कोरोना पछिको स्वास्थ्यः अब पाठ सिक्ने कि चल्दै जान्छ भनेर सोच्ने ?
“कोरोना भाइरसले स्वास्थ्य सेवा बिगारेको हैन, उदाङ्गो रहेको हाम्रो स्वास्थ्य संरचना प्रस्ट देखाइदिएको हो ।” सामाजिक सञ्जालमा यो आशय अङ्कीत फोटो हिजोआज धेरैजनाले शेयर गरेका छन् । यो भनाइ एकदमै यथार्थपरक र सत्य छ । महामारी देखिएको संसारमा यो पहिलोपटक हैन । सानोतिनो आउटब्रेक त हाम्रो देशमा वर्षेनी देखि नै रहन्छ । अघिल्लो साल नेपालको प्रायः धेरै जिल्लामा देखिएको डेंगु, स्क्रब टाइफस वा जाजरकोट र कर्णालीतिर देखिइरहने झाडापखाला वा कुनै “अज्ञात रोग” को महामारीसँग हामी परिचित नै छौं ।
यो लेख लेख्दै गर्दासम्म नेपालमा करिब साढे तीन सय भन्दा बढी कोरोनाभाइरस संक्रमित पुस्टि भएको छ भने दुई जनाको मृत्यु पनि भइसकेको छ । यो महामारीले हाम्रो देशमा निम्त्याउने गम्भीरता वा यसले गर्ने असर कति भयावह होला अथवा नहोला अहिले यकिन भन्न त सकिन्न । तर, शिरोपर गर्ने हो भने यसले हामीलाई केहि गतिलो पाठ सिकाइसकेको छ र आउने दिनमा यसको असरले अझै बढी सिकाउने नै छ ।
अहिलेको कोरोनाभाइरसको संकटलाई उचित तरिकाले सम्बोधन गरेर आगामी दिनहरुमा हाम्रो स्वास्थ्य संरचनालाई सुदृढ र बलियो बनाउदै लैजाने मौका पनि यो समयले दिएको छ । अहिले संसदमा बजेट अधिवेशन चलिरहेको छ भने सरकारको तर्फबाट यस वर्षको नीति तथा कार्यक्रम पनि प्रस्तुत भइसकेको छ । हामी स्वास्थ्य सेवा प्रवाहमा अहिलेसम्म कहानेर चुक्यौ, हाम्रो कमजोरी के हो र यसलाई कसरी सुधार गर्दै लैजाने भने आत्म समीक्षा र मुल्याङकन गर्ने उचित समय पनि यो हो ।
स्वास्थ्य हाम्रो प्राथमिकता किन बन्न सकेन ?
स्वास्थ्य क्षेत्रलाई विश्वमा नै कम प्राथमिकता दिइएको छ । विश्वका विकसित राष्ट्रहरुमा पनि सैन्य, खेलकुद, मनोरञ्जन आदि क्षेत्रमा स्वास्थ्यमा भन्दा धेरै कम लगानी गरेको पाइन्छ । विश्वमा खरबौ रुपैयाँ आणविक हतियार र सैन्य तालिममा खर्च गरिन्छ, खेलकुदका स्टार खेलाडीहरु महंगो मुल्यमा किनबेच गरिन्छ र फिल्मका स्टार अभिनेतहरु महंगो मुल्यमा अनुबन्धित हुन्छन् । यी क्षेत्रहरुका पनि आफ्नै महत्व छन् र यी चै कम हुन् भनेर तुलना गर्न खोजिएको हैन, तर कतै हामीले स्वास्थ्यलाई धेरै नै नजरान्दाज त गरिरहेका थियौं कि भन्ने कुरा एकपटक सोच्न पर्ने बेला आएको छ । हाम्रो देशमा त अझ स्वास्थ्यलाई धेरै नै कम महत्व दिइएको छ । यहासम्म कि स्वास्थ्य मन्त्रालयलाई भागबण्डामा सबैले रोजेपछि कामचलाउ मन्त्रालयको रुपमा अन्तिममा छान्ने गरिन्छ । विश्व स्वास्थ्य संगठनले तोकेको १० प्रतिशत सिलिङ्गको आधा भन्दा नि कम बजेट स्वास्थ्यलाई छुट्याइन्छ ।
कहाँ छन् स्वास्थ्यमा समस्या ?
