महामारीः अव्यवस्थित अस्पताल बन्दै छन् रोग सर्ने स्रोत !
नेपालमा कोरोना संक्रमणको पहिलो केस देखिएको चार महिना भयो र विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको महिनौ भयो । अहिलेको तयारी हेर्ने हो भने सरकारले कोरोना महामारी नबुझेको हो वा बुझ्न नखोजेको हो ? महिनौ बितिसक्दा पनि तयारी हाम्रो फितलो छ । कतै क्वारेन्टाइन र आइसोलसनमा खाना छैन त कतै टेस्टकिट छैन । एक दुई गर्दै सय र चार सय संख्या नाघिसक्यो र अहिले पनि संख्या द्रूत गतिले बढ्दैछ र मृत्यु हुनेको संख्यापनि एकपनि अर्को गर्दै बढ्दै गएको छ । भारत लगायत अन्य देशबाट नेपाल भित्रिने नेपाली दाजुभाईहरुको संख्या उलेख्य छ ।
सरकारले नेपालमा कोरोना आउँदैन आएपनि महामारीको रुप लिदैन । नेपालीको रोगसँग लड्ने क्षमता बढी छ भनि बस्दै गर्दा जेठको पहिलो सातासँगै ह्वातै बढेको संख्याले होश उडाएको छ ।
नेपालमा महामारीका विज्ञ नभएका होइनन् र उनीहरुले चेतावनी पनि नदिएका होइनन् । स्वास्थ्य मन्त्रालय हात बाँधेर बस्नु उचित होइत । महामारी फैलिएपछि चाहेर पनि तयारी गर्न सकिँदैन यो कुरा हाम्रो सरकारले बुझेन र आज यो अवस्थमा मुलुक आइपुगेको छ । अहिले पनि विचारहीन र अदुरदर्शी नै छ । साच्चिकै न बुझेको हो वा बुझ्न नखोजेको हो ।
नेपालमा पहिलो कोरोना संक्रमित फेला पर्दा जति आइसोलेसन बेड थिए त्यति नै संख्यामा आजपनि छ । कोरोना उपचारका लागि तोकिएका अस्पताल जहाँ सिमित बेड र आइसोलसन कक्ष छन् अहिले संख्या बढेर ४ सय कट्दापनि त्यति नै छन् । टेकु अस्पतालको ५ बेडको आइसोलेसन अहिले बलतल्ल ३० बेडको पुर्याइँदै छ ।
मन्त्रालयको तथ्यांक अनुसार देशको कुल जनसंख्या २ करोड ९० लाख ७६ हजार १ सय ३८ छ । देशभर निजी र सरकारी गरि अस्पतालको कुल बेड संख्या २६ हजार ९ सय ३० छ । जुन कुल जनसंख्याको ०.१ प्रतिशत मात्र हुन् आउँछ । हालसम्म ३५ हजार ४ सय ९४ पिसिआर टेस्ट मात्रै गरिएको छ । महामारी अगाडी जस्तो अभाव थियो त्यसभन्दा पनि डर लाग्दो स्थिति आउन सक्छ । यसमा ३ हजार ७६ बेड, १५ सय ९५ आईसीयू र ८ सय ४० भेन्टिलेटर छन् । यसमा आधाभन्दा बढी काठमाडौं र ८० प्रतिशत निजी अस्पतालमा मात्रै केन्द्रीत र २० प्रतिशत मात्रै सरकारी अस्पतालमा छन् । यसमा उपचार गर्ने कोरोना मात्रै होइन अरु बिरामी पनि पर्छन् । अपुग स्वास्थ्यकर्मी र विज्ञको अवस्था सर्व विदितै छ । यसले अनुमान लगाउन सकिन्छ कि महामारी फैलियो भने हाम्रो अवस्था के हुने हो ।
