किशोरहरूलाई मनोचिकित्सक डा.शाक्यको यस्तो छ सुझाव
मनको स्वास्थ्य, अवस्था, रोग र तिनलाई प्रभावित पार्ने यावत् तत्वहरूको अध्ययन, चिन्तन र व्यावहारिक अभ्यास मनोचिकित्सक (psychiatrist) कर्म हुने गर्छ । मनोचिकित्साकर्मी, शिक्षक र विद्यार्थी बनेको डेढ दशकभन्दा लामो अवलोकन र अनुभवबाट सिकेको केही कुरा यहाँ राख्न गइरहेको छु ।
हाम्रो वस्तुस्थितिले गर्दा तिमी केटा, किशोरहरूलाई मनोस्वास्थ्यका दृष्टिबाट मैले देखेका खतरा र तिमीहरूले सजग रहनुपर्ने विषयमा कसरी भनुँ भनी म बेलाबेला गम्दछु । १२–१४ वर्षको उमेरमा कसैले तिमीहरूलाई उपदेश, अर्ती, सल्लाह वा लेक्चर जे भने पनि केही भनिटोपलेको मन नपर्न सक्छ । तिमीहरूलाई यो पनि एक गन्थन, गन्गन्, रड्यास, ल्याङल्याङ वा बकबास वा झुर लाग्न सक्छ । तिमीहरूलाई मनपर्ने तरीका सोच्दासोच्दै, खोज्दाखोज्दै तिमीजस्ता कति केटाहरू जीवनका धेरै खालका दुर्घटनामा परेर हामीकहाँ ल्याउनुपरेको देखेपछि यो मनोचिकित्सक अंकलको मन पनि छटपटाएको हो । अब तिमीलाई के कसरी मनपर्ने ढंगले कुरा राख्ने भन्दा पनि के कुरा भन्नु छ, त्यसलाई फोकस गर्दै छु ।
तिमी किशोरहरू विशेषलाई आफ्नो मनोस्वास्थ्य कायम राख्न, मनोरोग रोकथाम गर्न र तिमी आफू पनि आफ्नो तर्फबाट अरूको मानसिक अवस्था खल्बलिनुको कारण नबनोस् भनी ध्यान पु¥याउनु पर्ने केही कुराहरू यहाँ राख्दै छु ।
१. तिम्रो आगमन तिम्रा अभिभावकका लागि एक सुखद मोड हो । विशेषगरी हाम्रोजस्तो पुरुषप्रधान समाजमा जहाँ छोराले काजकिरिया गरेर मात्र पितृ तर्ने विश्वास गरिन्छ । घरमा दिदीबहिनी भए कसले बढी लाडप्यार, सुविधा र प्राथमिकता पाउने गर्छ ? सामान्यतया नेपाली समाजमा छोरीचेलीले भन्दा छोराले नै बढी प्राथमिकता पाएको हुन्छ, यो हाम्रो यथार्थ हो । यसले छोरीचेलीको मन र जीवनमा त अमित प्रभाव छाड्छ नै, छोरालाई पनि खराब असर नपारी छाड्दैन । यस्तो पहुँचले हुर्किरहेका बाल किशोर मनमस्तिष्कमा विभेदको बिउ रोपिन्छ । छोरा मान्छेको मनमा आधारहीन महत्वको भूत चढ्न सक्छ र पुल्पुलिने बढ्ता सम्भावना हुन्छ । जीवनको सुरुवातमा नै गलत प्रवृत्तिको रंग पोतिएपछि सारा जीवन कतातिर दोहरिएला ? यसमा मेरो के दोष भन्ने लाग्ला तिमीलाई । तर, होस आउने भएपछि याद गरौँ भाइ हो, आफ्नो अवस्था के–कस्तो हो ? छोरा हुनुको दम्भले अनावश्यक र हानिकारक रंगमा त रंगिएको छैन आफ्नो अस्तित्व र पहिचान ? कम्तीमा होस आएपछि, अरूले अनावश्यक पुल्पुल्यायो भन्दैमा आफू भुइँ छाड्न जरुरी हुन्छ र ? आफ्नो ठाउँमा रहेर सम्हालिन त सकिन्छ नि, हैन ?
