रुघाखोकी लाग्दैमा कोरोना संक्रमणको भय नपाल्नुस, यसरी गर्नुहोस् ख्याल



Download our app to get more features

कोरोना भाइरसको संक्रमण चिनबाट सुरु भएर मध्यपूर्वी मुलुक हुँदै युरोप, अमेरिका, भारत हुँदै नेपालमा पनि महामारीको रुपमा फैलिएको अवस्था छ । कोरोना भाइरबाट बच्नका लागि विभिन्न उपायहरु अपनाउनु पर्छ तर, आत्तिनु हुँदैन । मौसम परिवर्तन भएसँगै रुघाखोकीका लक्षणहरु देखिन थाल्छन् । तर यी लक्षण देखिँदैमा कोरोना नै हो भन्ने भय मनमा पाल्नु हुँदैन । नेपालमा साधारणतया जाडोयाम सकिएपछि चैत वैशाखतिर र बर्खा सकिएर भदौ, असोजतिर रुघाखोकीको संक्रमण बढ्ने गरेको देखिन्छ । रुघाखोकी भन्नाले साधारण रुघाखोकी, फ्लु, मौसमी एलर्जी जस्ता रोगहरु बुझ्नुपर्छ ।

साधारण रुघाखोकी (Common Cold)
यो रोग राइनोभाइरस (Rhinovirus), आरएसभी (RSV), एड्नो भाइरस (Adenovirus) लगायतका २ सय प्रजातिका भाइरसको कारणले लाग्ने गर्छ ।

यसका लक्षणहरुः
– नाक बन्द हुने, नाकबाट पानी बग्ने
– हाच्छ्यूँ आउने
– हल्का खोकी लाग्ने
– घाँटी दुख्ने
– गन्ध वा स्वाद हराउने

फ्लू (Flu)
यो रोग ईन्फ्लुएन्जा (Influenza) भाइरसको कारणले हुने गर्छ ।

यसका लक्षणहरु :
–  ज्वारो आउने,
– सुख्खा खोकी लाग्ने,
– घाँटी खसखस हुने
– टाउको दुख्ने
– जाडो महसुस हुने
– मांशापेशी दुख्ने
– थकान महसुस हुने 

मौसमी एलर्जी (Seasonal Allerfies)
मौसम परिवर्तनसँगै बिरुवा, रुख, घाँसपात परिवर्तन हुँदा हावामा एलर्जिक तत्त्व (Allergen) र पराग कण (Pollen) फैलिने कारणले यो रोग लाग्छ ।

यसका लक्षणहरुः 
–  नाक, कान, घाँटी चिलाउने
–  नाकबाट पानी बग्ने
–  हाँच्छ्यूँ आउने
–  घाँटी खसखस हुने, खोकी लाग्ने,
–  आँखा रसाउने
–   श्वास फेर्न गाह्रो हुने 

कोरोना संक्रमण (nCovid-19):
यो nSARS-CoV भाईरसको कारणले लाग्ने गर्छ ।

लक्षणहरु :
–  ज्वरो आउने
–   मांसापेशी दुख्ने
–  थकान महसुस हुने
–  गन्ध वा स्वाद हराउने
–  स्वास फेर्न अप्ठेरो हुने ।
–  पखला लाग्न सक्ने ।

कोरोना संक्रमण र रुघाखोकीका लक्षणहरु मिल्दा जुल्दा भएका कारण अहिलेको महामारीको अवस्थामा विशेष ध्यान दिनुपर्छ ।  

कसरी बच्ने र बचाउने :
– मास्क लगाउने
–  खोक्दा, हाच्छ्यूँ गर्दा सफा कपडाले वा रुमालले मुख छोप्ने 
– बेला बेलामा साबुन पानीले हात धुने वा स्यानिटाईजरको प्रयोग गर्ने
– चिसो, धुलो, धुवाँबाट बच्ने
–  हात मिलाउने, अङ्कमाल गर्ने जस्ता काम नगर्ने 
– भीडभाड भएको ठाउँमा नजाने
– रुघाखोकी लागेका मानिसबाट ५ देखि ६ फिटको दरी कायम गर्ने 

घरेलु उपचार :
– मनतातो पानी प्रसस्त मात्रामा पिउने
– कागती, मह, अदुवा राखेर तातो पानी पिउने
– पोषिलो खानेकुरा खाने
– जति सक्यो धेरै आराम गर्ने
– तातो पानीको बाफ लिने
– नुन पानीले घाँटी कुल्ला गर्ने 

औषधिको प्रयोग
रुघाखोकी, भाइरल इनफेक्सन भएकाले अनावश्यक रुपमा एन्टीबायोटिकको सेवन गर्नु हुँदैन  । ज्वरो, टाउको दुखाई, घाँटी दुखाईको लागि पारासिटामोलको मात्रै प्रयोग गर्ने । नाकबाट पानी बग्ने, घाँटी खसखस हुने, हाच्छ्यूँ आउने भएमा Antihistamine समुहको औषधि प्रयोग गर्ने । भिटामिन सी को सेवन गर्ने । 

खोप:
रुघाखोकी विरुद्ध वर्षको एक पटक फ्लू भ्याक्सिन लगाउँदा राम्रो हुन्छ । खोप लगाएपछि रुघाखोकी लाग्दैन भन्ने होईन तर यसले निम्त्याउने जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ । ६५ वर्षभन्दा माथिका वा दीर्घ रोगीको लागी रुघाखोकी, फ्लू जटिल हुनसक्ने भएकाले PPSV-23 Pneumo नामको खोप लगाउनु उचित हुन्छ । 

माथि उल्लेख गरिएका लक्षणहरु केही दिनमा सुधार भएनन् वा झन् जटिल हुँदै गएमा वा स्वास फेर्न गाह्रो भएमा तुरुन्त चिकित्सकसँग परार्मश लिनुपर्छ ।

 

(डा प्रधानाङ्ग शङ्खमुल हेल्थकेयरमा क्लिनिसियन (इएनटी) को रुपमा कार्यरत छन्)  

Last modified on 2020-09-24 20:42:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts