हात धुनका लागि साबुन पानीको प्रयोग नै उचित !
प्रत्येक वर्ष १५ अक्टुबरका दिन विश्व हातधुने दिवस मनाउने गरिन्छ । 'सँधै हात धुनुहोस्' भन्ने नाराका साथ यस वर्षको विश्व हातधुने दिवस मनाइँदैछ । यसको उदेश्य भनेको मानिसहरुलाई सरसफाईको सम्बन्धमा जागरुक बनाउनु हो । पछिल्लो समय कोरोना महामारीका कारण मानिसहरु हातको सरसफाइलाई लिएर निकै नै सचेत बनेका छन् । कुनैपनि रोगको संक्रमणबाट जोगिनका लागि पटक पटक हातधनुे र ह्यान्ड स्यानिटाइज गर्नु पर्छ भन्ने सल्लाह दिने गरिन्छ । तर, पछिल्लो समय हात धुनुको साटो स्यानिटाइजरको प्रयोग गर्ने क्रम बढेको छ भने विज्ञहहरुका अनुसार हातको सफाईका लागि स्यानिटाइजरभन्दा बढी उपयुक्त सँधै साबुन पानीको प्रयोग नै उचित हुन्छ ।
अमेरिकाको सीमन्स यूनिभर्सिटीको होम एन्ड कम्युनिटी हाइजीन प्रोफेसर एलिजाबेथ स्कटका अनुसार साबुन र पानीले हात धोएपछि सफा कपडाले पुछ्नु नै सबैभन्दा बढी उचित हुन्छ । साबुन पानीले हात धुनाले किटाणु र भाइरसलाई नष्ट गर्छ । साबुनले हाच धोएपछि छाला सुक्खा हुन्छ र त्यसले हातमा किटाणु आउन दिँदैन र मानिसहरु बिरामी हुने सम्भावना पनि कम भएर जान्छ ।
स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार नेपालका ७० प्रतिशत मानिसलाई हात धुने उचित तरिकाबारे थाहै थिएन भने झन्डै २ महिना अघि नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययन अनुसार नेपालका ८० प्रतिशत मानिसले हात धुन जानिसकेका छन् भने २० प्रतिशतले अझै उचित तरिकाले हात धुन जानेका छैनन् । हात धुँदा पनि साबुनको प्रयोग पछिल्लो समय बढ्दो छ । कोरोना महामारीका कारण हात धुने बानीको विकास उल्लेख्य रुपमा भएपनि स्यानिटाइजर र साबुनको बहस सँधै जारी रहन्छ ।
जनरल फिजिसियन डा दिपेश शाक्यका अनुसार साबुनले हात धुनुको फाइदा भनेको साबुनले किटाणुलाई तुरुन्त मार्ने काम गर्छ । साह्रो साबुनको सट्टा झोलिलो साबुनजन्य पदार्थ बढी फाइदाजनक हुनेको गरेको उनको भनाइ छ । खोक्दा र हाच्छ्यूँ गर्दा मुखबाट निस्कने छिटाहरुले कुनैपनि प्रकारको सतह या सामानमा घन्टौंसम्म रहिरहन्छ र हातको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्छ । साबुनले रोगजन्य किटाणुको परतलाई नष्ट गर्नमा मद्दत गर्छ जसले मानिसलाई संक्रमित गर्ने क्षमता कम भएर जान्छ ।
साबुनमा एम्फीफाइल्स नामक पदार्थ हुन्छ जसले भाइरसलाई निष्क्रिय बनाउने काम गर्छ । डा शाक्यका अनुसार साबुनको प्रयोगका लागि सार्वजनिक स्थानमा राख्नु उचित हुँदैन । किनकी एक जनाले हात धोइसकेपछि त्यहि साबुन अरुले प्रयोग गर्दा उसमा संक्रमणको जोखिम उच्च हुन्छ । त्यसकारण साबुनलाई घरको प्रयोगका लागि राख्नुपर्छ भने सार्वजनिक स्थानमा झोलिलो साबुन राख्नु उचित हुन्छ । साथै छालामा एलर्जी हुने व्यक्तिले छुट्टै साबुनको प्रयोग गर्नु हुन्छ । हात धुने र नुहाउने प्रयोजनका साबुनलाई पनि अलग राख्नुपर्छ ।