२. तिमीले गर्दैमा पितृ तर्ने र एउटै कोखबाट जन्मेका तिम्रा दिदीबहिनीले गर्दा नहुने होला त ? विवेकशील मानव भएर जन्मिएपछि स्वतन्त्र चिन्तन गर र सम्झ–तिमी पनि छोरीचेलीजतिकै समान हौ, न ठूलो न सानो । तर, परम्परा र समाजले छोरा मान्छेलाई स्पष्ट रूपमा फाइदामा राखेको छ । त्यसको गलत उपयोग नगर । क्षणिक रूपमा आफ्नो मतलब सिद्ध भयो भन्ने लागे पनि वास्तवमा त्यसले खराब परिणति ल्याउनेछ । त्यो सबैका लागि घातक हुन जान्छ ।
३. चेलीको सम्मान भनेको तिम्रो आफ्नो पनि सम्मान हो । तिम्रो जननीको सम्मान हो । नारी कसैलाई पनि जिस्क्याउने, खेलाउने, मान हानि, धोकाधडी, दुव्र्यवहार गर्नेजस्ता अमानवीय कर्मदेखि दुर रहनू । हरेक चेलीलाई आफ्नै छोरी, दिदीबहिनी सम्झेर व्यवहार गर । आफन्तलाई अरूबाट जस्तो व्यवहारको आशा राख्छौँ, त्यस्तै आचरण गर्नेछौँ । चेलीलाई बिगार्ने छोरा मान्छे नपुंकस हुन् । यसर्थमा कि मान्छे भएर अन्यायबाट बच्नु बचाउनुपर्ने आफैँले उपकार र सहयोगको ढोङ रचेर अरूलाई अन्याय गर्ने पुरुषार्र्थी कसरी हुन सक्छ ?
४. हेर, बाबु । यो उमेर, यो किशोर अवस्था भनेको मान्छे सप्रिने वा बिग्रिने निक्र्योल हुने जीवनको निर्णायक चरण हो । यो उमेरमा उत्साह, उमंग र जोस भरपुर हुन्छ, तर त्यसैअनुसार ठीक–बेठीक छुट्याएर सही निर्णय लिने र त्यसतिर आफ्नो ऊर्जा लगाउने विवेकको परिपक्वता आइसक्दैन । यस अवस्थामा कुलत, कुसंगत र खराब आचरणको पछि लाग्ने डर अधिक हुन्छ । यो समयमा अभिभावकले आवश्यक सतर्कता अपनाउन र उनीहरूको निगरानी गर्न आवश्यक हुन्छ । यसलाई अन्यथा सम्झने, आपत्तिको रूपमा बुझ्ने गल्ती नगर । कतिपय बेलामा आमाबाको निगरानी र हेरविचार अनावश्यक गनगन वा केरकारजस्तो लाग्न सक्छ । यसमा तिमीले कुरा बुझेर आफ्ना अभिभावकलाई समेत आफ्नै कल्याण गर्नमा सहयोग पु¥याउन सक्छौ ।
५. यो उमेरमा आफ्ना अभिभावक र प्रियजनबाट लुकाउनुपर्ने गरेर कुनै खराब कुरा गर्नु वा हुनु भनेको एक हिसाबले सफ्टवेयरमा भाइरस छिरेजस्तै हो । यसले समग्र जीवन, पढाइ, करिअर, भविष्य र चिनारी नै डामाडोल वा चौपट पारिदिन सक्छ ।
