चश्माको विकल्प आँखाको 'लेजर सर्जरी'
हाम्रो शरीरमा आँखा सबैभन्दा संवेदनशील र महत्वपूर्ण अंग हो । यसको सधैं हेरचाह र संरक्षण गरिरहनुपर्छ । आँखाको महत्व त्यतिबेला मात्रै थाहा हुन्छ जतिबेला मानिसले आँखा हेर्न पाएको हुँदैन । त्यसैले आँखामा कुनै समस्या आउनुअघि नै त्यसबारे ध्यान पुर्याउनुपर्छ ।
कसै कसैले चश्मा व्यक्तित्व र बानीका लागि मात्र लगाउँछन् । तर वास्तविकतामा आँखाको शक्तिमा ह्रास भएर दृष्टिमा समस्या आए चश्मा लगाउनुपर्ने बाध्यता हुन्छ ।
कतिपय आँखाका बिरामीहरुलाई चस्मा लगाउनु बाध्यता हुनसक्छ । त्यस्ता आँखाका बिरामीहरुलाई चस्मा नलगाई वा आँखाको पावर बढी भइ चस्मा लगाउनुपर्ने बाध्यताबाट मुक्त हुन नयाँ उपचार पद्धति लेजर सर्जरीको प्रयोग गर्न सकिन्छ ।
के हो आँखाको लेजर सर्जरी ?
विदेशमै सिमित रुपमा रहेको महँगो लेजर सर्जरी उपचार पद्धति नेपालमा तिलगंगा आँखा अस्पतालले सन् २०११ देखि गर्दै आइरहेको छ । यस प्रविधिमा लेजरमार्फत आँखाको नानीलाई परिवर्तन गरीन्छ । लेजर सर्जरी दुई प्रविधिबाट गरिन्छ ।
लेसिक अथवा स्माइल ।
यो उपचार पद्धति अतिविशेष खालको शल्यक्रिया भएकाले छोटो समयमै गर्न सकिन्छ । शुरुमा बिरामीको आँखा परीक्षण गर्न कम्तीमा तीन घन्टा लागेपनि लेजरमार्फत सर्जरी गर्न जम्मा १० मिनेट लाग्छ । लेजर सर्जरीमा ब्लेडसमेत प्रयोग गर्नुपर्दैन । अप्रेसन गरेको दस मिनेटमै आँखाले सजिलै हेर्न सकिन्छ । नेपालमा हालसम्म माइनस १४ र प्लस ८ सम्म पावर भएका बिरामीलाई यो प्रविधिबाट शल्यक्रिया गर्न सकिन्छ ।
यो उपचार पद्धतिबाट मायोपिया (अदुर दृष्टि), हाइपरवोपिया (दुर दृष्टि) र अस्टिग्म्याटिज्म अर्थात दुवै समस्याको समाधान गर्न सकिन्छ । यो शल्यक्रिया गर्दा लेजरले आँखाको नानीको आकारलाई आवश्यक्ता अनुसार परिवर्तन गरिन्छ ।
यस उपचार पद्धतिले चश्मा तथा लेन्सको प्रयोग गर्नुपर्ने बाध्यतालाई पूर्णतया बिस्थापित गरिदिन्छ । तर सबै आँखाको समस्या हुनेलाई लेजर सर्जरी गरेपछि पूर्णतया चस्मा लगाउनु नपर्ने भन्ने हुँदैन । कतिपय अवस्थामा सर्जरीमार्फत माइनस २४ पावरसम्म भएकोलाई permanent lens आखाँ भित्र हाल्न सकिन्छ । त्यो भन्दा बढी भएमा चश्मा लगाउनुपर्ने हुन्छ ।
लेजर सर्जरी गरीसकेपछि करीब १ हप्ता आँखाको विशेष ख्याल गर्नुपर्छ । त्यसपपछि आँखामा अलि अलि सुख्खापन हुने भएकोले करीब ६ महिना आइ ड्रप्स प्रयोग गरेर आँखाको ड्राइनेस नियन्त्रण गर्न सकिन्छ । चिकित्सकको सल्लाह अनुसार औषधीको सेवन गर्नुपर्ने हुनसक्छ ।
सर्जरी गर्न नसकिने अवस्था
आँखाको नानी धेरै नै पातलो छ भने यो शल्यक्रिया गर्न मिल्दैन । १८ वर्ष भन्दा माथिका मानिसहरुमा मात्रै यो शल्यक्रिया गरीन्छ । आँखा सुख्खा छ, आँखामा घाउ अथवा संक्रमण भएको छ , मोतिविन्दु भएको छ, भने यो शल्यक्रिया गर्नु हँुदैन । त्यसैगरी, गर्भवती अथवा स्तनपान गराइरहेकी महिलाले पनि यो शल्यक्रिया गराउनु हुँदैन ।
साइड इफेक्ट हुन्छ की हुंदैन ?
