रोेगसँग लड्नका लागि सुरक्षित खाद्यको पहुँचमा हुनु आवश्यक, यसरी राखौं खानपानमा ध्यान
काठमाडौं, ३० असोज । आज विश्व खाद्य दिवस, यो वर्ष कोरोना महामारीका कारण भोकले प्रभावित भएकाहरुमा समर्पित भएर मनाइँदैछ ।
भोकले पीडित मानिसहरुमा जागरुकता फैलाउने उदेश्यका साथ हरेक वर्ष १६ अक्टुबरका दिन विश्व खाद्य दिवस मनाइने गरिन्छ । दिवसका अवसरमा भोकमरी विरुद्ध कदम उठाउनका लागि अपिल गरिन्छ ।
कोरोना महामारीका कारण यस वर्ष लाखौंको संख्यामा मानिसहरुमा खाद्यको पहुँच नहुँदा भोकमरि फैलिन सक्ने भने संयुक्त राष्ट्र संघले चिन्ता व्यक्त गरेको छ, अझैपनि कोरोना महामारीले जनजीवन सामान्य हुन नसक्दा अझैपनि भोकमरि फैलिन सक्ने र मानिसहरु खाद्यको पहुँचमा नभएको संघले बताएको छ ।
मानिसहरुमा खाद्य सुरक्षाको पहुँच नहुँदा रोगसँग लड्न सक्ने क्षमता उनीहरुमा कमजोर हुने र सबैभन्दा बढी प्रभावित पनि उनीहरु नै हुने गरेका छन् । नागरिकमा सुरक्षित खाद्यको पहुँच नहुँदा विश्वका झन्डै ५ करोडभन्दा बढी मानिसहरुमा कुपोषणको समस्या हुने गरेका छन् भने झन्डै साढे तीन करोड भन्दा बढी मानिसमा पुड्कोपनको समस्या देखिने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
शरीरलाई आवश्यक पर्ने विविध किसिममा पौष्टिक तत्वहरुका लागि र रोगबाट लड्नका लागि खाद्यभन्दा पनि सुरक्षित खाद्यको आवश्यकता हन्छ । त्यसका लागि सन्तुलित भोजको पनि आवश्यकता हुने तर ठीक मात्रामा मिलाएर तयार पारिने भोजनको स्वरूपलाई सन्तुलित भोजन भन्ने गरिन्छ ।
सुरक्षित खाद्यका लागि मानिसलाई स्वस्थ शरीरको लागि हामीलाई सन्तुलित भोजन सेवन गर्नु अति नै जरुरी हुन्छ । हामीले खाने भोजनमा शरीरलाई चाहिने आहारको मात्रा कम भयो भने पनि बेफाइदा गर्छ र बढी भएमा पनि हानीकारक हुन्छ । तसर्थ उचित मात्राको पौष्टिक आहारको सन्तुलित भोजन नै स्वस्थ र दीर्घ जीवनको मुख्य आधार हो ।
हाम्रो शरीरलाई चाहिने पौष्टिक आहार के हुन् ?
हाम्रो शरीरमा दैनिक क्रियाकलापको निम्ती सामान्यतया निम्न आहारको आवश्यकता पर्छ :
कार्वोहाईड्रेटः हामीले खाने खानाको मुख्य भाग कार्वोहाइड्रेटले ओगटीरहेको हुन्छ । यसबाट पाइने क्यालोरीले हामीले दैनिक श्रमयुक्त कार्य गर्न सकिरहेका हुन्छौं । भात, आलु रोटी, पास्ता आदि वस्तुहरु कार्वोहाइड्रेटको मुख्य श्रोतहरु हुन् ।
प्रोटिनः यसले हाम्रो शरीरलाई बढ्न मद्दत गर्छ तथा विभिन्न रोगसंग लड्न प्रतिरोधात्मक शक्ति पनि प्रदान गरिरहेको हुन्छ । अण्डा, माछामासु, चिज, गेडागुडी आदि यसको मुख्य श्रोत हुन ।
फ्याटः हाम्रो शरीरमा शक्ति संचित भएर फ्याट अर्थात बोसोको रुपमा रहन्छ । तेल, घिउ लगायतका चिल्लो पदार्थ यसका मुख्य श्रोत हुन ।
भिटामिनः यसले हाम्रो शरीरमा उर्जा उत्पादन गर्ने विभिन्न प्रक्रियाहरूमा सहयोगीको रुपमा काम गर्छ । साथै आँखा, हड्डी, रगत आदि अंगहरुको संचालनमा पनि यसले भूमिका खेलिरहेको हुन्छ । हरियो सागपात, फलफुल, माछामासु आदि यसका श्रोतहरु हुन् ।
खनिज पदार्थः सोडियम, पोटासियम, क्याल्सियम, म्याग्नेसियम, जिंक लगायतका खनिज पदार्थहरु हाम्रो शरीरलाई विभिन्न क्रियाकलापको निम्ती आवश्यक पर्दछन
पानीः अरु पौष्टिक आहार जस्तै पानी पनि हाम्रो शरीरलाई नभई नहुने महत्वपूर्ण तत्व हो । सन्तुलित भोजनमा यी सबै आहार उचित मात्रामा मिलाएर तयार पारिएको हुनुपर्छ ।
सहि मात्रामा कसरी खाने ?
