भिटामिन ‘ए’ र यसको महत्व
 
            काठमाडौं, ११ मंसिर । आज र भोलि जनस्वास्थ्यका मापदण्ड पालना गरेर भिटामिन ए दिवस मनाइँदैछ । यस वर्ष कोरोना महामारीका कारण यस वर्ष जनस्वास्थ्य मापदण्ड अपनाएर दिवस मनाइँदैछ ।
हाम्रो शरीरलाई स्वस्थ तन्दुरुस्त राख्न तथा शरीरको उचित विकासका लागि चाहिने तत्वमध्ये भिटामिन एक महत्वपूर्ण तत्त्व हो । भिटामिनहरुमध्ये पनि भिटामिन ‘ए’ अर्थात् मेडिकल भाषामा “रेटिनोल” भनिने तत्त्वको हाम्रो शरीरमा विशेष महत्त्व रहेको छ । सरकारले आज र भोली दुई दिन भिटामिन ‘ए’ वितरण गर्न लागेको छ ।
नेपाल सरकारले आज र भोली दुई दिन सबै स्थानिय तह अन्तर्गतका वडाहरुमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको माध्यमबाट भिटामिन ‘ए’ क्याप्सुल खुवाउने भएको छ । त्यसैले आफ्नो घरमा र समुदायमा भएका ६ महिनादेखि ५ वर्षसम्मका बच्चाहरुलाई नजिकै पर्ने स्थानमा गई भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुहोला ।
भिटामिन ‘ए’ भनेको के हो ?
समान्य भाषामा भन्नु पर्दा भिटामिन ‘ए’ भनेको एन्टी ओक्सीडेन्ट तत्वहरुको समिश्रणको  रुपमा लिन सकिन्छ जसले । हाम्रो शरीरमा निम्न भूमिकाहरु खेल्ने गर्छ ।
१) आँखाको दृष्टिसर देख्ने क्षमता बढाउन  
२) रोग प्रतीरोधात्मक क्षमताबढाउन
३) छालाको सुन्दरता बढाउन,
४) दाँत र हड्डीको उचित विकास
५) गर्भवती महिलामा भ्रुणको उचित विकास
६) रगत बन्ने प्रक्रियामा मद्दत गर्न
भिटामिन ‘ए’ विशेषगरी क-कसलाई र कुन कुन उमेर समुहलाई चाहिन्छ ?
भिटामिन ‘ए’ सबै उमेर समुहलाई अर्थात् शिशुदेखि वृद्ध अवस्थासम्मका सबैलाई उत्तिकै महत्वपूर्ण हुन्छ । तर, शरीरमा भिटामिन ‘ए’ को मात्रामा तल उल्लेखित समुहका मानिसहरुले विशेष ख्याल गर्नु पर्ने हुन्छ ।
१) बालबबालिका (६ महिनादेखि ५ वर्षसम्म)
२) गर्भवति महिलाहरु 
३) स्तनपान गराउने आमाहरु 
४) समयपूर्व जन्मेका शिशुहरु 
स्तनपान गर्ने उमेर समुहका बच्चाका लागि आमाको दुध नै भिटामिन ‘ए’ को मुख्य स्रोत भएकाले स्तनपान गराउने महिलाले पर्याप्त मात्रामा भिटामिन ‘ए’ पाइने खाद्यवस्तु खानुपर्दछ ।
शरीरमा भिटामिन ‘ए’ को मात्रामा कमी आउने कारणहरु ?
