कोरोना महामारीमा अग्रस्थानकाे माेर्चा सम्हाल्दैछन् यी योद्धा !
नेपालमा कोरोना भाइरस महामारीको जोखिमलाई ध्यानमा राखेर सरकारले सातै प्रदेशमा हब अस्पताल निर्धारण गर्यो । जसरी जसरी नेपालमा कोरोना सङ्क्रमित बढ्दै गयो उनीहरुको उपचारका लागि अस्थायी अस्पतालहरु पनि बन्न थाले । हाल नेपालभरि एक सयभन्दा बढी अस्पतालमा कोरोना सङ्क्रमितको उपचार भइरहेको छ भने पछिल्लो समय निजी अस्पताललाई पनि कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले निर्देशन दिइसकेको छ ।
नेपालमा कोरोना सङ्क्रमणको दर बढ्दै गएदेखि नै प्रदेश नम्बर २ सधै उच्च जोखिमयुक्त क्षेत्र बन्यो । सङ्क्रमणको दर प्रदेश २ का आठ वटै जिल्लामा आगो झै फैलिन बेर लागेन । हुँदा हुँदै चैतदेखि साउनसम्म प्रदेश २ मा ५ हजारभन्दा बढी सङ्क्रमित र ४५ जनाभन्दा बढीको मृत्यु भइसक्यो ।
उदयपुर, बाँके र पर्सा कोरोना सङ्क्रमणको सुरुवाति क्रमको सबैभन्दा बढी प्रभावित जिल्ला बन्यो । विस्तारै यी जिल्लामा सङ्क्रमणको दरमा कमी आयो तर सरकारले जसरी लकडाउन अन्त्यको घोषणा गर्यो फेरि यी जिल्लामा कोरोना सङ्क्रमणले तिव्रता पायो । ७७ जिल्लामध्ये पछिल्लो समय प्रदेश नम्बर २ को आठ वटै जिल्ला, प्रदेश नम्बर १ को मोरङ, उदयपुर, बागमति प्रदेशको काठमाडौं उपत्यका, प्रदेश नम्बर ५ को बाँके, कपिलवस्तु, नवलपरासी, गण्डकी प्रदेशको कास्की, बागलुंग, तनहुँ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली लगायतका जिल्लामा कोरोना सङ्क्रमणले धेरै नै प्रभावित बनाएको छ ।
सात प्रदेशमध्ये सबैभन्दा बढी प्रभावित बनेको प्रदेश २ र ७७ जिल्लामध्ये सबैभन्दा बढी प्रभावित पर्सा जिल्लामा साउन ३२ गतेसम्म १२ सय ९२ जना हालसम्मसङ्क्रमित भएको र २१ जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाका मेयरदेखि विभिन्न अस्पतालमा नर्स, डाक्टर, मेडिकल सुप्रिटेन्डेन्ट, अन्य कर्मचारी, पत्रकार, प्रहरी, सेना, सर्वसाधारणसहित दिनकै औसतमा ५० जना नयाँ संक्रमित थपिने जिल्ला हो पर्सा । जहाँ केन्द्र सरकार मातहतको नारायणी अस्पताललाई आफू मातहतको गण्डक कोभिड अस्थायी अस्पताल र अन्य अस्पतालको रेखदेख गर्नु परिहेको छ ।
नेपालकै सबैभन्दा धेरै प्रभावित पर्सा जिल्ला र जिल्लाभरिको जिम्मा लिनुपरेको नारायणी अस्पतालले कसरी सबै व्यवस्थापन गरिरहेको छ ? ५ महिनाको समयमा अस्पताल प्रमुखले कसरी काम गरिरहनुभएको छ ? यिनै विषयमा केही अस्पतालका डाक्टरहरुको अनुभव प्रस्तुत गर्दैछौं ।
सुरुमा बुधवार मात्रै नारायणी अस्पतालको प्रमुखबाट स्वास्थ्य मन्त्रालय तानिएका डा मदन उपाध्यायको अनुभव । उनले पछिल्लो ५ महिनासम्म नारायणी अस्पतालको प्रमुखको जिम्मेवारी सम्हाल्दा के के भोग्नुपर्यो ?