हामीले खाने खाना शक्तिको रुपमा परिवर्तन हुँदा क्यालोरीमा मापन गरिन्छ । एक वयस्क पुरुषलाई दिनमा लगभग २५ सय क्यालोरी र महिलालाई लगबग २२ सय क्यालोरी आवश्यक पर्छ । हामीले गर्ने श्रमको आधारमा क्यालोरीको घटबढ हुनसक्छ । खासै श्रमयुक्त काम नगर्ने मानिसको निम्ती क्यालोरी कम चाहिन्छ भने कडा श्रम गर्ने मानिसलाई धेरै क्यालोरीको आवश्यकता पर्ने हुन्छ । हामीले खाने खानाको क्यालोरी हिसाव गरेर एक दिनमा कति खायौं भनेर थाहा पाउन सक्छौं । हामीले खाने क्यालोरी सबै शक्तिमा उपयोग भएन भने त्यो बोसोको रुपमा सञ्चित हुन जान्छ र त्यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।
सन्तुलित भोजनको “प्लेट मोडल” के हो ?
सन्तुलित भोजनमा प्लेट मोडलको अवधारणा निकै चर्चित छ । हामीले खाना खाने प्लेटलाई पाँच भागमा विभाजन गर्न सकिन्छ । त्यसमा दुई भाग भात, रोटी, आलु जस्ता कार्वोहाइड्रेट युक्त खानाहरु, अर्को दुई भाग तरकारी र फलफुल र बाँकी एक भाग माछामासु, अण्डा वा चिजलाई राख्न सकिन्छ । यसरी “प्लेट मोडल” मा आधारित भएर दैनिक सन्तुलित भोजन गर्नाले हामीलाई चाहिने पौष्टिक आहारको सहि मात्रा मिल्न सक्छ ।
भोजन सन्तुलित नभए स्वास्थ्यमा के असर गर्छ ?
हाम्रो खानामा चाहिने भन्दा बढी मात्रामा कार्वोहाइड्रेट र फ्याट भए त्यो बोसोको रुपमा संचित हुन जान्छ । यसले मधुमेह, उच्च रक्ताचाप, हर्ट एट्याक, स्ट्रोक जस्ता गम्भीर रोगहरु निम्त्याउन सक्छ । साथै खानामा पौष्टिक तत्वको उचित मात्रा नपुगेमा कुपोषण लगायतका विभिन्न रोगहरुले सताउन सक्छ ।
सन्तुलित भोजनको निम्ती विश्व स्वास्थ्य संगठनको ५ सुझाव:
१.हामीले खाने क्यालोरी र खर्च गर्ने क्यालोरी दैनिक रुपमा समान हुन जरुरी छ । जति खान्छौ, त्यसलाई श्रम गरेर खर्च गर्नाले तौल नियन्त्रण गर्छ ।
२.फ्याटको मात्रालाई सकेसम्म कम सेवन गर्नुपर्छ । वनस्पती श्रोत फ्याट शरीरलाई लाभदायिक हुन्छ ।
३.फलफुल, तरकारी, गेडागुडी र फाइबर युक्त खाना सकेसम्म बढी सेवन गर्नुपर्छ ।
४.नुनको सेवन दैनिक ५ ग्राम भन्दा कम गर्नु फाइदाजनक हुन्छ ।
५.फोहोर र किटाणुले संक्रमण गरेको खानेकुरा सेवन गर्नुहुदैन ।
सन्तुलित भोजन गरौं, स्वस्थ जीवनयापन गरौँ ।