कुनै पनि देशको स्वास्थ्य अवस्था मजबुत हुन मुख्यतया तीनओटा कुराले प्रमुख भूमिका खेलेको हुन्छ । पहिलो स्वास्थ्य पूर्वाधार, अर्को स्वास्थ्य जनशक्ति र अर्को यी दुई कुरालाई निर्दशित गर्ने नीतिनियम र योजनाहरु ।
पूर्वाधारः हामी स्वास्थ्यको आधारभूत पूर्वाधारहरु भन्दा धेरै पछाडी छौं । हामीसँग देशभरीमा सरकारी र निजी गरेर मुस्किलले करिब १५ सय आईसीयू बेड र त्यसको एक तिहाई भेिन्टलेटर संख्या उपलब्ध छ । देशका ठुला रेफरल सरकारी अस्पतालका बेड, पूर्वाधार र क्षमता कस्तो छ भनेर सायदै भनी रहन पर्ला । कुनै एउटा सामान्य अपरेसन गर्न पनि सरकारी अस्पतालमा एक वर्ष सम्म समय कुर्नुपरेको समाचार हाम्रा लागि नौलो हैन । स्थानिय स्तरमा रहेको स्वास्थ्य चौकी देखि जिल्ला अञ्चल, प्रदेश वा केन्द्रिय अस्पताल सबैका आधारभूत पूर्वाधारहरु कमजोर छन् ।
जनशक्तिः हामीसँग सरकारी स्वास्थ्य सेवामा जनशक्ति धेरै नै अपुग छ । करिब १५ सय स्थाई दरबन्दी रहेको सरकारी स्वास्थ्य सेवामा एक लाख जनसंख्याको लागि केवल ५ चिकित्सक छन् । नर्सिङ्ग तथा अन्य स्वास्थ्यकर्मीहरुको संख्या पनि सरकारी स्वास्थ्य सेवामा कम छ भने भएका जनशक्ति पनि विदेश पलायन भइरहेका छन् । हाल स्वास्थ्य जनशक्तिको एउटा ठुलो जमात अवसरको खोजीमा विदेशिन्छ र कहिल्यै नेपाल फर्कदैन । हामीसँग उनीहरुलाई फर्काउने ठोस आधार र कार्यक्रम पनि छैन । यहीं भएका जनशक्ति पनि निराश छन् । यहाको आम जनताहरुको पनि स्वास्थ्यकर्मीलाई हेर्ने दृष्टिकोण पछिल्लो समयमा बदलिएको छ । त्यसैले हामीसंग भएका जनशक्ति अपुग त छदैछन भएका पनि विभिन्न कारणले निरास र आफ्नो पूर्ण क्षमता दिएर काम गर्न सक्ने अवस्थामा छैनन ।
नीतिनियम र योजनाहरुः हामीलाई अबको १० वर्षमा कति चिकित्सक, कति नर्स चाहिन्छ, हामी कति उत्पादन गरिरहेका छौं यसको कुनै तथ्यांक छैन । हामीले बनाएका स्वास्थ्यका निति नियमहरु केवल कागजमा सिमित छन् । स्वास्थ्यका आधारभूत कार्यक्रममा हामी विदेशी दताहरुमा आश्रित छौं । तितो यथार्थ भन्नुपर्छ, विदेशीले दिएनन भने हाम्रा बालबालिकाहरुलाई जन्मने वित्तिकै दिईने विसिजी खोप पनि लगाउने हैसियत छैन । करिव एक दशक भयो अहिलेको गाउपालिका तहमा एउटा १५ बेडको अस्पताल र एमविविएस चिकित्सक उपलब्ध गराउने भन्ने योजना निरन्तर सुन्दै आइरहेको तर अझै कति प्राथमिक स्वास्थ्य केन्द्रहरु छात्रवृति र करारका चिकित्सकहरुले चलाइरहेका छन् र स्थाई दरबन्दीका चिकित्सक छैनन् ।
सरकारका नीति तथा कार्यक्रमः पूर्वाधार मात्रै जनशक्ति र ठोस योजना छैन
