कोरोना कहरमा खोपको विकासः किन हुँदैछ यतिविघ्न बहस ?



Download our app to get more features

विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वभर २ करोडभन्दा बढी सङ्क्रमित भइसकेका छन् । सन् २०१९ को डिसेम्बर अन्तिम अर्थात् ३१ मा चीनको वुहान शहरबाट फैलिएको नोवेल कोरोना भाइरसले विस्तारै पछिल्लो साढे सात महिनामा पुरै विश्वलाई आफ्नो चपेटामा लिइसकेको छ । ७ लाख भन्दा भन्दा बढीको मृत्यु यसै भाइरसका कारण भइसकेको छ । अझै कतिले ज्यान गुमाउने हो थाहा छैन ।

विश्वको  सर्वोच्च स्वास्थ्य निकाय विश्व स्वास्थ्य संगठनले कोरोना सङ्क्रमणको दर पछिल्लो समय दिन प्रतिदिन बढ्दै गएको बताएको छ । जुन क्षेत्रमा कोरोना सङ्क्रमण नियन्त्रण भइसकेको थियो त्यस क्षेत्रमा दोहोरिएर पनि कोरोना सङ्क्रमणको दरमा वृद्धि हुन थालेको छ । जसलाई विश्वका विभिन्न देशका वैज्ञानिकहरुले कोरोना महामारीको दोस्रो चरणको लहर भनेका छन् ।

एकातिर कोरोना भाइरस सङ्क्रमणको बढ्दो  दर र अर्को तर्फ यस सङ्क्रमण विरुद्धको लडाईंका लागि खोप विकासमा जुटेका विश्वका शक्ति शाली राष्ट्रको अनुसन्धान र खोजले अझै सफलता हाँसिल गर्न सकेको छैन । कुनैपनि ठोस उपचार पद्धति वा खोप तथा औषधि पत्ता लाग्न नसकेको अवस्थामा रुसले कोरोना भाइरस विरुद्धको खोप विकास गरिसकेको दावी गरेपछि धेरैलाई राहत अनुभव भएको छ भने कतिपयले शंका समेत व्यक्त गरेका छन् ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवार आफ्ना वैज्ञानिकहरुले कोरोना भाइरस विरुद्धको खोप तयार पारिसकेको र मानिसलाई दिनका लागि तयार रहेको बताएका छन् । उनले वैज्ञानिकहरुले विकास गरेको खोप आफ्नो छोरीलाई लगाइएको पनि बताए । दुई छोरी रहेको पुटिनले कुन छोरीलाई यो खोप लगाइएको हो भन्ने विषयमा खुलाएका छैनन् । 

पुटिनले मानिसमा दुई महिनासम्म परीक्षण गरिएको यस खोपले सबै सुरक्षा मापदण्ड पूरा गरेको र खोपले दोस्रो चरणकै परीक्षणमा उत्कृष्ट नतिजा दिएकाले हामी सफल भएको पनि बताए ।

रुसले तयार पारेको कोरोना भाइरस विरुद्धको खोपलाई त्यहाँको स्वास्थ्य मन्त्रालयले अनुमति समेत दिइसकेको छ । रुसले विकास गरेको  खोप आउने जनवरीसम्म बजारमा उपलब्ध हुने पुटिनले बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार कुनैपनि खोप सामान्यतया चार चरणमा विकास हुन्छ । ती हुन्ः
पहिलो चरणः
यस चरणमा खोप कतिको सुरक्षित छ भन्ने कुराको सुनिश्चितता गरिन्छ । जसमा कम्तिमा पनि २० देखि एक सय स्वस्थ स्वयंसेवीलाई सहभागी गराउनु पर्ने हुन्छ । त्यसपछि खोप लगाइएको मानिसमा कुनै किसिमको गम्भीर साइड इफेक्ट –नकारात्मक प्रभाव) भए नभएको विषयमा पनि अध्ययन गरिन्छ । त्यसपछि खोपको कति मात्रा दिँदा साइड इफेक्ट भइरहेको छ भन्ने विषयमा पनि अवलोकन गरिन्छ ।