डा शाक्यले मानिसले दिनभरमा सबैभन्दा धेरै मोबाइल, कम्प्युटरको माउस, किबोर्ड, चर्पी र कोठाहरुको झ्याल ढोका, ढोकाको ह्यान्डल, एक अर्काले हात मिलाउने, खल्ती, पैसा लगायतका सामग्री र स्थानहरु छुने गरेको र यस्ता चिजबस्तुलाई छोइ राख्दा त्यसमा भएका किटाणु सजिलै मानिसकको छालासँग सम्पर्कमा आएर संक्रमण गर्न सक्ने बताउँछन् ।
डा शाक्य भन्छन्, ‘स्यानिटाइजरको प्रयोग हामीले साबुन पानीको व्यवस्था नभएको अवस्थामा मात्रै गर्नु उचित हुन्छ । ६२ प्रतिशत अल्कोहलयुक्त स्यानिटाइजरले लिपिड मेम्ब्रेनलाई नष्ट गर्छ तर यो नोरोभाइरस र राइनोभाइरस जस्ता नन एनभलप्ड भाइरसमाथि प्रभावकारी हुँदैन । साथै यो साबुनले जसरी भाइरसलाई पनि नष्ट गर्दैन ।’
डा शाक्यका अनुसार ह्यान्ड स्यानिटाइजरमा तीन कुरा हुनु आवश्यक हुन्छ अनि मात्रै त्यो प्रभावकारी हुन्छ । जस अनुसार ह्यान्ड स्यानिटाइजरमा अल्कोहलको मात्रा बढी हुनु पर्छ र त्यसलाई तपाईंको पुरै औंलाहरुमा राम्रोसँग लगाउनुपर्छ । ६० प्रतिशतभन्दा बढी अल्कोहल भएको ह्यान्ड स्यानिटााइजर हातमा लगाउनाले जलन महसुस हुनु स्वभाविक हुन्छ । स्यानिटाइजर लगाउनु भनेको तपाईंसँग साबनु पानीले हात धुने व्यवस्था नभएको बला मात्रै हो ।
कोलम्बिया विश्वविद्यालयका इपिडिमियोलोजिस्ट स्यान्ड्रा अल्ब्रेक्टले ह्यान्ड स्यानिटाइजरका लागि तपाईंलाई स्यानिटाइजर भए पुग्छ भने साबुन पानीले हात धुनका लागि साबुका साथै पानीको पनि आवश्यकता हुन्छ । जब तपाईं घरबाट बाहिर जाँदा स्यानिटाइजरको प्रयोग उचित भएपनि सकेसम्म साबुन पानीले हात धुने प्रयास गर्नुपर्छ ।
डा शाक्यले हात धुने सहि तरिकबारे बताउँदै भने, ‘पानी मात्रैको प्रयोग हात धुनका लागि गर्नु उपयुक्त हुँदैन । त्यसकारण किटाणुलाई मार्नका लागि साबुनको प्रयोग गर्नुपर्छ । साबुन लगाइसकेपछि कम्तिमा २० सेकेन्डसम्म हातलाई मिच्नुपर्छ । औंलाका काँपहरु, नङका भाग जस्ता ठाउँलाई राम्रोसँग मिच्नुपर्छ । अनि मात्रै सफा पानीले हात पखालेर सफा सुखेकेका कपडा, रुपमाल वा तौलियाको प्रयोगले हातलाई सुकाउनुपर्छ ।’
खुला र असुरक्षित रूपमा राखिएको वस्तुमा किटाणुहरू धेरै हुन्छन् । त्यसकारण यस्ता वस्तु वा ठाउँमा गएर आइसकेपछि हातधुने बानीको विकास गर्नुपर्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कम्तिमापनि १५ देखि ३० सेकेन्ड सम्म सफापानी र साबुनले मिचीमिची हात धुनु पर्छ ।
हात धुने उचित तरिकाबारे जानकारी नहुँदा प्रत्येक वर्ष नेपालमा ५ लाखको हाराहारीमा बालबालिकामा झाडापखाला जस्ता समस्या देखिन्थ्यो भने अहिले हात धुन जानेकै कारण यो रोग र अन्य रोगका बिरामीको संख्या पनि कमी अएको छ ।