पर्सा जिल्ला सुरुदेखि नै कोरोना संक्रमणको उच्च जोखिमयुक्त क्षेत्र हो । यो सबैलाई थाहा भएकै कुरा हो । तर, काम गर्न सबैले सहयोग गर्दागर्दै पनि कहिलेकाहीँ दिक्क लागेर आउँछ । बिरामी दिनकै ४०/५०/६० यसरी नै थपिँदै गएका छन् । यतिधेरै चुनौती छ की त्यसलाई व्यवस्थापन गर्दागर्दै कहिलेपनि समयमा खाना खान पाइएन भने कहिलेकाहीँ त खानापनि खान भुलिन्थ्यो । आगो झै कोरोना सङ्क्रमण फैलिँदै जाँदा अस्पतालमा काम गर्ने नर्स, डाक्टर, अन्य कर्मचारी पनि सङ्क्रमणको चपेटामा आइसकेका छन् । जनशक्ति छैन, सङ्क्रमितलाई काम गर्न लगाउने कसरी ? सबैभन्दा ठूलो चुनौती भनेकैजनशक्ति व्यवस्थापन नै हो त्यहाँ ।
दिनको सुरुवात नै फोनको रिङ्गटोनबाट हुन्थ्यो । एक त यसै दिनभर काम गरेर घर फर्किदा ११/१२ बजिसकेको हुन्थ्यो । ५ बजे बिहानै फोन बज्न थाल्छ । डाक्टरसाब नयाँ बिरामी आए, डाक्टर साब मेरो बिरामीलाई भर्ना गरिदिनु पर्यो, सर फलानो वार्डमा खटेको नर्समा कोरोना देखियो, कतिपय पत्रकारले सूचनाका लागि कल गर्नुहुन्छ, अनि कतिले त गाली नै पनि लेखेर पठाउँछन् । यीनै कुराबाट दिनको सुरुवात हुन्थ्यो । अनि फ्रेस भयो र अस्पताललागिन्थ्यो । दिनरात केहि नभनि हामी सबै व्यवस्थापनमा खटिरहेका थियौंं । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय सरकारले जति काम यो बेला गर्नुपर्ने हो त्यो गरेको देखिँदैन । सबै दोष मै माथि वा भनौ नारायणी अस्पतालमाथि नै आइलाग्छ । माने मैले यो अस्पताल केन्द्र सरकार मातहतको हो तर यो महामारीसँग लड्नका लागि केन्द्रले मात्रै गरेर हुँदैन । सबैको साथ र सहयोग आवश्यक हुन्छ । यति गर्दा गर्दैपनि हामीमाथि मानिसहरु जाइलाग्छन् । तोडफोड गर्ने, कुटपिट गर्ने काम गर्छन् । के डाक्टर मान्छे होइन र ? उसको परिवार छैन र ? नारायणी अस्पतालको बेड क्षमता आजभन्दा एक महिना अगाडी नै सकिसकेको छ । यति धेरै बिरामी छन् की कहाँ राखेर कसरी उपचार गर्ने नै ठेगान छैन ।
सामान्य अवस्था होइन यो । एकबाट अरुलाई कति जोखिम छ भन्ने कुरा सबैलाई थाहा छ । तरपनि कुरा नबुझि, सत्यतथ्य नबुझि डाक्टरलाई नै दोषी भन्दै उनीहरुलाई कुटपिट गर्दा यस्तो विषम् परिस्थितिमा कसरी काम गर्ने ? र पनि आफ्नो दायित्व बुझेर काम गरिरहेका थियौं । सक्दो प्रयासमा थिए कि कसैको पनि मृत्यु नहोस्, अस्पतालमा भर्ना भएका सबै स्वस्थ भएर घर फर्कुन् । सर्वसाधारण र पत्रकारहरुले हाम्रो बारेमा सहि सूचना बिनै लेखिदिँदा काम गर्ने वातावरण नै बिग्रिन्छ अनि सबै कर्मचारीले काम नै नगर्ने भन्दा फेरि उनीहरुलाई काउन्सिलिङ्ग गर्नुपर्छ । उनीहरुलाई तनाव दिएर काम गराउन सकिँदैन र सेवा बन्द भयो भने फेरि त्यसले अर्को समस्या उत्पन्न हुन्छ । एक त यसै काम गर्ने नै सङ्क्रमित हुन थालेका छन् बाँकी भएकाहरुपनि आउन छोडे भने त्यसले ल्याउने समस्या कति जटिल हुन्छ ? त्यहि भएर सबै कुराको व्यवस्थापन गर्दै, चुनौतीको सामना गर्दै, घरपरिवार केही नभनि काम गरिरहेको थिए । आशा छ यो महामारीबाट लड्नका लागि सबैले साथ दिनुहुनेछ ।