६. देखासिकीमा खतरनाक कदम उठाउँदा, जस्तै ः असीमित गतिमा बाइक हाँक्दा दुर्घटना पर्छ । कुसंगतमा परेर नशालु पदार्थको दलदलमा फस्न सक्छ । कुलतमा परेर असुरक्षित र अनुपयुक्त यौन आचरण, जुवातास, वेश्यावृत्ति, इन्टरनेट मोबाइलको लतमा जाकिन सक्छ । यही उमेर हो जसमा पाइलापाइला सतर्क भएर अगाडि बढाउनुपर्ने हुन्छ । केही गर्न कुनै पनि कदम लिन अगाडि सही–गलत ठम्याएर मात्र अघि बढ्नुपर्ने हुन्छ । आफूले ठम्याउन नसकेको अवस्थामा अभिभावक वा आफ्नो मनले खाएको व्यक्तिसँग भलाकुसारी गर्न सकिन्छ ।
७. यो समय जीवन निर्माणको चरण पनि हो । मिहिनेत नगरी कुनै पनि कुरा बन्दैन । तिम्रो जीवन, भविष्य र करिअर मूलतः तिम्रै हातमा हो । आफैँले परिश्रम, पुरुषार्थ र इलम नगरी दिगो सफलता हासिल हुने छैन । त्यसैले, अल्छी नगर, आफ्नो काम आफैँ गर, सकेको इलम गर र समय खेर नफाल ।
८. उमेर बढ्दै गएपछि यहाँका विसंगतिसँग पनि साक्षात्कार हुँदै जानेछौ । हाम्रो अहिलेको परिस्थिति त्यति अनुकूल छैन भन्ने तिमीले बुझ्ने नै छौ । बुद्ध, सगरमाथा, हिमनदी, प्रकृति र पुर्खाको संस्कृति तिम्रो नजरमा त्यसबेला जँच्ने छैन । अवसर, रोजगार, करिअर आदिको अभाव नै देखिनेछ । फेसन बनेको सपनाले तिमीलाई पनि पक्का गाँज्नेछ । म भन्छु– लक्ष्य–उद्देश्य पक्कै बनाऊ । मान्छौ भने, देशमा नै सपना बुन, देशमा नै पुरुषार्थ गर । खाली विदेश मात्र नताक । विदेशमा सपना खोज्दै हिँड्दा दिनहुँ अब नियमित रूपमा कफनहरू फिर्ता हँुदै छन् । कति बेघर भएका छन् । अन्ध रूपमा सपनाको पछि लागेर, कसैलाई चाहिनेभन्दा ज्यादा विश्वास गरेर आफैँलाई पनि नमार है । बरु सके जति आफ्नो, परिवार, समाज र देशको लागि केही उपयोगी काम गर्ने कोसिस गरिरहनु ।
९. स्वदेशमा नै रहन सक्दैनौ भने केही छैन । बुझेर, गुनेर, राम्रो आधार बनाएर मात्र स्वदेशको भूमि छाड्नू । लहलहैमा आफ्नो प्रिय आँगन नछाड्नू । विदेशमा संसारको जुनै कुनामा गए पनि भए पनि आफ्नो कुल, परम्परा, समाजको बेइज्जत नगर, धज्जी नउडाऊ । सक्छौ, सम्मान गर । सचेत भएर सही कुरा अवलम्बन गर ।
१०. आफ्नो मात्र होइन, आफूआसपासका मानिसको पनि ख्याल राख, हेक्का राख । सहयोग लेऊ र देऊ । क्लासमेटसँग मात्र होइन, अरूसँग पनि मिलनसार होऊ । जानीबुझी कुनै रूपमा आफ्नोतर्फबाट अरू कसैको हानि–नोक्सानी हुन नदिनू । आफूलाई पनि अरूबाट धोकाबाट बचाऊ ।
११. मन हो, शरीर हो, जीवन हो । बिच्किन सक्छ, अशक्त रोगी बन्न सक्छ र तनावले घेरिन सक्छ । दुःखमा तिमी एक्लो छैनौ । आफूलाई एक्लो नसम्झ । सही हितैषी चिन र आफ्नो मनको भारी बिसाऊ । उपचार गर्नमा नहिच्किचाउ । आवश्यक परेमा परामर्श, सल्लाह र सहयोग लेऊ–देऊ ।