दोस्रो चरणः यस चरणमा एक सय भन्दाबढी स्वयंसेवीलाई सहभागि गराइन्छ । जसमा स्वयंसेवीमा मिल्दोजुल्दो र छोटो समयका लागि कस्ता साइड इफेक्ट देखिन्छ भन्ने विषयमा अध्ययन गरिन्छ । त्यस्तै स्वयंसेवीको रोग प्रतिरोधात्मक क्षमताले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने विषयमा पनि हेरिन्छ ।

तेस्रो चरणः यस चरणमा एक सयदेखि एक हजारसम्म वा त्यो भन्दा बढी स्वयंसेवीलाई सहभागि गराउन सकिन्छ । जसमा दुई समूह छुट्याई एक समूहलाई खोप दिइन्छ भने एक समूहलाई खोप दिइँदैन । त्यसपछि खोप लगाइएकाहरुको तुलना खोप नलगाएकाहरुसँग गरिन्छ । जसमा खोप लगाएकाहरु र नलगाएकाहरुमा के कस्तो परीवर्तन भयो भन्ने विषयमा अवलोकन गरिन्छ । त्यसपछि यो खोप कतिको सुरक्षित छ भन्ने विषयमा अवलोकन गर्नुका साथै खोप कतिको प्रभावकारी छ भन्ने विषयमा पनि हेरिन्छ र खोपको कुनै किसिमको साइड इफेक्ट भयो वा भएन भन्ने विषयमा पनि सुनिश्चित गरिन्छ । साथै यसमा उमेर समूह कुन कुन हो भनेर पनि देखिन्छ र कुनैपनि उमेर समूहमा त्यसले प्रभावकारी काम गरेन भने त्यसलाई तुरुन्त बन्द गर्नुपर्ने हुन्छ ।

चौथो चरणः खोपको तेस्रो चरणले राम्रो नतिजा दिएपछि त्यसको चौथो चरणमा अनुमतिका प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । (उदाहरणका लागिः यदि अमेरिकाले कुनैपनि खोप विकास गरेको छ र त्यसले तीनवटै चरण सफलतापूर्वक पार गरिसकेको छ भने त्यसलाई चौथो चरणमा त्यहाँको फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले अनुमति दिन्छ । कि खोपले मानिसमा राम्रोसँग काम गरिरहेको छ ।) त्यस्तै जुन मुलुकले खोप विकास गरेपनि उसको खोपलाई मान्यता त्यहीको सम्बन्धीत निकायले दिनुपर्ने हुन्छ । यसमा खोपको छोटो तथा लामो समयका लागि हुने गरेको साइड इफेक्टको बारेमा पनि अध्ययन गरिन्छ । यस चरणमा खोपको सबै प्रक्रिया सफलतापूर्वक सम्पन्न भइसकेपछि त्यसलाई मान्यता दिएर नागरिकको उपयोगका लागि उत्पादन गरेर बजारमा ल्याइन्छ ।

कुनैपनि मुलुकले खोप बनाइसकेपछि त्यसको विश्व व्यापीकरण विश्व स्वास्थ्य संगठनले गर्छ भने दोस्रोमा विश्वका अधिकांश मुलुकले अनुमति दिएको अमेरिकाको फुड एण्ड एडमिनिस्ट्रेशनले मान्यता दिएपछि त्यो खोप वा औषधि प्रयोगमा ल्याउन सक्छन् । तर, अहिलेको अवस्थामा रुसले विकास गरेको खोप यदि अमेरिकासहितका अन्य मुलुकले आफ्नो देशमा माग गर्यो भने त्यसका लागि यस खोपको विषयमा एफडिएले भने मान्यता दिनुपर्ने हुन्छ ।

रुसले दुई महिनाको अवधिमा मात्रै खोप तयार गरेको छ । यो खोप रुसको गेमालेया इन्स्टीच्यूटले विकास गरेको हो । जसको नाम ‘स्पुतनिक भी’ दिइएको छ । रूसी भाषामा ‘स्पुतनिक’ शब्दको अर्थ स्याटेलाइट हो । स्याटेलाईट रूसले पहिलोपटक बनाएको थियो । जसको नाम पनि स्पुतनिक राखिएको थियो । त्यसैले कोरोना विरुद्धको खोप रुसले पहिलोपटक विकास गरेकाले यसको नाम पनि स्पुतनिक राखेको हो ।

तर, रुसले पहिलोपटक खोप विकास गरेर मान्यता दिइसकेको अवस्थामा विश्वका विभिन्न मुलुकले यसको विरोध जनाउन थालेका छन् । विशेषगरी अमेरिका र युरोपीय देशले यसको विरोध गरेका छन् । यसमा राजनीतिकरण हुँदैछ की भन्ने भान हुन्छ । रुसको सम्बन्ध युरोपीय मुलुक र अमेरिकासँग राम्रो छैन । कारण रुस विश्वको एक मात्र मुलुक हो जो आफ्नो बलमा शक्तिशाली बनेको छ ।  युरोप र एसिया महादेशको सीमामा पर्ने रुसको सम्बन्ध चीनसँग भने राम्रो छ । तर, चीनको सम्बन्ध अमेरिका र अन्य युरोपीय मुलुकसँग राम्रो छैन । यस अवस्थामा रुसले खोपको विकास गरे भनेर दावी गरिसकेपछि उसलाई ठूलो फाइदा हुने भएपछि रुसको खोपको विरोध हुन थालेको छ । किनभने विरोध गर्नेमा अमेरिका र युरोपीय मुलुकहरु मात्रै छन् । जसले प्रष्ट हुन्छ की रुसको खोपको विरोध रुसको सफलतालाई रोक्नका लागि हुन सक्छ ।

रुसले विकास गरेको खोप बजारमा आएपछि त्यसले इतिहास नै बनाउने छ । रुसको खोपलाई विश्व स्वास्थ्य संगठनले यदि विश्व व्यापीकरण गर्यो भने खोपको माग स्वभाविक नै बढ्ने छ ।  जसले रुसको अर्थतन्त्रलाई बलियो बनाउनुका साथै रुसको औषधिमा भएको उपलब्धीले पनि ठूलो जस कमाउने छ । कोरोना महामारीको क्रममा रुसले विकास गरेको खोपका लागि विश्वका २० भन्दा बढी मुलुकले माग गरिसकेको रुसले नै दावी गरेको छ । जसमा ल्याटिन अमेरिकन मुलुकहरु पनि छन् । रुसले बाँकी रहेको तेस्रो र चौथो चरणको परीक्षण मापदण्ड अनुसार पूरा गर्यो भने अबको ४ महिनामा खोप बजारमा सर्वसाधारणका लागि उपलब्ध हुनेछ ।

यता, रुसले विकास गरेको खोपको विषयमा विश्व स्वास्थ्य संगठन अन्तर्गत प्यान–अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले प्रतिक्रिया दिएका छन् । उनले रुसले विकास गरेको कोरोना विरुद्धको खोप सम्बन्धी कुनै जानकारी नभएको हुनाले यसको मूल्यांकन गर्न नसकिने बताए । उनको यो प्रतिक्रिया सार्वजनिक भएपनि विश्व स्वास्थ्य संगठनको मुख्य कार्यालयले कुनै प्रतिक्रिया दिएको छैन । संगठनको नियमित प्रेस ब्रिफिङमा संगठनका कुनैपनि व्यक्तिले प्रतिक्रिया जनाएका छैनन् ।

युरोपीय मुलुक फ्रान्स, जर्मनी, बेलायत लगायतले पनि रूसले विकास गरेको खोपप्रति आशंका व्यक्त गरेका छन् । 