म अब स्वास्थ्य मन्त्रालयमा तानिएको छु । फेरि यदि कतै जानु पर्यो भने तयार नै छुु ।
पर्सापछि सप्तरीको राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पताल तर्फ लागौं । जहाँ पछिल्लो समय कोरोना सङ्क्रमणको दरसँगै मृत्यु हुने दरपनि बढ्न थालेको छ । सङ्क्रमणले तिव्रता पाएसँगै १ सय ४० शय्याको अस्पतालमा जम्मा ४० वेडको दरबन्दी छ । बीचमै कोरोना महामारी सुरु भएपछि एक सय७८ शय्यामा सेवा दिन थालेको छौं । साउन ३२ गतेसम्म ६ सय ६१ जना सङ्क्रमित र ३ जनाको मृत्यु भइसकेको सप्तरीमा गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुप्रिटेन्डेन्ट डा रञ्जित झा कसरी काम गरिरहेका छन् ?
मभन्दा पहिले डा चुमन लाल दास हुनुहुन्थ्यो यहाँ प्रमुख । उहाँको सरुवा भइसकेपछि मैले जिम्मेवारी पाएको हुँ । उहाँले धेरै नै राम्रोसँग काम गर्नुभएको थियो । उहाँकै रेखदेख र गाइडेन्समा काम गरेको हुनाले सकिहाल्छु मपनि भन्ने लाग्यो सुरुमा जब मैले प्रमुखको जिम्मा पाए । तर, भने जतिको सजिलो भने हुँदो रैन छ । यतिधेरै तनाव हुन्छ की के कसरी व्यवस्थापन गर्ने भन्ने नै अन्यौल हुन्थ्यो । अहिलेपनि हुन्छ । किनभने यतिधेरै सङ्क्रमित आउँछन् की कहाँ व्यवस्थापन गर्ने नै हुँदैन । अस्पताल त एक सय ७८ शय्याको बनायौं अहिले कोभिडलाई लिएर तर, त्यतिले मात्रै पुगेको छैन । न त अस्पतालको पूर्वाधार नै राम्रो छ । भएका स्वास्थ्यकर्मीहरु पनि सङ्क्रमित हुन थालेका छन् । एउटापनि भेन्टिलेटर छैन । कुनैपनि बिरामीलाई यदि भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आयो भने हामीसँग कुनै विकल्प छैन । उनीहरुलाई विराटनगर या धरान नै रेफर गर्नुपर्ने हुन्छ । किनभने नजिक सप्तरीबाट तीनै ठाउँ छन् ।
अर्को त कस्तो हुन्छ भने एक त कहिले समयमा खाना खाजा खान पाइँदैन । यदि खाना खान बसिहाले भने फोन बजेको बजै हुन्छ । अनि १० मिनेट यदि खाना खाने समय छ मसँग भने त्यति बेलासम्म १६ देखि १८ वटा फोन आउँछ र त्यसमा जम्मा ४ वटा फोन मुस्किलले कामको हुन्छ । अन्यथा बिरामी भर्ना गरिदिनुस्, मेरो बिरामी राखिदिनुस् भन्नाले सोर्स लगाउने धेरै हुन्छ र गाली गर्ने धेरै हुन्छन् । के गर्ने? अस्पतालको जे क्षमता छ त्यहि अनुसार न मैले काम गर्ने हो । यस्तो अवस्था छ की यो बेला कसैलाई गाली गरेर पनि हुँदैन । सबैको कुरा सुन्नु पर्ने हुन्छ । बिरामीलाई सेवा दिने नै बिरामी पर्न थालेपछि झन् तनाव हुन्छ की अब कसरी बिरामीलाई सेवा दिने ?फेरि यो बेला कसैलाई दवाव दिन पनि सकिँदैन र कसैलाई छोड्न पनि सकिँदैन ।