अप्ट्रोमेट्रिस्ट तथा आँखा विशेषज्ञद्वारा आँखा परीक्षण गराएर मात्रै सर्जरीका लागि स्वीकृति दिइने हुँदा सामान्यतया सर्जरी पछि कुनै पनि समस्या देखिँदैन । लगभग एक वर्षको अन्तरालमा तिलगंगाबाट यो शल्यक्रिया गराउनेको संख्या ४ हजारको हाराहारीमा पुगिसकेको छ । यो संख्या मध्ये अहिलेसम्म शल्यक्रिया गराएपछि खासै समस्या देखिएको छैन ।
सकारात्मक पक्ष लेन्स तथा चश्माको प्रयोगबाट पूर्णतया समाधान पाउनु हो तर यो सर्जरी गरेपछि केही समयसम्म आँखा सुख्खा हुन्छ । सर्जरीका क्रममा आँखाको पावर मिलाउँदा धेरै पावर फर्काउनु पर्यो भने नानी धेरै पातलो पनि हुन जान्छ तर यो आँखाको समस्या अनुरुप नै भर पर्ने कुरा हो । केही मानिसमा भने शल्यक्रिया गरेपछि पुन थोरै पावर फर्कन पनि खोज्छ, यसका लागि पातलो चश्माको प्रयोग गर्न अथवा नगर्न पनि सकिन्छ वा लेजर फेरि थप्न मिल्छ ।
उपचारमा पहुँच
विदेसमा यो उपचार पद्धति अत्यन्त महंगो छ । छिमेकी मुलुक भारतमा पनि यसका लागि दुई तिन लाखसम्म खर्च गर्नुपर्ने हुन्छ । तर विभिन्न दातृ संस्थाहरुको सहयोगमा नेपाल भित्रिएको यो प्रविधि नेपालमा एकदमै सस्तो छ । अहिले तिलगंगा आँखा अस्पतालले जम्मा ८५ हजार रुपैयाँमा यो सेवा दिइरहेको छ । अन्य देशको तुलनामा सस्तो र गुणस्तरीय सेवाकै कारण अमेरिका, अष्ट्रेलिया, युरोपलगायत भारत, चिन बंगलादेश जस्ता मुलुकबाट वर्षेनी यो सेवा लिन मान्छेहरु नेपाल आइरहेका छन् ।
हाल नेपालमा तिलगंगा बाहेक अन्यत्र यसको सेवा बिस्तार हुन नसके पनि विराटनगरमा यो सेवा सञ्चालनमा आउन लागेकोले सबैलाई यो सेवामा सहज पहुंच हुन्छ भन्ने विश्वास लिएको छु ।
धेरै फाइदाहरु हुँदाहुँदै पनि मिडियाबाट यी प्रविधिका बारेमा सूचना तथा समाचार सामाग्रीहरु सम्प्रेषण भएको देखिँदैन । दुर्गम भेगका जनता त अझै यस प्रविधिका बारेमा अनभिज्ञ नै छन् । चश्मा तथा लेन्सको दीर्घकालिन विकल्पका रुपमा स्थापित लेजर सर्जरी प्रविधि धेरै मानिसहरुका लागि बरदान सावित हुन सक्छ ।
डा. प्रधानसँग दिनेश लामिछानेले गरेको कुराकानीमा आधारित
Reporter
View Other Stories by Author >>