मानिसको शरीरमा भिटामिन ‘ए’ को मात्रामा कमी आउनुमा तल उल्लेखित कारणहरुले भूमिका खेलेको हुन सक्छ । 
१) कुपोषण भएमा 
२) आन्द्रामा जुका परेमा 
३) अत्याधीक झाडापखाला लागेमा 
४) बच्चाहरुमा उचित खानपान र स्तनपानको कमी भएमा
५) हरियो सागपात तथा पहेँलो फलफुलको उचित सेवन नगरेमा 
६) दादुरा तथा उच्च ज्वरो आएको
७) शरीरको पाचनप्रणालीमा गडबडी भएमा 
८) शरीरमा जिन्क नामक तत्त्वको कमी भएमा 
९) अत्याधिक मात्रामा चुरोट र रक्सी सेवन गरेमा 
१०) गर्भवति तथा स्तनपान गराउने महिलाहरुमा
भिटामिन ‘ए’ पाइने खाद्य वस्तुहरु ?
भिटामिन ‘ए’ दुबै माछा मासुजन्य खाद्यबस्तु तथा फलफुल सागपातजन्य खाद्यवस्तुहरुको सेवनबाट पाउन सकिन्छ । संसारमै सबैभन्दा उच्चमात्रामा भिटामिन ‘ए’ पाइने स्रोत भनेको माछाको तेल अर्थात् फिश आयल (माछाको तेल) हो । यस बाहेक कुखुरा, अस्ट्रिच, खसी लगायतको जनावरको कलेजो सेवनबाट पनि उच्च मात्रामा भिटामिन ‘ए’ पाउन सकिन्छ ।
हामीले दैनिकरुपमा सेवन गरेमा निम्न लिखित खाद्यवस्तुहरुबाट भिटामिन ‘ए’ पाउन सक्छौं । 
२) हरियो सागसब्जी 
३) दुधजन्य पदार्थ (वटर, घ्यू, चीज, पनिर) 
४) मासु, कलेजो तथा अण्डा 
५) मेवा, आँप तथा पहेलो फलफुल 
६) फर्सी, टमाटर 
७) सखर खण्ड
८) ब्रो काउली, एभोकाडो
भिटामिन ‘ए’ को बारेमा कुरा गर्दैगर्दा अब भने भिटामिन ‘ए’ को कमी भएमा शरीरमा देखिने लक्ष्यणहरु के–के हुन्छन् भन्ने कुरा जान्न जरुरी हुन्छ ।
भिटामिन ‘ए’ को कमी भएमा उमेर अनुसार तथा हाम्रो शरीरका अंग अनुसार विभिन्न लक्ष्यणहरु देख्न सकिन्छ । यी लक्ष्यणहरुको समयमै पहिचान गर्न सकेमा भिटामिन ‘ए’ को कमीबाट लाग्न सक्ने रोग र हुन सक्ने क्षतीबाट जोगिन सकिन्छ ।
आँखामा देखिने लक्ष्यणहरु/अन्धोपनः
भिटामिन ‘ए’ को कमी भएमा समस्या देखिने पहिलो तथा मुख्य अंग भनेको आँखा हो । भिटामिन ‘ए’ को कमीले आँखामा हुने रोगलाई मेडिकल भाषामा “जेरोप्थाल्मिया” भनिन्छ । जेरोप्थाल्मिया भएमा निम्न खालका लक्ष्यणहरु देखिन्छन् ।
१) रतन्धोः रतन्धो भएको मानिसले अँध्यारोमा, रातीमा तथा उज्यालोपन न्यून भएको स्थानमा आँखा नदेख्ने हुन्छ ।
२) आँखाको नानी (कर्निया) र आँखाको बाहिर हुने पारदर्शी झिल्ली अर्थात् कन्जङ्टिवाको चमक घट्ने तथा आँखा फुस्रो र सुक्खा देखिने हुन्छ ।
३) आँखाको नानीमा सानो सानो घाउ हुने र त्यसपछि ठुलो आकारको अल्सरमा परीणत हुने ।
४) अल्सरसँगै आँखामा फुलो परेर अन्धोपनसम्म हुनेहुन्छ ।
छालामा देखिने लक्ष्यणहरुः