गजेन्द्र नारायणका साथै अर्को पनि अस्थायी कोरोना अस्पतालबनाउने तयारी गरिरहेको छु । धेरै कामपनि भइसक्यो तर, कोहि पनि त्यहाँ काम गर्न मानिरहेका छैनन् । आवेदन दिएपनि कोहि आउन चाहदैनन् । मर्मत गर्नुपर्ने छ एउटा घरको त्यहाँ कोहीपनि काम गर्न जान मानिरहेका छैनन् । अब यो अवस्थामा कसरी काम गर्ने ? केहि समय पहिले केन्द्रबाट टोली त आउनुभयो सबै हेरेर पनि जानुभयो । तर, काम गर्ने नै कर्मचारी नआउँदा कसैलाई बलजबरजस्ती गरेर काममा लगाउन पनि सकिँदैन । गर्ने के ? ठूलो चुनौती जनशक्ति छ भने अर्को समस्या अस्पतालमा चाहिने जति पूर्वाधार र उपकरण पनि अभाव छ । अब भएका सङ्क्रमित जनशक्तिलाई उपचारमा खटाइयो भने त्यसले बिरामीलाई झन् जोखिम हुन्छ । एक छिनपनि आराम नै नगरि काम गरिरहन्छन् सबैजना कर्मचारी । थकाइ लाग्छ । मान्छे न हो । आराम गर्न नदिएको भन्दै काम नै नगर्ने भन्छन् कर्मचारी, आराम गर्नत दिनुपर्यो । उनीहरुको पनि अधिकार नै हो यो । फेरि उनीहरुलाई सम्झाई बुझाई, आलोपालो गरेर आराम गर्न दिएर आफैले काउन्सिलिङ्ग गरेर सहज हुने गरि काममा फर्काउनु पर्छ । कहिलेकाही हौसला बढाइदिनेहरुले फोन गरेर कुरा गर्दा त्यसले थप जागर र उर्जा थपिदिन्छ र कामलाई सहज बनाउन पनि मद्दत पुग्छ । अझै कति समय जाने हो यस्तो थाहा छैन । आशा छ की यहाँ बसुञ्जेल सबैलाई समान सेवा दिन सकु र महामारीलाई जित्नमा सफल बन्न सकु ।
संघीय सरकारको राजधानी काठमाडौंमा नेपालकै एक मात्र सरुवा रोग अस्पताल छ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल । जसलाई टेकु अस्पताल भनेर पनि चिनिन्छ । नेपालमा पहिलोपटक देखिएको कोरोना सङ्क्रमितसहित हालसम्म पनि त्यहाँ कोरोना सङ्क्रमितको उपचार जारी नै छ । केन्द्र सरकारदेखि सबैको उपेक्षामा परेको यो अस्पताल अहिले देशकै नमूना अस्पताल बनेको छ । कारण, त्यहाँ कार्यरत एक जनापनि स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएका छैनन् भने अस्पतालमा भर्ना भएका बिरामीहरु स्वस्थ भइरहेका छन् । ५० बेड क्षमता रहेको टेकु अस्पतालमा हाल ४७ जना कोरोना सङ्क्रमित उपचाररत छन् । अन्य बेला विभिन्न सरुवा रोगका बिरामी अस्पताल आएपनि पछिल्लो समय कोभिड हब अस्पतालमा परिणत भएको छ । अस्पतालका निर्देशक डा सागर राज भण्डारीले कोरोना महामारीलाई कसरी लिएका छन् ?