हालै रास्ट्रपतिद्वारा संसदमा सरकारको यस वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भयो । त्यसमा पुर्वाधार विकासमा केहि राम्रा योजनाहरु अघि सारिएको छ । तर त्यसलाई संचालन गर्ने जनशक्तिको बारेमा केहि उल्लेख गरिएको छैन न त त्यसको व्यस्थापनको कार्ययोजना दीइएको छ । केन्द्रमा तीन सय र प्रदेशमा ५० शैयाको सरुवा रोग अस्पताल संचालन गर्ने भनिएपनि त्यसमा सरुवा रोग विशेषज्ञ र अन्य जनशक्ति कसरी व्यवस्थापन गर्ने भन्ने बारे केहि उल्लेख गरिएको छैन । अहिले आम चिकित्सक र स्वास्थ्यकर्मीहरुमा चरम निरासाको स्थिति रहेको छ । कार्यक्षेत्रमा बढीरहेको असुरक्षा, निम्न तलबमानमा काम गर्नुपर्ने र भविष्यको कुनै सुनिस्चितता नभएका कारण कति विदेशिदै छन् भने यहि भएकाहरु पनि आफ्नो पूर्ण क्षमता दिएर काम गर्न सकिरहेका छैनन् । अहिलेको विसम परिस्थितिमा अग्रभागमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुले सरकारबाट उनीहरुको हौसला बढाउने केहि ठोस कार्यक्रम अपेक्षा गरेका थिए, तर त्यस्तो कुनै कार्यक्रम आएन । अझ धेरै चिकित्सकहरुले नै उठाइरहेको एक चिकित्सक एक अस्पतालको नीतिलाई कार्यन्वयनमा ल्याउन यो सुनौलो मौका थियो । त्यसमा पनि नीति तथा कार्यक्रम मौन रह्यो । सरकारी स्वास्थ्य संस्था सुधारको निम्ति चिकित्सक र स्वास्थ्यकर्मीहरुको हौसला बढाउन उनीहरुको सुरक्षाको प्रत्याभूत गर्ने र आवश्यक सुविधा दिएर एउटामात्र संस्थाको अवधारणा ढिलोचाडो ल्याउनुको विकल्प छैन ।
सुधारको बाटोः स्वास्थ्य केन्द्रीत बजेट र ठोस लक्षसहितको योजना
अझै पनि हाम्रा कमीकमजोरी सुधार गर्दै अघि बढ्ने ठाउँहरु प्रसस्त छन् । अबको सरकारले प्रस्तुत गर्ने बजेटले स्वास्थ्यलाई केन्द्रमा राखी पूर्वाधार र जनशक्तिको व्यस्थापनलाइ थप विशिस्तिकृत गर्दै अगाडी बढ्नपर्छ । पूर्वाधारका कामहरु जस्तैस् सरकारी अस्पतालमा आइसीयु तथा बेड संख्या थप्ने, भएका अन्य अस्पतालहरुलाई स्तरउन्नति गर्दै लैजाने, संक्रामक रोग र महामारी नियन्त्रणको लागि विशेष पुर्वाधारहरु तयार गर्नुपर्छ ।
संघियता र समायोजनले थिलथिलो बनाएको कर्मचारी असन्तुलनलाइ सच्याउन, अपुग जनशक्तिको व्यवस्थापन गर्न स्थाई दरबन्दी खुलाएर पदपूर्ति गरिनुपर्छ । चिकित्सक र स्वास्थ्यकर्मीहरुको हौसला बढाउन उचित व्यवस्था गर्नुका साथसाथै एक चिकित्सक एक अस्पतालको अवधारणा तयार गरेर अगाडी बढ्नपर्छ । स्वास्थ्य जनशक्तिहरुको विदेश पलायन हुने र नफर्किने क्रमलाइ रोक्न विशेष योजना ल्याउनुपर्छ ।
हामीलाई कति अस्पताल, कति आईसीयू, कति साधारण बेड, कति जनशक्ति चाहिने प्रष्ट हुनपर्छ । उपचारत्मक र रोग रोकथामका कार्यक्रमहरुलाई सँगसँगे अघि बढाउनपर्छ । यी सबै कुरालाई निर्देशित गर्न हामीले आगामी ५, १० र २० वर्षमा हार्मो देशको स्वास्थ्य संरचना कस्तो हुने भन्ने तय गरेर त्यसबाट मार्गनिर्देशित हुदै क्रमश लक्ष्यमा पुग्न अघि बढ्नु पर्छ ।
ढिलोचाडो यो महामारी एकदिन सकिन्छ नै । यो महामारी सकिनु भनेको अब कुनै समय अर्को महामारीको आउदैछ भन्ने सोचेर तयारी गर्ने अवसर हो । त्यसैले यो समयलाई एउटा शिक्षाको रुपमा लिएर अघि बढी स्वास्थ्य क्षेत्रमा एउटा पद्दति बसाउन सकियो र हाम्रो संरचनामा उल्लेख्य सुधार गर्न सकियो भने आउने दिनहरुमा हामीले नै र भावी पुस्ताले अहिले जसरी दुःख त पाउन पर्दैन नै सुखी र समुन्नत नेपालको हाम्रो कल्पना पनि पुरा हुन सक्छ ।