शरीरमा छालालाई स्वस्थ र चम्किलो राख्न तथा समयमै घाउ निको पार्न महत्त्वपूर्ण भूमिका खेल्ने भिटामिन ‘ए’ को कमी भएमा छालाको सुन्दरतामा कमी आउने, छाला फुस्रो, सुक्का देखिने तथा छाला चिलाउने जस्ता समस्याहरु देखा पर्छन् ।
बच्चाहरुमा देखिने लक्ष्यणहरु/५ वर्ष मुनिका बच्चाहरुको मृत्युदर :
बालबच्चामा भिटामिन ‘ए’ को कमी भएमा आँखामा हुने अन्धोपन र छालामा हुने समस्या बाहेक उनिहरुको उमेर अनुसार हुनुपर्ने शारीरिक तथा मानसिक विकासमा कमी आउने हुन्छ । यसका साथै दाँत र हड्डीको पर्याप्त विकास हुन पाउँदैन । यस बाहेक भिटामिन ‘ए’ कमी भएका ५ वर्ष मुनिका बच्चाहरुको मृत्युदर अन्य बच्चाहरुको तुलनामा ४ गुणा उच्च हुने गरेको छ । नेपालमा पनि सन् १९९३ पूर्व ५ वर्ष मुनिका बालबच्चाको मृत्युदर उच्च थियो । जसको एउटा कारण भिटामिन ‘ए’ को कमी पनि हो र १९९३ नेपालदेखि सरकारले भिटामिन ‘ए’ क्याप्सुल खुवाउने अभियान सुरु गरेपछि ५ वर्ष मुनिका बालबच्चाको मृत्युदर क्रमशः घट्दो छ । 
रोग प्रतिरोधात्मक क्षमताः
भिटामिन ‘ए’ को कमी भएमा बच्चाहरुको मात्र नभई युवा र वृद्ध अवस्थाका मानिसको पनि  रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने र पटक पटक शरीरमा रोगहरुले सताउने जस्ता लक्ष्ण देखिन्छन् ।
प्रजनन् स्वास्थ्यमा देखिने लक्ष्यणहरुः
विज्ञहरुका अनुसार भिटामिन ‘ए’ को कमिले गर्दा कहिलेकाही प्रजनन् स्वास्थ्यमा पनि असर देखिन्छ । जसमा दुबै महिला र पुरुषमा निसन्तानपन देखिने र भ्रुणको पर्याप्त विकास नहुने, पेटमा बच्चा खेराजाने जस्ता लक्षण देखिन्छन् । तर, अनुसन्धानलाई आधारमान्दा यस्तो समस्या कमै मानिसहरुमा देखिन्छ ।
भिटामिन ‘ए’ को कमी बाट बच्ने उपायहरु ?
खानपानमा सुधार गरेमा र तल दिइएका सुझावहरु अनुसरण गरेमा भिटामिन ‘ए’ को कमी बाट जोगिन सकिन्छ । 
१) खानपानमा सुधार जसमा माथि उल्लेखित खाद्यवस्तुहरुको सेवन गर्ने,
२) बच्चाहरुलाई कुपोषणबाट बचाउने र ३ वर्ष भन्दामुनीका बच्चाहरुलाई पर्याप्त मात्रामा स्तनपान गराउने,
३) गर्भवती महिलाहरु र स्तनपान गराउने आमाहरुले भिटामिन ‘ए’ युक्त खाद्यवस्तुहरुको पर्याप्त मात्रामा सेवन गर्ने र आफ्नो चिकित्सकको सल्लाह अनुसार भिटामिन ‘ए’ क्याप्सुलको सेवन गर्ने,
४) बच्चाहरुलाई (६महिनादेखि ५ वर्ष) भने कम्तीमा वर्षको दुई पटक भिटामिन ‘ए’ क्याप्सुल खुवाउने,
(लेखक कोइराला बी.पी. कोइराला लाइन्स नेत्र अध्ययन केन्द्र, त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्जमा अध्ययनरत छन् ।) 
                
                
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                