म धेरै नै खुशी छु, यो बेलामा अस्पतालको जिम्मेवारी पाउँदा । चुनौती अनेक छन् र थिए तर मैले यसलाई अवसरको रुपमा लिएको छु । सुरुमा काम गर्न अप्ठ्यारो थियो । रोग नै नयाँ भएकाले कसरी काम गर्ने ? कसरी अस्पतालका कर्मचारीलाई सुरक्षित राख्ने त्यो ठूलो चिन्ताको विषय थियो । तर, यहाँ भएका सबैजना कर्मचारी, नर्सदेखि लिएर डाक्टरहरु सबै जनाले मलाई साथ दिनुभएको छ । यो महामारीबाट लड्नका लागि उहाँहरुले ठूलो भूमिका निर्वाह गर्नुभएको छ ।
केन्द्र सरकारको पनि कहिले प्राथमिकतामा नपरेको र उपेक्षामा परेको यो अस्पताल अहिले नमूना अस्पतालमा परिणत भएको छ । हामी कहाँ सुरुदेखि नै कोरोना सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्यका साथै काम गर्ने र उपचारमा खटिने सबै कर्मचारीको सुरक्षा पहिले प्राथमिकता थियो र अहिले पनि छ । सुरु सुरुमा त खाना खाने, कसैको फोन उठाउने पनि फुर्सद हुँदैन थियो भने अहिले त सबै समय व्यवस्थापन गर्न सकेको छु । सबै बिरामीको बेडमा डिजिटलाइज्ड अक्सिजन मेसिन सहितको सुविधा छ । जसले हामीलाई उनीहरुको अवस्थाको बारेमा जानकारी हुन्छ । बिरामीलाई के चाहिन्छ, कसरी उनीहरुको मनोबल बलियो बनाउने भन्ने विषयमा उपचारमा खटिने नर्स र डाक्टरलाई तालिम दिइएको छ । उहाँहरुले सबै राम्रोसँग व्यवस्थापन गर्नुभएको छ र म खुशी छु । यो महामारीबाट सिकियो पनि धेरै कुरा । कसरी काम गर्ने, कसरी बिरामीलाई सेवा दिने ? कसरी सबै व्यवस्थापन गर्ने ? चुनौती भन्दा पनि अवसर नै हो यो मेरो लागि । हालसम्म एक जनालाई पनि भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आको छैन र आशा छ की आगामी दिनमा पनि नआओस् ।
नेपालमा कोरोना सङ्क्रमण सुरु भएपछि हटस्पट बनेको मध्ये बाँके जिल्लापनि एक हो । जहाँ नेपालको दोस्रो कोरोना सङ्क्रमित बिरामीको मृत्यु भएको थियो । केहि समय सङ्क्रमण दरमा कमी आएपनि पछिल्लो समय फेरी कोरोना सङ्क्रमणको दरले तिव्रता पाउन थालेको छ । हटस्पटबाट सामान्य र फेरि हटस्पट बन्दै जाँदाको अवस्थामा कसरी काम गरिरहेका छन् ? प्रदेश ५ को हब अस्पताल भेरि अस्पतालका प्रमुख मेडिकल सुप्रिटेन्डन्ट डा प्रकाश थापाको अनुभव :
सामान्यतया दिनको सुरुवात हुने भनेको मोबाइलको घन्टीबाटै हो । किनभने हामी भनेको प्रत्येक समय तयार भएर बस्नुपर्ने हुन्छ । कतिबेला के भइदिन्छ भन्ने ठेगान हुँदैन । अरुभन्दा पनि बिरामीको अवस्थामा केहि परिवर्तन भयो भने त्यसका लागि फोनमै गाइड गनुपर्ने हुन्छ अथवा आफै गएर हेर्नुपर्ने हुन्छ । अर्को कुरा पिसिआर परीक्षणको रिपोर्ट के भयो भन्दै पनि फोन आउँछ । यदि नयाँ बिरामी थपिए भने उनीहरुको व्यवस्थापनका लागि पनि राति