कोभिड–१९ का चुनौती र अवसर



Download our app to get more features

कोभिड–१९ ले टेक्नोलोजी र आधुनिकीकरणबाट मानव जीवनमा आउने समस्याहरूलाई सजिलै पराजित गर्न सकिन्छ भन्ने प्रतिस्पर्धामा लागेको संसारलाई राम्रै पाठ सिकाएको छ । सम्पन्न र शक्तिको होडबाजी गर्दै आफुलाई सधै माथिल्लो दर्जामा राख्ने राष्ट्रहरूलाई कोभिड–१९ ले वास्तविक धरातलमा ल्याएको छ । महामारीको लागि हाम्रो स्रोत साधन र पुर्वतयारी पर्याप्त छैन भन्ने प्रमाणित भएको छ । स्वास्थ्य सेवाको हिसाबले आब्बल मानिएका राष्ट्रहरू नै आज सबैभन्दा ठुलो मानव क्षति व्यहोरी राखेको अवस्थामा विकासोन्मुख राष्ट्रहरूको व्यवस्थापन उनीहरूको तुलनामा अब्बल साबित भएको छ । आजको विश्व जनस्वास्थ्य व्यवस्थापन तथा क्युरेटिभ म्यानेजमेन्ट दुबै विधामा अपूर्ण साबित भएको छ । इतिहासमा विभिन्न महामारीबाट गुज्रिसकेको अवस्थामा भविष्यमा पनि पब्लिक हेल्थ इमरजेन्सी आउन सक्ने अनुमानसहित लजेस्टिक म्यानेजमेन्ट, ह्युमन रिर्सोस, क्वारेन्टाइन, आइसोलेसन, हस्पिटल जस्ता न्युनतम मापदण्ड तयारी अवस्थामा नराख्नु नै सबैभन्दा ठुलो कमजोरीसाबित भएको छ ।

अर्थतन्त्र

विश्वका अन्य राष्ट्रहरू सँगै नेपालको अर्थतन्त्रमा पनि कोभिड–१९ ले ठुलो प्रभाव पर्ने निश्चित छ । एकातिर तीन महिनादेखि देशका उद्योग, कलकारखाना र व्यावासाय ठप्प छ जसको कारणले जिडिपीमा नेपालमा ८–१० प्रतिशत र ग्लोबल्ली ३ प्रतिशत ह्रास आउने अनुमान गरिएको छ । अब कोभिड–१९ तत्काल समाधान हुने सम्भावना नभएको अवस्थामा यसको दीर्घकालिन प्रभाव रहने देखिन्छ । वल्र्ड बैंकको तथ्यांकअनुसार नेपाल संसारका रेमिटान्स भित्र्याउने राष्ट्रहरू मध्ये १९आंै स्थानमा पर्छ । । सन् २०१८ मा नेपालले ८.१ विलियन डलर रेमिटान्स भित्र्यााएको देखिन्छ । जुन कुल ग्राहस्थ आम्दानीको को २८ प्रतिशत हो । नेपाली कामका लागि जाने प्रमुख राष्ट्रहरू भारत, खाडी मुलुकलगायत आफै यससमस्याबाट ग्रसित छन र त्यहाँ काम गर्दै आएका नेपाली स्वदेश फर्केको अवस्थामा नेपालको अर्थतन्त्रमा ठुलो प्रभाव पर्छ ।

सन् २०१८ को तथ्यांक हेर्दा नेपालका लागि पर्यटन व्यवसाय बाट २.१ बिलियन डलर रेमिटान्स जम्मा भएको देखिन्छ । जुन नेपालको कुल ग्राहस्थ आम्दानीको ७.९ प्रतिशत हुन आउछ । साथसाथै नेपालको पर्यटन व्यवसायले १ मिलियन मानिसलाई प्रत्यक्ष रूपमा रोजगारी सिर्जना गरेको छ । नेपालमा मात्र  नभई नेपालको पर्यटन व्यवसायले विश्व अर्थतन्त्रमा ८.८ ट्रिलियन डलर योगदान गरेको तथ्यांकले देखाउँछ । कोभिड–१९ को प्रभाव केही वर्ष सामान्य हुने सम्भावना देखिदैन । तसर्थ पहिलाकै अवस्थामा पर्यटक ढुक्क भएर अन्य देश भ्रमण गर्ने अवस्था आउन लामो समय लागेमा नेपालको अर्थतन्त्रमा ठुलै प्रभाव पर्ने निश्चित छ ।