नेपालमा देखिएको कोरोना संक्रमितहरुको अवस्थाहरूमा लक्षण देखिएको छैन । लक्ष्य नदेखिने संक्रमितहरुले रोग सार्ने डर बढी हुन्छ र यसलाई पहिचान गर्न पनि गाह्रो हुन्छ जुन अहिले नेपालमा देखिएको छ । यस्तो अवस्थामा अस्पतालमा आउने हरेक बिरामीसँग सतर्क भएर बस्नु नै बुद्धिमानी । तर, मास्क, स्यानिटाइजरको अभाव र भाइरस रोक्न नसक्ने व्यक्तिगत सुरक्षा सामग्रीले स्वास्थ्यकर्मी आफैपनि संक्रमित हुने र अरु बिरामी र घरपरिवारलाई पनि सार्ने स्रोत हुँदैछनन् । यसको उपाय भनेकै व्यापक रुपमा जाँच गर्ने र पुष्टि भएका केसहरुलाई आइसोलेट गर्नु नै हो । कोरोना संक्रमित भएको पुष्टि गर्नलाई पिसिआर टेस्ट गर्नै पर्छ । विश्व स्वास्थ्य संगठनले नगर्नु भनेर आदेश दिएको आरडिटी टेस्ट गरेर सरकारले अर्को गल्ती गर्दैछ । पिसिआर टेस्ट पर्याप्त नभएर संवेदनशिल कम भएको आरडिटी टेस्ट गर्दा पोजेटिभ केसपनि नेगेटिभ देखाउन सक्छ । जसले गर्दा झन् रोग फैलिने डर बढ्दैछ । अपर्याप्त पिसिआर मेसिन, प्रयोगशाला र दक्ष्य जनशक्तिको अभावले गर्दा रिपोर्ट आउन २४ देखि ४८ घन्टा लाग्छ र त्यति बेलासम्म आइसोेसनमा बस्ने तयारी न त सरकारसँग पर्याप्त छ, न बुझ्ने जनता नै छन् । जसले गर्दा रोग झन्झन् फैलिँदैछ ।
महामारीको बेला सरकारले निःशुुल्क गर्ने टेस्ट निजी कारण गरेर व्यापार गर्न खोजेको त होइन ? सरकारको जनताप्रतिको दायित्व यहि नै हो ? महामारीको बेला भ्रष्टाचार गर्ने अनि आम जनतालाई दुःख दिने ? हामीले अहिलेसम्म तिरेको करको पैसा कहाँ गयो ? कोरोना कोषमा रकम कुम्ल्याउन खोजेको हो ?
लकडाउनको सुरुको अवस्थमा व्यापक रुपले तुरुन्तै परिणाम आउने हिसाबले पिसिआर टेस्ट गरेको भए आज यो अवस्था आउँदैज्थ्यो होला ।
कतिपय निजी अस्पतालका ताल पनि सरकारी भन्दा कम छैनन् । सरकारको अनुदान पाउने लोभले आइसोलेसन र फिभर क्लिनिक सञ्चालनका छन् र अस्पतालमा कर्मचारी धान्न नसक्ने बहानामा एउतै डाक्टरले आइसोलेसन एमर्जेन्सी र वार्डका बिरामी हेर्ने गरि राखेका छन् । यही नै अवस्था हुने हो भने अबको केहि दिनमा न त अस्पतालमा बेड हुन्छ न त उपचार गर्ने स्वास्थ्यकर्मी नै ।
अहिले न बुझे कहिले बुझ्ने हाम्रा मन्त्रालय र सचिवालयका विज्ञ नेताहरुले ? देश महामारी र भोकमरी को चपेटा परिरहँदा अनियमितता गर्ने हाम्रा विद्वान नेता र कर्मचारीहरुले कहिले बुझ्ने हुन् ?
रोग पत्ता लगाउन र उपचार गर्न विशेषज्ञ डाक्टर चाहिने तर, देश चलाउन नपढेलेखे पनि हुने ? पशुपतिनाथले रक्षा गरुन् ।