नै खटिनुपर्ने हुन्छ । खजुरामा कोभिड विशेष अस्पताल बनाइएको छ तर त्यसको व्यवस्थापन भेरी अस्पतालले गरिरहेको छ । त्यहाँको अवस्था, कर्मचारी, सामाग्री सबै कुराको व्यवस्थापन यहिबाट गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ त खाना खाइरहेको बेलापनि छोडेर अस्पताल कुद्नुपर्ने हुन्छ । सुरुको अवस्थाभन्दा पछिल्लो समय झन् बढी समस्या हुन थालेको छ । कारण समुदायस्तरमै कोरोना सङ्क्रमण फैलियो भन्ने केही हदसम्म प्रमाणित भइसकेको छ । यो अवस्थामा सबैलाई थाहा भएको कुरा हो की स्वास्थ्यकर्मीहरु पनि सङ्क्रमित हुन थालेपछि जनशक्तिको व्यवस्थापन ठूलो चुनौती बनेको छ । कसरी हुन्छ सङ्क्रमित स्वास्थ्यकर्मीलाई छिटो निको बनाएर काममा फर्काउनु पर्ने सोचले काम गर्नुपर्छ । किनभने एक त यसै हाम्रो देशमा बिरामी अनुपातमा नर्स र डाक्टर छैनन् । यो अवस्थामा भएका जनशक्ति पनि बिरामी हुँदा त्यसले झन् ठूलो समस्या निम्त्याउन बेर हुँदैन । त्यहि भएर कसरी हुन्छ सबैलाई ध्यानमा राखेर काम गर्नुपर्ने हुन्छ ।
सुरुसुरुमा त पीपीई अभाव हुने, पिसिआर टेस्ट गर्ने सामान अभाव हुने जस्ता समस्या थिए भने अहिले यी समस्या भएका छैनन् । जे होस् कोरोना महामारीले धेरै कुरा सिक्ने अवसर जुराएको छ । तर, अझैपनि मानिसहरुमा सचेतना आइसकेको छैन । जसले गर्दा काम गर्न कहिलेकाहीँ समस्या भइदिन्छ । यो रोग भनेको अझैपनि निश्चित उपचार विधिबाट निको हुने रोग होइन त्यहि भएर घर परिवार सबैलाई छोडेर खटिनुपर्ने डाक्टर, नर्स, अन्य कर्मचारीको लागि पनि नागरिकले नै सोच्नुपर्ने हो । यदि यति बुझिदिनुभयो भने काम गर्न अझ सहज हुन्छ ।
अन्तिममा यी चार जना अस्पताल प्रमुख मात्रै होइन नेपालभरि रहेका कोभिड हब अस्पतालका प्रमुख, अस्थायी कोभिड अस्पतालका संयोजक, नर्स, डाक्टर, सुरक्षाकर्मी, अन्य स्वास्थ्यकर्मी सबैको भूमिकाको हामीले सराहना गर्नुपर्ने हुन्छ र गर्नुपर्छ । अस्पताललाई गाली गर्नु वा डाक्टरलाई कुटपिट गर्नु, तोडफोड गर्ने घटनाले उनीहरुको मनोबल झन् कमजोर हुन्छ । यो समय भने हामी तपाईं सबैले मिलेर यो महामारी विरुद्धको लडाईंलाई जित्नुपर्छ ।
हामीलाई थाहा छ हाम्रो देशको स्वास्थ्य अवस्था कस्तो छ ? हामीलाई थाहा छ हाम्रो मुलुकमा बिरामी अनुपातका नर्स र चिकित्सक छैनन् । त्यहि भएर महामारीको लडाईंमा खटिएकाहरुलाई हामीले सम्मान र प्रोत्साहन गर्नुपर्छ । घरपरिवारसँग टाँढा बसेर बिरामीको सेवामा अहोरात्र खटिने सबैलाई एक समान हेर्नुपर्ने हाम्रो दायित्व हो । अझै कोरोना महामारी विरुद्धको लडाईं लड्न बाँकी भएकाले कमजोर भएर होइन बलियो भएर हरेक परिस्थितिको सामना गर्न हामी सबै तयार भएर बस्नुपर्छ ।