निजी क्षेत्रको उद्योग धन्दा तथा व्यवसाय बन्द भइ पुनस्र्थापना हुन निकै समय लाग्ने र देशको ठुलो जनशक्ति बेरोजगार हुने अवस्था आएको छ । निजी उद्योगधन्दा तथा व्यवसायले सृजना गरेको रोजगारीको अवसर गुमाएका समुहलाई राज्यले रोजगारीको अवसर सृजना गर्न नसकेको अवस्थामा समाजमा धेरै किसिमका प्रतिकुल प्रभाब पर्ने देखिन्छ ।

देशले यो अवस्थालाई अवसरको रूपमा लिई बेरोजगार र बिदेशबाट फर्केका युवालाई कृषि आधुनिकीकरणमा लगानी गरी स्वरोजगार सिर्जना गर्ने, स्थानीय स्तरमा बजार व्यवस्थापन गरी कृषकलाई उत्पादनको उचित मूल्य प्रदान गर्ने, मझौला तथा साना उद्योग र व्यवसाय गर्न सस्तो ब्याजमा ऋण उपलब्ध गराउने, बेरोजगार युवालाई प्राविधिक ज्ञान सिप प्रदान गरी आत्मनिर्भर बनाउने, पर्यटन व्यवासय धरासायी हुनबाट जोगाउन अन्तरिक पर्यटन प्रवर्दन गर्ने योजना बनाई उचित कार्यान्वयन गर्न सके देश विकास सँगसँगै स्वावलम्बी हुने अवसर कोभिड–१९ ले जुटाएको छ ।

अन्य स्वास्थ्य समस्या तथा स्वास्थ्य सूचकहरू

देशको सम्पूर्ण श्रोत साधन कोभिड–१९ को व्यवस्थापनमा केन्द्रित हँुदा नेपालमा मृत्युको प्रमुख कारणको रूपमा रहेका अन्य स्वास्थ्य समस्याहरू बढ्न गइ बालमृत्यु, मातृ मृत्यु सँगसँगै उपचारको अभावमा दीर्घ रोगबाट मृत्यु बढ्ने अवस्था आउन सक्छ । लामो समयको अथक प्रयासमा नेपालले सुधार गरेको हेल्थ इन्डिकेटरहरू पुनः पहिलाको अवस्थामा फर्कन सक्छ । साथै कोभिड–१९ सँगसँगै अन्य स्वास्थ्य समस्याहरू पब्लिक हेल्थ प्रोब्लमको रूपमा बिकास भइ नियन्त्रणभन्दा बाहिर जान सक्छ ।  फेमिली वेलफेर डिभिजनको सूचनाअनुसार गत २ महिनामा २४ जना महिलाको गर्भावस्थामा हुने समस्याबाट मृत्यू भैसकेको छ । दादुरा आउटब्रेक, संक्रामक रोग र कुपोषणबाट बाल मृत्युदर बढ्न सक्छ । तसर्थ कोभिड–१९ व्यवस्थापन सँगसँगै अन्य अति अवश्यक स्वास्थ्य सेवाकार्यक्रमहरू पनि प्राथमिकताको रूपमा संचालन गर्नुपर्ने हुन्छ । अन्यथा स्वास्थ्यका सूचकहरूमा पाएको सफलता गुम्न सक्छ ।

कोभिड–१९ ले गर्दा दैनिक जीवनयापनमा आएको त्रास र अभाव, बन्द भएको व्यापार, व्यवसाय तथा दैनिक ज्यालादारीहरूको जीवनयापनको कठिनाईका कारण समाजमा मानसिक समस्या, घरेलु हिंसा तथा सामाजिक हिंसाहरू बढ्ने अवस्था बढ्दै गएको छ । तसर्थ राज्यले ध्यान दिई समस्या समाधान र मनोसामाजिक सहयोगको तयारीमा पनि तत्काल विचार गरी व्यवस्थापकीय पक्षमा काम गर्नुपर्ने देखिन्छ । अन्यथा यो समयमा बढेमा आत्महत्या, घरेलु हिंसा तथा सामाजिक हिंसा बढ्दै जाने र मानसिक असन्तुलन भएका प्रोडक्टिभ उमेरको जनसंख्या राज्यले पाल्नु पर्ने अवस्था आउन सक्छ ।

