ज्येष्ठ नागरिकलाई कोरोना संक्रमणबाट कसरी जोगाउने ?



Download our app to get more features

कोभिड-१९ अर्थात् कोरोना भाइरसको संक्रमणको जोखिम सबैभन्दा धेरै ज्येष्ठ नागरिकमा देखिएको छ । नेपालको सन्दर्भमा पनि यसको उच्च जोखिममा ज्येष्ठ नागरिक रहेका छन् ।

कोभिड–१९ को संक्रमणसँग लड्ने क्षमता कमजोर भएका मानिसहरूमा यसको संक्रमण भयो भने यसबाट हुने जटिलता बढी नै देखिएको छ । उमेरले ६५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक र जुन उमेरको भए पनि कुनै कारणले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरू बढी जोखिममा हुन्छन् ।

कुनै दीर्घरोग लागेको व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । फोक्सो, मुटुको रोग, दम, उच्च रक्तचाप, नियमित डायलाइसिस गराइरहेका व्यक्ति, क्यान्सरका बिरामीसँग रोग प्रतिरोधात्मक क्षमता (रोगसँग लड्ने क्षमता) कमजोर हुन्छ । उमेर बढ्दै जाँदा क्यान्सरको जोखिम पनि बढ्दै गएको हुन्छ । यसकारण ज्येष्ठ नागरिकहरू सधैँ कुनै न कुनै दीर्घरोगको जोखिममा हुन्छन्, रोगी भएका हुन्छ । अङ्ग प्रत्यारोपण गरेका व्यक्तिहरूमा पनि रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ।

नियमितरूपमा धुमपान गर्ने व्यक्तिहरूमा पनि शरीरमा रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । कुनै वयस्क व्यक्ति धुमपान गरिरहेको छ भने उसमा पनि कोरोना संक्रमणको जोखिम बढी हुन्छ ।

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने ज्येष्ठ नागरिकको संख्या भयावह नै छ । विश्वमा ८० वर्ष उमेरमाथिका व्यक्तिमा कोरोना संक्रमणपछिको मृत्युदर १५ प्रतिशत भन्दा धेरै रहेको छ ।

दीर्घरोगी र ज्येष्ठ नागरिकलाई छुट्टै आइसोलेसन बनाएर चिकित्सक वा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्छ । होम आइसोलेसनमा राख्नु हुँदैन । उनीहरूमा जुनसुकै वेला जटिलता आउन सक्छ । त्यसैले, कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरूलाई संस्थागत आइसोलेसनमा स्वास्थ्यकर्मीको विशेष निगरानीमा राख्नुपर्छ ।

अहिले नेपालको तथ्यांकमा मृत्युदर पनि बढ्ने क्रममा छ । समुदायमा संक्रमण फैलिन थालेपछि घरमै रहेका ज्येष्ठ नागरिकमा पनि संक्रमण हुन थाल्यो र मृत्युदर बढ्दो छ । संक्रमण नियन्त्रण गर्न सकिएन भने नेपालमा पनि मृत्युदर बढ्दै जाने अवस्था आउँछ । ज्येष्ठ नागरिकमा बढी संक्रमण देखियो भने मृत्युहुने दर पनि बढी नै हुनसक्छ ।

नेपाल सरकारले जनस्वास्थ्यको मापदण्ड निर्धारण गरेको छ । यसको पालना गर्नुपर्छ । हामीले फोन गर्दा पनि कोरोना लाग्नबाट बच्ने उपाय सुनिरहेका हुन्छौँ । हरेक दिन हामीले सुनेका चेतनाका कुरा कति पालना गरेका छौँ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

कोरोना भाइरस संक्रमण मुख्य दुई वटा कुरामा ध्यान दिन आवश्यक छ । एक, संक्रमण र दुई, संक्रमणबाट हुने कम्प्लिकेसन ९जटिलता० । संक्रमण हुँदैमा मानिसलाई केही भइहाल्ने होइन तर त्यही संक्रमणबाट निम्तिने कम्प्लिकेसनले असर गर्छ ।

कोरोना संक्रमण त जसलाई पनि हुनसक्छ तर धेरै जटिलता दीर्घरोगी र ज्येष्ठ नागरिकलाई बढी हुन्छ । त्यसैले, आफ्नो परिवार तथा समाजमा रहेका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना सर्नबाट जोगाउन वयस्क व्यक्तिहरू नै कोरोनाबाट जोगिन आवश्यक छ ।

