूको अनुभव हेर्दा पनि धेरै सङ्क्रमित भएका ठाउँठाउँमा बिस्तारै भाइरस ओरालो लाग्ने गरेको देखिन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीको विचारमा प्रदेश नं २ का केही ठाउँमा अहिले 'हर्ड इम्यूनिटी'को अवस्था देखा परेको छ । कुनै समुदायका धेरै सदस्य सङ्क्रमित हुँदा भाइरसले नयाँ सङ्क्रमण गराउन नसक्ने अवस्था पैदा हुनुलाई 'हर्ड इम्यूनिटी' भन्ने गरिन्छ ।
वैज्ञानिकहरूका अनुसार जनसङ्ख्याको ६०-७० प्रतिशत मानिसमा खोप लगाएर वा सङ्क्रमण झेलेर प्रतिरोध क्षमता विकास भएको अवस्थामा हर्ड इम्यूनिटी बन्छ । तर, यहाँ त्यति धेरै मानिस सङ्क्रमित भइसकेको अवस्था भने छैन ।
सेप्टेम्बरमा उच्च सङ्क्रमण हुँदा देशभरि गरिएको "सिरो प्रिभलेन्स सर्भे" अर्थात् कतिलाई सङ्क्रमण भइसक्यो भनेर गरिएको जाँचले औसतमा १४ प्रतिशत मात्र सङ्क्रमित भएको देखाएको थियो ।
त्यो सङ्ख्याले हर्ड इम्यूनिटीको तस्बिर देखाउँदैन किनभने अझै अत्यधिक जनसङ्ख्या भाइरसको जोखिममै छन् ।
"तर एकताका निकै उच्च सङ्क्रमण भेटिएका प्रदेश २ का निश्चित स्थानका समुदायमा चाहिँ हर्ड इम्यूनिटीजस्तै देखिएको छ । त्यसैले अचेल त्यहाँ सङ्क्रमण स्थिर भएको छ," डा. कार्कीले बताए । "सबै ठाउँमा त्यस्तो देखिएको भने छैन ।"
धेरै सङ्क्रमण देखिएका वाग्मती प्रदेश तथा प्रदेश नं २ मा भाइरसको प्रसार केही सुस्त हुनसक्ने कारण स्वाभाविक रहेको महामारी रोग विशेषज्ञ डा. बाबुराम मरासिनी पनि बताउँछन् ।
"हर्ड इम्यूनिटी नै भयो भनेर भन्ने स्पष्ट आधार त छैन तर भाइरस सङ्क्रमणको प्रकृति नै साइकल (चक्र) वा चरण/लहरमा आक्रमण गर्ने हुन्छ । एकचोटि उच्च बिन्दुमा पुग्छ र ओर्लिन्छ," डा. मरासिनीले भने ।
दोस्रो लहरको खतरा अझै उच्च
तर सङ्क्रमण नभएका (वा सङ्क्रमण भएको लामो समय बितिसकेपछि फेरि सङ्क्रमण हुने जोखिम बढेको अवस्था) र खोप नलगाएका मानिस रहेसम्म कुनै बेला भाइरस सुस्तायो भन्दैमा त्यो हराएको मान्न नसकिने उनले बताए । डा. कार्की पनि सो कुरा स्वीकार्छन् ।
"हामीलाई अब डर दोस्रो लहरको छ। जोखिममा रहेका मानिसमा भाइरस सल्किन थाल्यो भने फेरि सङ्क्रमण उच्च हुनसक्छ," डा. कार्कीले भने ।
विश्वका केही धनी मुलुकहरूमा प्रभावकारी खोपको प्रयोग हुन थालिसकेको छ । तर, ती खोप नेपालमा कहिले आउने हुन्, ठेगान छैन । खोपको आपूर्ति, भण्डारण, खोप लगाउने मानिसको वर्गीकरण र प्राथमिकीकरणजस्ता विषय अझै अन्योलमै छन् ।
यस्तो बेला सर्वसाधारण नागरिकका निम्ति मास्क लगाउने, दूरी कायम गर्ने, हातको सरसफाइ गर्ने र भिडभाडमा नजाने जस्ता जनस्वास्थ्यका मापदण्ड पालना गर्नु नै युक्तिसङ्गत हुने विज्ञहरूको सल्लाह छ ।