महामारीमा स्वास्थ्य स्रोत साधन व्यवस्थापन

नेपाल सरकारल कोभिड–१९ को नियन्त्रणमा भरमजदुर प्रयास गर्दागर्देै पनि महामारी नियन्त्रण हुन सकेको छैन । महामारी नियन्त्रणका लागि आवश्यक उपकरण, जनशक्ति, नीति नियमहरूमा समेत ध्यान दिन जरूरी देखिएको छ । देशमा रहेको स्रोत साधन तथा प्राविधिक मानव संसाधनको समेत उचित तथ्यांक उपलब्ध नहुनुले योजनामा प्रभाव पार्दछ । महामारी नियन्त्रण नीतिनियमहरूको अभावमा सही दिशानिर्देश नहुने र वैज्ञानिक भन्दा पनि व्यवहारिक तरिकाले रेस्पोन्स हुँदा नियन्त्रण भन्दाबाहिर जानसक्छ ।

बिश्वव्यापी महामारीमा सबै देश आफ्नै समस्यासँग जुधि राखेको अवस्थामा आफै स्वाबलम्वन हुन जरूरी हुन्छ । सरकारले आउन सक्ने महामारीहरूलाई लक्षित गरी क्वारेन्टाइन, आइसोलेसन समुदाय स्तरसम्म जनसक्ति र उपचार आवश्यक हुनेहरूको लागि अस्पताल पुर्वाधार स्थानीय स्तरसम्म तयारी अवस्थामा राख्न जरूरी छ भन्ने पाठ कोभिड–१९ महामारीले सिकाएको छ । उपकरणको सवालमा महामारीको बेला खरिद प्रक्रियामा जाँदा उपकरणहरूको उपलब्धतामा हुने ढिलाईको कारण पनि निदान तथा व्यवस्थापनमा प्रभाब पर्ने र हतारमा गर्नुपर्ने खरिदमा मुल्य र गुणस्तरमा सम्झौता हुने हुँदा पुर्बाधार र उपकरणको पुर्ब तायारीमा बस्नुपर्ने र औषधिमा स्थानीय उत्पादनलाई प्रोत्साहन गरी स्वावलम्वन हुन आवश्यक हुन्छ । केन्द्रदेखि स्थानीयस्तरसम्म दक्ष्य जनशक्ति, स्रोतसाधानहरू सुनिश्चितत ातथा आपुर्ति व्यवस्थापन निर्देशिका तयार गरी सधै तयारी अवस्थामा बस्नुपर्ने महसुश गराएको छ ।

हाम्रो जस्तो समाज जहाँ संयुक्त परिवारमा बसोबास गर्छन र बसोबासको सैली फरक छ जुन कोभिड–१९ ट्रान्समिसनको लागि सहयोगी सिद्ध हुन सक्छ । तर पनि इन्सिडेन्ट दर हेर्दा होम क्वारेन्टाइनको अवधारणासँगै परीक्षण दायरा बढाउदै स्थानीय स्तरमा रहेका स्वास्थ्य संस्थाहरूमा सामान्य उपचार आवश्यक रहेकाहरूलाई व्यवस्थापन गर्ने, अस्पताल भर्ना भइ हेरचाह गर्न आवश्यक बिरामीलाई मात्र अस्पताल रेफेर गर्ने र व्यापक रूपमा जनस्वास्थ्यसम्बन्धी जनचेतनाका क्रियाकलाप समुदाय स्तरमा गर्नु को विकल्प देखिदैँन । कोभिड–१९मा निदानात्मक व्यवस्थापनको जिम्मेवारी केहि समयको अन्तरालमा कम हुँदै गएता पनि भबिष्यमा आउन सक्ने  महामारीसँग लड्न निदानात्मक सँगसँगै पब्दिक हेल्थ कार्यक्रमलाई बलियो बनाउनुपर्ने र पब्लिक हेल्थ कार्यत्रलममा लगानीको औचित्य प्रमाणित गरेको छ ।

 

ढकाल जनस्वास्थ्य विज्ञ हुन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts