स्तन क्यान्सर सम्बन्धी महत्त्वपूर्ण जानकारी
 
            अङ्ग्रेजी महिनाको अक्टोबरलाई स्तन क्यानसर सम्बन्धी जनचेतना-जगेर्ना अभियानका रुपमा विश्वभर विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ। पिङ्क रिबनलाई सांकेतिक रुपमा स्तन क्यान्सर पीडितको साहस, आशा र आँटको रुपमा विश्वभर प्रयोग गरेर यो महिना मनाउने गरिन्छ ।
बोसो लगायत कोषिका द्वारा निर्मित हुने यो अङ्ग स्त्री र पुरुष दुबैमा हुन्छ, तर हर्मोनको बदलाव सँगै स्त्री मा बढी विकसित हुने गर्दछ। महिलाको मातृत्व सँग जोडिएको यो अङ्गले मुलतः नवजातका लाई दूध बनाउने कार्य गर्दछ। कुनै कारणबस, स्तनका कोषिकाहरु आवस्यकता भन्दा बढी विकास हुन थाले भने क्यानसरको जोखिम हुन सक्दछ।
स्तन क्यान्सरका कारणहरु के के हुन् ?
रगतले नाता जोडिएका परिवारका सदस्यलाई यो रोग भएको खण्डमा सन्ततिलाई पनि लाग्न सक्ने जोखिम रहन्छ। मानिसको क्रोमोजोममा जिनमा आउने गडबडीले यो रोग निम्त्याउन सक्दछ। त्यस्तै मोटोपना, शारीरिक शिथिलता, हर्मोनमा आउने गडबडी, हर्मोन प्रयोग भएर बनाइएका औषधिहरु, विकिरण सँगको प्रत्यक्ष सम्पर्क तथा विभिन्न आनुवंशिक रोगहरुले गर्दा समेत यो रोग हुन सक्दछ। मुलतः इस्ट्रोजन भन्ने हर्मोनले स्तनको वृद्धि विकासमा भूमिका खेल्दछ। यहि हर्मोनको अनियंत्रित रुप नै स्तन क्यानसरको पनि कारक हो। त्यस्तै आमा नबन्नु वा ढिलो उमेरमा आमा बन्नुले पनि स्तन क्यानसरको जोखिम रहन्छ। विलासी जीवनशैली, जन्मिदा उच्च तौल तथा स्तनमा हुने अन्य रोगले गर्दा समेत क्यान्सरको सम्भावना रहन्छ।
स्तन क्यान्सर हुँदा कस्ता लक्षणहरु देखिन सक्छन् ?
स्तन वा काखिमा गाँठो छामिनु सबैभन्दा बढी देखिने लक्षण हो। सबै गाँठा क्यान्सर हुदैनन्, तर क्यान्सर हैन भनेर छुट्याउनु चाहिँ जरुरि हुन्छ। महिनावारी सँगै गाँठो सानो/ठूलो नहुनु, धेरै नदुख्नु, गाँठो स्तन भन्दा बढि कडा हुनु, बाहिर छाला वा भित्र मासु सँग जोडिएको जस्तो महसुस हुनु, स्तनको आकार बिग्रीनु, स्तनको छालामा डिम्पल वा खाल्डाखुल्डी पर्नु, रातो हुनु, धेरै चिलाउनु, स्तनको मुन्टोको आकार बिग्रीनु, चिरा पर्नु वा रगत आउनुले स्तन क्यान्सर तर्फ संकेत गर्दछ। त्यस्तै धेरै विकसित भइसकेको स्तन क्यान्सरले हड्डी जोर्निहरु दुख्ने, अस्वभाविक तौल कम हुने, शरिरमा बिलिरुबिनको मात्रा बढेर जन्डिस भएर आँखा तथा छालामा पहेलोपना आउने, खानामा रुचि नहुने, कमजोरी हुने जस्ता लक्षण देखिन्छन्।
स्तन क्यानसरको पहिचान कसरी गर्ने ?
आफूलाई क्यान्सर सँग सम्बन्धित कुनै लक्षण देखिएमा वा चिकित्सकलाई शंका लागेमा विभिन्न जाँच हरु गरेर स्तन क्यान्सरको पहिचान गर्न सकिन्छ। ४५ वर्षदेखि ५४ वर्ष सम्मका महिलाले क्यानसरको कुनै लक्षण वा शंका नलागेतापनि हरेक वर्ष म्यामोग्राम गराउन अमेरिकन क्यानसर समाजले सल्लाह दिएको छ। ४० देखि ४४ वर्षको हकमा महिलाले इच्छाएको खण्डमा हरेक वर्ष तथा ५५ वर्ष भन्दा माथिका महिलाले दुई वर्षमा एक पटक म्यामोग्राम गर्ने सल्लाह दिने गरिन्छ।
म्यामोग्राम के हो ?
म्यामोग्राम सानो मात्रामा एक्स–रे प्रयोग गरेर स्तनको कोषिकाहरुलाई चित्रमा देखाउने एउटा प्रविधी हो। यसले स्तनमा देखिने विभिन्न गाँठाहरुको अध्ययन गर्ने तथा यिनिहरुको आकारमा आउने परिवर्तन लाई नियमित जाँच बाट अध्ययन गर्ने गर्दछ। यसको प्रयोग क्यानसर पत्ता लगाउन तथा क्यान्सर नहुँदा जोखिम पत्ता लगाउन समेत हुने गर्दछ।
अल्ट्रासाउन्डको प्रयोग
हामिले सुन्नसक्ने भन्दा बढी आवृत्तिको ध्वनी प्रयोग गरेर, त्यसबाट आउने प्रतिबिम्बको अध्ययन गरेर स्तनका विभिन्न भागको अध्ययन गरिन्छ। यसबाट गाँठो लगायत स्तनका अन्य रोगहरु पत्ता लगाउने तथा जोखिम वर्गीकरण गर्ने गरिन्छ। अल्ट्रासाउन्डको प्रयोग गरेर स्तनको गाँठोको सानो मासुको टुक्रालाई प्वाल भएको पातलोको सियोको मद्दतले निकाल्नेलाई बायोप्सी भनिन्छ। बायोप्सी जाँच बाट गाँठो कस्तो अवस्थामा रहेको र कस्तो उपचार प्रयोग गर्ने भन्ने निर्णय गरिन्छ। त्यस्तै अल्ट्रासाउन्ड मेसिन बाट गरिने इलास्टोग्राफि जाँचले समेत गाँठोको कडापन जाँच गरेर प्रकृति अध्ययन गर्न सकिन्छ।
स्तन क्यानसरको उपचार
उपचार सामान्यतया क्यान्सर कुन अवस्थामा छ भन्ने कुराको पहिचानमा भर पर्दछ। क्यान्सरको अवस्था अनुसार स्तन काटेर फाल्नु पर्ने तथा काखिका ग्रन्थिहरु निकाल्नुपर्ने हुन सक्दछ। सकेसम्म कम भाग निकालेर स्तनको आकार जोगाइराख्ने अथवा नक्कली स्तन राख्ने समेत गरिन्छ। त्यस्तै औषधि र रेडियेसनको प्रयोग द्वारा समेत यसको उपचार गरिन्छ। क्यानसरका कोषिकाहरुले हर्मोनसँग देखाउने प्रतिक्रियाका आधारमा समेत उपचार निर्धारण गरिन्छ। क्यान्सरको उपचार सँगै नियमित चिकित्सक सँग जाँच गरिरहन पर्दछ। पहिलो ५ वर्षमा क्यान्सर पुनस् फर्किन सक्ने सम्भावना रहेकाले यो अवधिमा चिकित्सक सँग परामर्श गरेर विभिन्न जाँच गरिरहनु पर्दछ।
आफ्नो स्तनको आफैले गर्ने जाँचका ५ विधिहरु:
सेल्फ ब्रेस्ट इक्जाम अर्थात् आफैले गर्ने स्तनको जाँचमा महिलाले आफ्नो स्तनका हरेक भागलाई पालैपालो छामेर जाँच गर्ने गरिन्छ। हरेक महिना यस्तो जाँच आफै गर्ने तथा कुनै शंका लागेमा चिकित्सकको परामर्श लिने गर्नुपर्दछ।
पहिलोः ऐना अगाडि कपडा फुकालेर आफ्नो स्तन हेर्ने र कुनै अस्वभाविक आकार, रंग, डिम्पल, स्तनको मुन्टोको आकार के छ भनेर हेर्ने।
दोस्रोः अब आफ्नो दुबै हात माथी उचालेर आफ्नो स्तन र काखिलाइ नियाल्ने।
तेस्रोः हात माथी उचालेको बेला स्तनको मुन्टोबाट कुनै पानी, दूध वा रगत आएको नियाल्ने।
चौथो: खाटमा पल्टिएर आफ्नो स्तनलाई अर्को पट्टिको हातले नरम र गोलाकार रुपमा हरेक भाग लाई छाम्ने। त्यस्तै काखिलाई पनि छाम्ने।यसरी छाम्दा स्तनको कुनै भाग पनि नछुट्ने गरि छम्ने।
पाचौः उभिएर वा बसेर चौथो विधि अनुसार स्तनलाई चारैतिर छाम्ने। नुहाउने बेला समेत यो गर्न मिल्छ।
स्तन क्यान्सर सँगको लडाइमा हामी सबै सचेत र सहभागी हुनु पर्दछ। समयमै पत्ता लगाउन सके यसको उपचार सहज छ। पारिवारिक सहयोग, स्तन क्यान्सर प्रतिको ज्ञान, सचेतना र जागरण तथा सरकारी स्तर बाट यसको जाँच र उपचार प्रती लिइने विभिन्न नीतिले पनि अवश्य यसको उपचारमा टेवा पुर्याउन सक्दछ।
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                