नक्कली प्रमाणपत्र भएका डाक्टरलाई खुला पत्र
दुई साताअघि नक्कली प्रमाणपत्र पेश गरेर चिकित्सक भएको अभियोगमा काठमाण्डौंलगायत विभिन्न शहरबाट ३६ जना चिकित्सक पक्राउ परेसँगै नक्कली र सक्कली चिकित्सकको बहस र चर्चा यतिबेला शिखरमा छ । यसको चर्चाबाट सायदै मिडियाहरू अछुतो भए होलान् ।
करिब ८ महिनाअघि नेपाल मेडिकल काउन्सिलको परीक्षामा सहभागी भएका दुई परीक्षार्थी नक्कली फेला परेपछि प्रहरीले यस विषयमा गम्भीर रुपमा छानबिन थालेको थियो । लामो समयको छानबिन र अनसन्धानपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले काठमाडौं, चितवन, विरगञ्ज, विराटनगर, झापा, पोखरालगायत विभिन्न स्थानबाट ३६ जनालाई नियन्त्रणमा लिएपछि नक्कली प्रमाणपत्रधारी चिकित्सकको भागाभाग नै भएको छ ।
पछिल्लो समय वार्षिक करिब दुई हजार डाक्टर उत्पादन भइरहेको अवस्थामा नाम चलेका, पूराना, देशकै प्रतिष्ठित सरकारी तथा निजी अस्पतालमा कार्यरत एवम् बिरामीको प्रमुख रोजाइमा पर्ने डाक्टरहरू नै नक्कली प्रमाणपत्र भएको भन्दै पक्राउ पर्न थालेपछि सर्वसाधारण सशंकित भएका छन् ।
यता ३६ जना नक्कली भनिएका चिकित्सक पक्राउ परेपछि नेपाल चिकित्सक संगले ‘आतंककारी शैली’ मा पक्राउ गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष डा. अन्जनीकुमार झाले टेलिभिजन अन्तवार्तामा सिआइबीको छानविन प्रकरणको कडा बिरोध गरेका थिए । चिकित्सक संघका कतिपय पदाधिकारीले नक्कली डाक्टर भएको आशंकामा प्रहरीले चालेको कदमको घुमाउरो पारामा स्वागत गरे । कतिपयले काम सहि भएपनि प्रक्रियामा भने आपत्ति जनाएका छन् । यसले समग्र स्वास्थ्य क्षेत्रमा जुन तरङ्ग पैदा गरेको छ त्यो तत्कालै रोकिने छाँट छैन ।
कुनैपनि डाक्टर नक्कली हुन सक्छ, तर बिरामी नक्कली हुनै सक्दैन । मान्छेको भावना, विश्वास, पीडा नक्कली हुन सक्दैन, औषधी र उपचार नक्कली होला तर मृत्यु नक्कली हुनै सक्दैन । मृत्युसँग लडिरहेको जनताको भावनासँग गरेको यो भन्दा ठुलो खेलवाड के हुन सक्छ ? एउटा गरिबले पैसा तिरेर आफ्नो जीवन सुम्पिएको मान्छे नै नक्कली वा अयोग्य भन्ने थाहा पाउँदा के सोच्यो होला ? आफ्नो प्रतिष्ठाको लागि गरीबको विश्वासमाथि खेलवाड गरेर मृत्यु पुरस्कार दिने डाक्टरलाई ति पीडितले फेरि कसरी आँखा चिम्लेर विश्वास गर्ने ?
समस्या त्यति मात्र होइन, करीब १८ हजार डाक्टर भएको ठाउँमा ३६ जना नक्कली प्रमाणपत्र धारी चिकित्सक पक्राउ पर्दा किन यत्रो बितण्डा ? कि लहरो तान्दा पहरो खस्ने डर त होइन ? या राज्यले आफ्ना देशका नागरीकको बारेमा कुनै छानबिन नै गर्न पाउँदैन ? हुन त यो देशमा नक्कलीको अनुसन्धान गर्नु नै गलत हो किनभने, खोज र अनुसन्धान ति वस्तुको गरीन्छ जो थोरै मात्रामा अदृश्य रुपमा रहेको हुन्छन् ।
नक्कली भनिएका चिकित्सकबाट पीडित भएका ति गरीबले कहाँबाट न्याय पाउँछन ? कहिले पाउँछन् र कसरी पाउँछन् भन्ने सबाल आफ्नो ठाउँमा होला त्यो भन्दा पनि ठुलो कुरो त क्षतिपूर्ति पाउने बिरामी नै नक्कली नपर्लान् भन्न सकिन्न । सरकारले पनि गर्ने र गराउने दुवैलाई जनताको कठ्घरामा उभ्याउनुपर्छ । अनि सेतो कोट लगाएर बिरामीको स्वास्थ्य र जीवनमै कालो दाग लगाउन खेज्नेहरुले आफूले गरेको पापको सजाय किन आफैं घोषणा नगर्ने ?
Last modified on 2016-07-04 14:56:01