यस्तै रूसले जुन गतिमा कोरोना भाइरस विरुद्धको खोप बनेको दावी गरेको छ त्यसमा विश्वका अन्य वैज्ञानिकहरुले पनि आशंका व्यक्त गरेका छन् । यूनिभर्सिटी कलेज लण्डनका बायोलोजिस्ट प्रोफेसर फ्रान्को इसब्यालूक्सले रुसले ठूलो परिमाणमा मानिसमाथि गर्न लागेको खोपको परीक्षण मुर्खतापूर्ण रहेको बताएका छन् । बेलायतकै साउथ ह्याम्पटन यूनिभर्सिटीका ग्लोबल हेल्थ रिसर्चर मिशेल हेडलेपनि रुसले विकास गरेको कोरोना विरुद्धको खोप कति विश्वसनीय छ भन्ने कुराको कुनै प्रमाण फेला नपरेकाले तत्काल ठूलो जनसंख्यामा परीक्षण गर्नु गलत हुन सक्ने प्रतिक्रिया दिएका छन् । यस्तै कतिपयले रुसले विकास गरेको खोप थोरै मानिसमा परीक्षण गरिएको आरोप समेत लगाएका छन् ।

रुस बाहेक पनि एक सयभन्दा बढी कोरोना विरुद्धको खोप सुरुवाती चरणमा रहेको र २० भन्दा बढी खोपको मानिसमा परीक्षण भइरहेको छ । जसमा अमेरिकामा हालसम्म  ६ प्रकारका खोपमाथि काम भइरहेको छ र अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा एन्थोनी फाउचीले सन् २०२० कै अन्त्यसम्म अमेरिकाले खोप सार्वजनिक गर्ने दावी गरेका छन् । उनले अमेरिकासँग एक सुरक्षित र प्रभावकारी कोरोना विरुद्धको खोप तयार भइरहेको र यसै वर्षको अन्त्यसम्म सार्वजनिक गरिने बताए ।

यस्तै बेलायतमा पनि कोरोना विरुद्धको खोप बनिरहेको छ । बेलायतमा कोरोना विरुद्धको खोपलाई लिएर ४ सम्झौता भएको छ । बेलायतको एस्ट्राजेनेका कोरोना विरुद्धको खोपको १० करोड डोज तयार गरिरहेको छ र औषधि उद्योग जीएसकेर सनोफी पनि यसको उपचार पत्ता लगाउनेमा जुटेको छ । बेलायतको अक्सफर्ड विश्वविद्यालयले पनि कोरोना विरुद्धको खोप अन्तिम चरणमा रहेको बताएको छ । अक्सफर्ड विश्वविद्यालयले विकास गरेको खोप ब्राजिल, भारत, दक्षिण अफ्रिका लगायतका मुलुममा भइरहेको छ र उसको खोपलाई लिएर अमेरिकासहित युरोपीय मुलुकलाई बढी आशा छ की यो खोप नै सफल हुनेछ भनेर । 

मंगलवार इन्डोनेशिया र मेक्सिको दुबै देशले पनि घोषणा गरेको छ । यी देशमा कोरोना विरुद्धको खोप अन्तिम चरणको क्लिनिकल परीक्षण भइरहेको छ भने ब्राजिलले पनि कोरोना विरुद्धको खोप बनाउने घोषणा गरेको छ ।

कोरोना महामारी सुरु भएदेखि नै विश्वका विभिन्न मुलुकहरुले खोप विकास गरिरहँदा त्यसले अन्तिम नतिजा प्राप्त गरेर सफलता भने पाउन सकेको छैन । यसअघि बंगलादेश, ब्राजिल, भारतको पतञ्जली लगायतले पनि कोरोना भाइरस विरुद्धको खोप र औषधि बनाउँदै विश्वकै पहिलो भनेर घोषणा गरेको थियो । तर, विश्व स्वास्थ्य संगठनको मान्यता भने पाउन सकेन । रुसले दुई चरणमै सफलता पाए भनेर विश्वकै पहिलो कोरोना विरुद्धको खोप घोषणा गरेपनि बाँकी दुई चरणमा के हुन्छ भन्ने अहिले नै यकिन नभएको र विश्व व्यापीकरण हुन नसकेको अवस्थामा त्यो खोप कतिको विश्वसनीय छ आम नागरिकले विश्वास गर्न सकेका छैनन् । यद्यपि आशा भने जगाएको छ ।

Last modified on 2022-08-27 17:59:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts