स्तन क्यान्सरबाट पुरुषहरु पनि पीडित, यस्ता लक्षण देखिए सचेत हुनुस्
 
            काठमाडौं, ३ कात्तिक । अधिकांशको बुझाइ छ की स्तन क्यान्सर महिलामा मात्रै हुने रोग हो । तर, पछिल्लो समय विश्वका विभिन्न संस्थाहरूले गरेको अध्ययन रिर्पोट अनुसार पुरुषमा पनि स्तन क्यान्सरको जोखिम तिव्र गतिमा बढिरहेको छ । सन् १९८५ देखि २००७ को बीचमा मोरक्कोको नेशनल इन्स्टिच्युट अफ अन्कोलोजी इन रबट (एनआइओआर) ले गरेको अध्ययन अनुसार यो अवधिमा १ सय २७ पुरुषमा स्तन क्यान्सर देखिएको थियो । अध्ययनको निचोड छ की पुरुषमा हुने क्यान्सरहरु मध्ये स्तन क्यान्सरको अंश एक प्रतिशत छ ।
धेरैजसो देशमा पुरुषमा हुने स्तन क्यान्सर परीक्षणका लागि मैमोग्राम सेवा छैन । विश्व स्वास्थ्य संगठनका लागि यो अध्ययन रिर्पोट तयार पार्ने विज्ञ बर्नाड स्टीवर्टका अनुसार अब सरकारहरुले यस विषयमा पनि सोच्नु पर्ने बेला आइसकेको छ ।
स्तन क्यान्सर रोग विशेषज्ञ डा प्रफुल्ल शाक्यका अनुसार नेपालमा पनि पुरुषहरुमा स्तन क्यान्सर देखिन थालेको छ । उनले नेपालमा पनि पछिल्लो समय पुरुषहरुमा पनि स्तन क्यान्सर देखिन थालेको र विस्तारै यो दर बढ्दै गएको बताए ।
नेपाल क्यान्सर अस्पतालमा हालसम्म झन्डै १० देखि १२ जनाको हारहारीमा स्तन क्यान्सरबाट पीडित पुरुषहरु उपचारका लागि आउने गरेको भन्दै उनले महिलामा जस्तै पुरुषहरुमा पनि लक्षणहरु देखिने गरेको बताए ।
डा शाक्यका अनुसार उमेर बढेसँगै धेरै पुरुषको छातीमा गाँठागुठी देखिन थाल्छ । तर यसलाई बेवास्ता गर्नु हुँदैन । यदि गाठागुठीलाई चलाउँदा दुख्दैन भने यो स्तन क्यान्सरको लक्षण हुनसक्छ ।
  
डा शाक्य भन्छन् पुरुषमा यस्ता लक्षण देखिए स्तन क्यान्सर हुनसक्छ :
छाती चिलाउने ।
निप्पल भित्र धस्सिनु ।
निप्पलमा दुख्नु ।
निप्पलबाट दुध आउनु । 
निप्पलको आसपास धब्बा देखिनु । 
छातीको आकारमा बदलाव आउनु । 
निप्पलबाट रगत आउनु ।  
विश्व स्वास्थ्य संगठन के भन्छ  
विश्व स्वास्थ्य संगठनका अनुसार अहिले कै गतिमा पुरुषमा क्यान्सर बढ्दै गयो भने सन् २०३० सम्ममा विश्वका हरेक पाँच मध्ये एक जनालाई ७५ वर्ष अघि नै क्यान्सर हुनेछ । मृत्यु हुने हरेक ८ मध्ये एक जना क्यान्सरपीडित हुनेछन् । पश्चिमा देशमा क्यान्सरको जोखिम तिब्र गतिमा फैलिरहेको छ । हरेक आठ मध्ये एक महिलालाई स्तन क्यान्सर हुनेछ । 
हलिउड गायिका बियोन्सेको पिता स्तनबाट क्यान्सरपीडित
हलिउड गायिका बियोन्सेको पिता मैथ्यु नोल्सले गत महिना आफू स्तन क्यान्सर पीडित भएको खुलासा गरेका थिए । टिभी कार्यक्रम गुड मर्निङ अमेरिकामा उनले यसको खुलासा गरेका हुन् । 
जर्मन सोसाइटी अफ यूरोलाजीका प्रोफेसर सबिने क्लिसका अनुसार जर्मनीमा हरेक वर्ष ६ सय भन्दा बढी पुरुषमा स्तन क्यान्सरसम्बन्धी समस्या देखिन्छ । जबकी यहाँ हरेक वर्ष ७४ हजार पाँच सय महिलामा स्तन क्यान्सर हुने अध्ययनले देखाएको छ । तर पनि पुरुष क्यान्सरको बारेमा सजग हुन ढिलाई गर्नु नहुने बताउँछन् प्रोफेसर क्लिस ।
 
                                    
 
                         
                         
                         
                         
                             
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                