घरमै रहेका ज्येष्ठ नागरिकभन्दा घरबाहिर निस्केका वयस्क व्यक्तिले घरपरिवारमा कोरोना संक्रमण लैजान सक्छन् । वयस्क व्यक्तिले मास्क लगाउने, हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, खोक्दा र हाछ्युँ गर्दा मुख छोप्ने, दूरी कायम गर्ने, जरुरी काम नपरी घरबाहिर नजाने जस्ता जनस्वास्थ्यका मापदण्ड पूराका पूरा पालना गर्नुपर्छ ।

जनस्वास्थ्यका यी मापदण्ड पालना गर्न सकियो भने कोरोना आफू र आफ्नो परिवारका सबै उमेर समूहका सदस्यहरूलाई संक्रमणबाट बचाउन सकिन्छ ।

अहिलेको अवस्थामा कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका व्यक्ति दीर्घरोगी र ज्येष्ठ नागरिकहरू नै हुन् । सरकारले अहिले लक्षणविहीन व्यक्तिहरूलाई होम आइसोलेसनमा राख्ने भनेको छ । म ‘ज्येष्ठ नागरिक रोग’ विशेषज्ञ भएको नाताले भन्दैछु, उनीहरूलाई घरमा आइसोलेसनमा राख्नु हुँदैन । हाम्रो चेतनाको स्तरले घरमा उपयुक्त आइसोलेसन बनाउन सम्भव छ कि छैन भन्ने कुराले कुराले धेरै फरक पार्छ ।

ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना पोजेटिभ भएपछि कुनै समस्या देखिएमा तुरुन्त अस्पताल लानुपर्छ । सामान्य समस्या भनेर बेवास्ता गर्नु हुँदैन । दीर्घ रोगी र ज्येष्ठ नागरिकमा सानो संक्रमणले पनि ठूलो जटिलता देखिन सक्छ ।

सरकारले उच्च जोखिममा रहेका दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई संक्रमण पुष्टि भएपछि जतिसक्दो छिटो संस्थागत आइसोलेसनमै राख्ने प्रबन्ध गर्नुपर्छ । संस्थागत आइसोलेसन पूर्णरूपमा व्यवस्थापन नहुँदासम्म परिवारका वयस्क सदस्यहरूले सावधानी अपनाएर दीर्घ रोगी र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्नुपर्छ ।

कोरोना पोजेटिभ भएपछि कुनै लक्षण देखिएको छ कि, सास फर्ने गाह्रो भएको छ झाडापखाला लागेको छ कि, स्वास्थ्यमा अन्य कुनै जटिलताहरू देखिएको छ कि भनेर परिवारका सदस्यले ध्यान दिनुपर्छ ।

ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना पोजेटिभ भएपछि कुनै समस्या देखिएमा तुरुन्त अस्पताल लानुपर्छ । सामान्य समस्या भनेर बेवास्ता गर्नु हुँदैन । दीर्घ रोगी र ज्येष्ठ नागरिकमा सानो संक्रमणले पनि ठूलो जटिलता देखिन सक्छ ।

यस्तै, संक्रमण नदेखिएका तर जुनसुकै दिन संक्रमण हुनसक्ने ज्येष्ठ नागरिक तथा दीर्घ रोगीको विषेश हेरचाह गर्नुपर्छ । पौष्टिक आहारमा विशेष ध्यान दिनुपर्छ । नियमित खानपानमा सागसब्जी र फलफूलको मात्रा बढाउनु पर्छ । माछामासु तथा अण्डा राम्रोसँग पकाएर खुवाउनुपर्छ । गेडागुडीहरू खुवाउनुपर्छ । घरमै गर्न सकिने शारीरिक व्यायामहरू दैनिक कम्तीमा आधाघण्टा गराउनुपर्छ । यसबाट रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्छ ।

कोरोनाका कारण घरमै रहँदा पनि मानसिक तनाब बढिरहेको हुनसक्छ । सधैँ तनावमा हुने मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । त्यसैले, ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई सही र सकारात्मक सूचनामात्र दिनुपर्छ । कोरोना भाइरस लागेका सबै मर्दैनन्, निको हुन्छन् भनेर मनोबल उच्च बनाउनु मद्दत गर्नुपर्छ ।

यस्तै, शरीरमा भिटामिन डि कम भएमा पनि रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले हरेक दिन पातलो कपडा आधा घण्टा लगाएर घाममा बस्नुपर्छ । विशेषगरी हिमाली र पहाडी क्षेत्रका वृद्धवृद्धालाई दिनमा आधाघण्टा घाममा पातला कपडामा बस्न लगाउनुपर्छ ।

 

(विना न्यौपानेले जेष्ठनागरिक रोग विशेषज्ञ डाक्टर रमेश कँडेलसँग गरेको कुराकानीमा आधारित )

Last modified on 2020-10-01 12:11:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts